भर्खरै :

डेङ्गु सङ्क्रमण बढ्दा सिटामोलको माग उच्च

डेङ्गु सङ्क्रमण बढ्दा सिटामोलको माग उच्च

काठमाडौँ, २४ भदौ (रासस) । नेपालमा डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ ।
औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेकोे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक सङ्घले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका छन् । सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्न जाँदा भने सर्वसाधारणले पाइरहेका छैनन् ।
उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पूरै दुख्ने, बान्ता हुने, खानमन नलाग्ने, पखाला लाग्ने, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । ती लक्षणका लागि बिरामीलाई सिटामोल र जीवनजलजस्ता औषधि खानुपर्दछ तर त्यही सिटामोल अभाव भएको जनाइएको छ ।
काठमाडौँ उपत्यकालगायत देशका अन्य जिल्लामा दैनिक डेङ्गुका बिरामी बढिरहेका छन् । अहिलेसम्म छ हजारभन्दा बढी डेङ्गुका बिरामी पुष्टि भइसकेको मन्त्रालयले जनाएको छ । डेङ्गुको प्रकोप बढ्न थालेपछि सर्वसाधारणले पनि घरमा सिटामोल किनेर राख्ने गरेका छन् । यसले पनि सिटामोलको अभाव भएको बताइएको छ । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार मण्डलले बजारमा सिटामोलको अभाव नभएको बताउनुभयो ।
शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका मेडिकल अधिकृत डा. श्रवणकुमार मण्डलले डेङ्गुका बिरामीलाई उच्च ज्वरो आउने र ज्वरो कम गर्नका लागि सिटामोल खानुपर्छ भन्नुभयो । धेरै नै ज्वरोका बिरामी बढेकाले सिटामोलको माग बढेर अभाव भएको हुनसक्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *