भर्खरै :

हरेक सशस्त्र सङ्घर्ष ‘क्रान्तिकारी’ हुन्छ भन्ने होइन

क्रान्तिबाट मात्रै समाजवाद ल्याउन सकिन्छ । पुँजीवादी बन्दोबस्तको समाजमा निर्वाचनबाट समाजवाद ल्याउने विचार, सानातिना सुधार गरेर र पुँजीपति वर्गसँग मिलेर समाजवाद ल्याउने विचार अवसरवादी विचार हो । ठूलो र दीर्घकालीन दृष्टिकोणको ठाउँमा सानो र अल्पकालीन हित हेर्ने सोच पनि अवसरवादी सोच हो । यस्तो विचारबाट समाजवाद सम्भव छैन । क्रान्तिकारी विचार छोडेर पुँजीपति वर्गको हितमा लाग्ने या पुँजीवादी विचार लिने दल कसरी कम्युनिस्ट हुन्छ ? शान्तिपूर्ण ढङ्गले पनि समाजवाद आउँदैन । नेमकिपाले सदन र सडकमा पुँजीवादी व्यवस्थालाई उदाङ्ग्याउने काम गरिरहेको छ । अवसरवादी, देशविरोधी र विश्वासघाती दलहरूको विरोधमा नेमकिपाले सैद्धान्तिक र राजनैतिक सङ्घर्ष गर्दै छ ।
तर, हरेक सशस्त्र सङ्घर्ष ‘क्रान्तिकारी’ हुन्छ भन्ने होइन । न त सशस्त्र सङ्घर्ष गर्ने दलहरू नै सबै सच्चा कम्युनिस्ट हुन्छन् । नेपालमा हतियार उठाउने काम धेरैले गरे । हतियार त राणा शासकहरूले पनि उठाए, नेकाले उठायो, माओवादीले पनि उठायो । तर, तिनीहरू कम्युनिस्ट होइनन् । वर्गसङ्घर्षसँगै सर्वहारा वर्गको हुकुमलाई स्वीकार नगर्ने दल न माक्र्सवादी हुन्छन् न त कम्युनिस्ट नै हुन्छन् । नेमकिपाले माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधारालाई मार्ग निर्देशक मानेको छ र सोहीअनुसार राजनीति अघि बढाइरहेको छ या समाजवादी आन्दोलनमा लागिरहेको छ ।
उत्पादनका साधनहरू सामाजिकीकरण नभएसम्म, योग्यताअनुसारको काम, कामअनुसारको ज्याला र कामदार जनताको प्रजातन्त्र नआएसम्म गरिब जनताले सुखको सास फेर्न पाउने छैनन् । संसदीय निर्वाचनबाट क्रान्ति हुन्छ र समाजवाद स्थापना हुन्छ भन्ने विचार सही होइन । यो माक्र्सवादविपरीत धारणा हो । अतः नेमकिपा ससंद् र सडक, खुला र गुप्तरूपले कामदार जनतालाई समाजवादबारे शिक्षित गर्दै छ, आमूल परिवर्तनको लागि सचेत र सङ्गठित गर्दै छ । नेमकिपा ‘जनताको प्रजातन्त्र’ को निम्ति सङ्घर्षरत छ । कामदार जनताको नेतृत्वमा बुद्धिजीवी, देशभक्त र राष्ट्रिय पुँजीपतिको शासन स्थापना गर्न चाहन्छ । नेमकिपाको उद्देश्य समाजवाद स्थापना गर्नु हो ।
हो, क्रान्तिको निम्ति या समाजवाद स्थापनाको निम्ति मनोगत र भौतिक परिस्थिति तयार हुनुपर्छ । जनताको सङ्गठनात्मक स्थिति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल हुनु भौतिक परिस्थिति तयार हुनु हो । हो, अहिले त्यो वातावरण बनेको छैन । त्यसकोे अर्थ परिस्थिति छैन भनेर मौन बस्ने होइन, परिस्थिति तयार गर्ने हो, तयार गर्न लागिपर्ने हो । भावनामात्र भएर हुँदैन । क्रान्ति न आवेगमा फुकेर हुन्छ । भित्री र बाहिरी स्थिति तयार हुनुपर्छ भनेकै राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थिति अनुकूल हुनुपर्छ भनेको हो । यी सबै परिस्थिति अनुकूल भएपछि मात्र देशमा क्रान्तिको वातावरण तयार हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *