भर्खरै :

तालिमबाट प्राप्त ज्ञान व्यवहारमा प्रयोग गर्नसकेमात्र सार्थक हुने

भक्तपुर, २४ भदौ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. यातुगणेश सेवा केन्द्र व्यवस्थापन उपसमितिको आयोजनामा सञ्चालित एकहप्ते उद्घोषण तथा सार्वजनिक भाषणकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा प्रयोग गर्न सकेमात्र तालिमले सार्थकता पाउँछ भन्नुभयो ।
उहाँले उद्घोषण र भाषणकला भिड नियन्त्रण तथा विश्वास आर्जन गर्ने कला पनि हो भन्नुभयो ।
उहाँले तालिमलाई थप प्रभावकारी बनाउन यथार्थपरक र वास्तविक वातावरण सृजना गरी तालिम दिनुपर्नेमा जोड दिँदै भाषिक ज्ञान र शब्द भण्डारमा दख्खलसँगै कार्यक्रमको वातावरण बुझ्न सक्ने व्यक्ति उद्घोषण तथा भाषणकलामा निपुण हुने विचार व्यक्त गर्नुभयो ।
उहाँले नेपालभाषाको अस्तित्व सङ्कटमा पर्दै गएको विचार व्यक्त गर्दै सहकारी संस्थाहरूले नेपालभाषामा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष राजन लाखाजूले सदस्यलाई संस्थाले सेवा÷सुविधा तथा तालिमहरू प्रदान गरेपश्चात् सदस्य र संस्थाबीच ऐक्यबद्धताबारे जानकारी लिनुपर्नेमा जोड दिँदै संस्थाको सफलता तथा सुशासनमा सदस्यको पनि जिम्मेवारी रहन्छ भन्नुभयो । उहाँले वर्तमान समयमा केही गैरसमुदायमा आधारित नाफामुखी सहकारी संस्थाहरूका कारण अन्य सहकारी संस्थाको बदनाम भइरहेकोमा चिन्ता व्यक्त गर्दै कुनै आर्थिक तथा भौतिक प्रलोभनमा नपरी समुदायमा आधारित स्थानीय सहकारी संस्थाहरूमा आर्थिक कारोबार गर्न अनुरोध गर्नुभयो ।
एकहप्ते तालिमका प्रशिक्षक रवीन्द्रप्रसाद कुसीले आर्जित ज्ञान तथा सीपलाई दैनिक जीवनमा लागु गरी सीपमा निखार ल्याउन सकिने भन्दै उद्घोषण तथा भाषणकलाको दायरा निकै फराकिलो रहेको र त्यसलाई एक हप्ताको समयले समेट्न नसकिने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति एवं आयोजक उपसमितिका संयोजक कृष्णनारायण दुमरुले सिद्धि गणेश साकोस तथा सोअन्तर्गत सञ्चालित सेवाकेन्द्रहरूले विभिन्न समयमा सीपमूलक तालिमहरू सञ्चालन गर्दै आइरहेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले स्वागत मन्तव्य दिनुभएको थियो भने प्रशिक्षार्थीहरू संगिता कर्माचार्य, हरिभक्त हामो, कमलकेशरी थुया, श्रीकृष्ण लागेजु र श्रीशा दिदीयाले तालिमसम्बन्धी आ–आफ्नो अनुभव आदान प्रदान गर्नुभएको थियो । कार्यक्रममा सृजन लवजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *