नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
माक्र्सवादको क्रान्तिकारी धार छोडेर शान्तिपूर्ण बाटोबाटै या पुँजीवादी व्यवस्थामा रहेर निर्वाचनबाट समाजवाद ल्याउने विचार संशोधनवाद हो । संशोधनवाद कम्युनिस्ट र मजदुर आन्दोलनभित्रको पुँजीवादी विचार हो । व्यापक कामदार वर्गलाई सङ्गठित गरी सशस्त्र सङ्घर्षको बाटोबाट समाजवादमा जाने बाटो माक्र्सवाद हो । आफूलाई माक्र्सवादी भन्ने सत्तासीन कम्युनिस्ट पार्टीका नेताहरू शान्तिपूर्ण बाटोबाटै समाजवाद आउने विश्वास गर्छन् । नेपालका कम्युनिस्टहरूले माक्र्सवादलाई आ–आफ्नै ढङ्गले व्याख्या विश्लेषण गर्न थालेका छन् । यसरी गलत ढङ्गले व्याख्या विश्लेषण गरेकैले नेपालको कम्युनिस्ट आन्दोलन अघि नबढेको हो, कम्युनिस्ट पार्टी बलियो नभएको हो । कम्युनिस्टहरूको काम पुँजीवादलाई पृष्ठपोषण गर्नु होइन न त पुँजीवादी सरकारमा गएर समाजवाद आउँछ भनी झूटको खेती गर्नु हो ।
कम्युनिस्ट पार्टीले श्रमजीवी वर्गको प्रतिनिधित्व गर्छ । देशका सामन्त, पुँजीपति, जालीफटाहा, ठेकेदार, भ्रष्टाचारी, अपराधी आदि जम्मा गरेर राजनीति गर्ने दलहरू कसरी कम्युनिस्ट हुन्छन् ? सामन्त र पुँजीपति वर्गले त्यस्ता आपराधिक व्यक्तिहरूको पृष्ठपोषण गर्नु स्वाभाविक हो । तर, कम्युनिस्ट भनिने सत्तासीन दलका नेताहरूले कम्युनिस्ट सिद्धान्त र विचार छोडेर देशमा आमूल परिवर्तन गर्न पूर्वाधार तयार गर्नुको सट्टा पुँजीपतिहरूलाई पोस्ने काम गरिरहेका छन् । गठबन्धनमा सामेल माओवादी केन्द्र, एकीकृत समाजवादीका नेताहरू आफूलाई केही सीट बढी पाउने आशामा नेकालाई बलियो बनाउने काम गर्दै छन् । नेकालाई बढी सीट जिताएर, नेकाको नेतृत्वमा सरकार बनाउने आशा बोकेर देशको कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्छ ? देशको कम्युनिस्ट पार्टी कसरी बलियो हुन्छ ? मित्र शक्तिलाई पछाडि धकेलेर, कमजोर बनाएर कम्युनिस्ट पार्टीलाई कमजोर बनाउने काम कम्युनिस्टहरू किन गर्दै छन् ? अनि तिनै दलका नेताहरू आफूलाई सच्चा, महान् क्रान्तिकारी र गौरवशाली ठान्छन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएको खोटा विचारको खण्डन त्यसै गरेका होइनन् । गलत बाटोमा लागेका, लाग्न खोजेका मित्र शक्तिलाई धकेलेर होइन खबरदारी गरेर सुधार्ने मौका दिनुपर्छ । त्यसकारण, नेमकिपाले अन्य दलको सैद्धान्तिक खोटको आलोचना गर्दै आएको हो । आलोचना या खोट देखाउने काम नेमकिपाले नगरेको भए नेपालको कम्युनिस्ट आन्दोलन गलत बाटोमा जाने थियो, कम्युनिस्ट पार्टीप्रति जनताको आस्था, विश्वास, इच्छा र प्रतिष्ठा घट्ने थियो । के अब आमूल परिवर्तनको लागि वर्गसङ्घर्षको आवश्यकता छैन ? के माक्र्सवादीहरू वर्गसङ्घर्षलाई विश्वास गर्दैनन् ? के कम्युनिस्टहरू पुँजीपति वर्गको सरकारमा रहेर देशमा आमूल परिवर्तन हुन्छ ?
Leave a Reply