भर्खरै :

कसरी प्रोपगन्डाले काम गर्छ ?

कसरी प्रोपगन्डाले काम गर्छ ?

सन् १९७० को दशकमा म केन्याको एउटा लजमा बस्दै थिएँ । यस्तैमा हिटलरकी प्रचार कार्यकर्ता लेनी राइफेन्स्तलसँग भेट भयो । तिनको सिनेमाका श्रृङ्खलाले नाजीहरूलाई गौरवान्वित गर्छ । उनी फोटोग्राफीको कामले आएकी रहिछन् । हिटलरका धेरै साथीहरूले भोगेको दुर्भाग्यबाट उनी जोगिएकी रहिछन् ।
आफ्ना फिल्महरूमा “देशभक्तिपूर्ण सन्देश” दिएको उनले बताइन् । ती फिल्म “माथिको आदेश” ले भन्दा पनि जर्मन जनताको ‘नम्र निःसारता’ का कारण जन्मेको उनले जिरह गरिन् ।
मैले सोधेँ, “के ती जनताबीच उदारवादी र शिक्षित पुँजीवादीहरू पनि थिए ?” उनले भनिन्, “हो, तिनीहरू नै थिए ।”
आज पश्चिमा समाजमा चलिरहेको प्रचारबाजी देखेपछि मैले त्यही भेटघाट सम्झेँ ।
जर्मनी सन् १९३० को दशकमा जहाँ थियो, हामी त्योभन्दा एकदम फरक स्थितिमा छौँ । हामी सूचनामुखी समाजमा छौँ । हामी विश्वव्यापी भइसकेका छौँ । हामी अझ सचेत, जोडिएका र नजिकिएका छौँ ।
अथवा, के हामी पश्चिमेलीहरू मिडिया समाजमा त छैनौँ ? राज्य र ठूला पुँजीपतिहरूको खाँचो र लालचमा लागेर मिडिया समाजले भित्रभित्रै निरन्तररूपमा हाम्रो बुद्धि भुट्दै त छैन ? हाम्रो दृष्टिकोण गिजोलेको त छैन ?
पश्चिमेली मिडियामा संरा अमेरिकाकै रजाइँ छ । एक छाडी अर्को शीर्ष १० मिडिया कम्पनीहरू संरा अमेरिकी छन् । गुगल, ट्वीटर, फेसबुक जेसुकै होस्, इन्टरनेट र सामाजिक सञ्जालका मालिकहरू अमेरिकी हुन् र उनीहरूले ती सबैमाथि नियन्त्रण गर्छन् ।
संरा अमेरिकाले संसारका ५० भन्दा बढी देशका सरकारहरू ढलाउन काम गरेको मैले यिनै आँखाले देखेँ । ती सबैजसो सरकार लोकतान्त्रिक थिए । यसबीच अमेरिकाले ३० देशका लोकतान्त्रिक चुनावहरूमा भाँजो हाल्यो । उसले ३० देशका जनतामाथि बम खसाल्यो । ती जनता गरिब र निहत्था थिए । अमेरिकाले ५० देशका नेताहरूको हत्या गर्ने प्रयास ग¥यो । उसले २० देशका मुक्ति आन्दोलनहरू दबाउन गोली चलायो ।
यी नरसंहारमध्ये धेरैको खबरखाबर आएन । तिनको रिपोर्ट लेखिएन । तिनलाई मान्यता दिइएन । ती घटनाका लागि जिम्मेवार व्यक्तिहरू बेलायती र अमेरिकी राजनीतिमा ठम्ठम्ती उभिरहे । तिनको दबदबा जारी रह्यो ।

पहिले ह्यारोल्ड पिन्टरले मुख खोले
सन् २००८ मा आफू मर्नुअघि नाटककार ह्यारोल्ड पिन्टरले दुइटा विलक्षण भाषण दिएर शून्यता भङ्ग गरे ।
उनले भने, “अमेरिकी विदेश नीतिको परिभाषा के हो ? ‘मेरो पुच्छर बन, नबने तेरो घाँटी काट्छु’ यही हो । सिधासादा भए पनि अमेरिकी विदेश नीतिको परिभाषा यत्ति हो । गजबको कुरा के भने, यो नीति अहिलेसम्म अत्यन्त सफल छ । यसमा सूचना काटकुट गर्ने, बङ्गयाउने, घुमाउरो गरी भन्ने, भाषा बटार्नेजस्ता काम हुन्छ । यिनै कुरामा मान्छे झुम्मिन्छन् । तर, यी सबै झूटका पोका हुन् । यो एकदम सफल प्रचारबाजी हो । तिनीहरूसँग पैसा छ, प्रविधि छ । सफल बन्ने सबै सरसाधन छ । तिनीहरू सफल पनि हुन्छन् ।”
साहित्य विधामा नोबेल पुरस्कार लिँदै पिन्टरले भने, “अमेरिकी अपराधहरू एकदम व्यवस्थित, अविकल, दुष्ट, निर्मम हुने गर्छ । तर, यसबारे एकदम थोरै मान्छेले मात्र कुरा खोलेका छन् । अमेरिकालाई मान्नैपर्छ । उसले एकदम सफाइपूर्वक विश्वभरि प्रभुत्व कायम गरेको छ । साथमा, उसले विश्वको भलाई गर्ने शक्तिको मुकुन्डो भिरेको छ । यो शानदार र हाँस्यास्पद छ । यो मोहनी लगाउने एकदम सफल काइदा हो ।”
पिन्टर मेरा मित्र थिए । सायद अन्तिम महान् राजनीतिक सन्त थिए । त्यो भनेको राजनीतिक असमति जनाउनुअघि उनले बडो सभ्य व्यवहार गरे । उनले भनेको ‘मोहनी’ लेनी राइफेन्स्टलले भनेको “नम्र निःसारता” त होइन भनेर मैले उनलाई सोधेँ ।
“होहो, त्यही हो,” उनले भने ।
दिमाग भाँड्ने काम (ब्रेनवासिङ) कति मसिनो गरी हुन्छ भने हामीलाई किस्ता किस्तामा झूटा कुरा निल्ने गरी तयार गरिएको छ । प्रचार र दुष्प्रचार पर्गेल्न नसके हामीले तिनलाई मजाले ग्रहण गर्न र विश्वास गर्न सक्छौँ । ‘नम्र निःसारता’ भनेको यही हो ।
हाम्रो व्यवस्था ठूला पुँजीपतिहरूको प्रजातन्त्र हो । यसमा आर्थिक लाभका लागि समेत युद्ध नगरी हुन्न । यसमा सार्वजनिक अनुदान र निजी नाफाको गजबको मिलन हुन्छ । धनीलाई समाजवाद, गरिबलाई पुँजीवाद । हाम्रो राजनीतिक व्यवस्थाको सार यही हो । ट्वीन टावर हमलापछि युद्ध उद्योगको नाफा एकाएक अकासियो । भलभली रगत बग्न थाल्यो । व्यापारीलाई नाफा सोहोर्न भ्याइनभ्याइ भयो ।
आज युद्धका थरीथरी ब्रान्ड छन् । तिनलाई ‘निरन्तर युद्ध’ भनिन्छ । अफगानिस्तान, प्यालेस्टाइन, इराक, लिबिया, यमन र अहिले युक्रेन । यी सबै युद्ध झूटैझूटको जगमा थालिएको थियो ।
यीमध्ये इराक युद्ध सबैभन्दा कुख्यात छ । त्यहाँ नरसंहारकारी हतियार छ भनिएको थियो । पछि त्यस्तो कुनै हतियार इराकमा फेला परेन । बेङ्घाजीमा नरसंहार भयो भनेर नेटोले सन् २०११ मा लिबियालाई धुलोपिठो पा¥यो । तर, त्यस्तो कुनै नरसंहार भएको थिएन । अफगानिस्तान युद्ध गर्न एकदम सजिलो थियो । अमेरिकाले ट्वीन टावरमाथिको हमलाको बदला लिएको भन्यो । अफगानी जनतासँग त्यो हमलाको कुनै साइनो थिएन ।
आज अफगानिस्तानबाट आउने खबरमा ‘तालिबान साह्रै दुष्ट छ’ भनिन्छ । बैङ्कमा जम्मा भएको अफगानिस्तानको ७ अर्ब डलर बचत अमेरिकी राष्ट्रपति जो बाइडेनले चोरेको हुनाले त्यहाँ हाहाकार भएको चर्चा हुन्न । हालै मात्र वासिङटनको ‘नेशनल पब्लिक रेडियो’ ले अफगानिस्तानबारे दुई घण्टा लामो कार्यक्रम चलायो । तर, भोकानाङ्गा जनताबारे त्यस कार्यक्रममा ३० सेकेन्ड मात्र चर्चा गरियो ।
सैन्य गठबन्धन नेटो अमेरिकी नियन्त्रणमा छ । गत जूनमा म्याड्रिडमा नेटो शिखर सम्मेलन सम्पन्न भयो । त्यसले युरोपका सारा देशलाई सैन्यकरण गर्ने र रूस, चीन दुवैसँग युद्ध गर्ने दिशामा अघि बढ्ने रणनीतिक दस्तावेज पारित ग¥यो । दस्तावेजमा ‘आणविक हतियारयुक्त एकजोर प्रतिद्वन्द्वीविरुद्ध बहुपक्षीय युद्ध लड्ने’ प्रस्ताव गरिएको छ । अर्को शब्दमा आणविक युद्ध गर्ने भनिएको छ ।
दस्तावेज भन्छ :
“नेटोको विस्तार ऐतिहासिक सफलता हो ।”
नपत्याइकन मैले यो वाक्य पढेँ ।
युक्रेनबाट आइरहेका समाचारहरू खासमा समाचारै होइनन् । बरु उग्र राष्ट्रवाद, झूटा र गलत सूचनाको उच्चाटलाग्दा रटान मात्र हुन् । मैले धेरै युद्धका समाचार लेखेँ । तर, यति ढाँट खबर मैले कहिल्यै देखेको थिइन ।
आफ्नो सीमासँगै जोडिएको डोनवासमा बस्ने रूसीभाषी जनता झन्डै आठ वर्षसम्म हत्याहिंसा र अपराधका सिकार भएपछि गत फेब्रुअरीमा रूसले युक्रेनमाथि हमला ग¥यो ।
सन् २०१४ मा संरा अमेरिकाले किभमा विद्रोह गराएको थियो । युक्रेनबाट उसका जननिर्वाचित राष्ट्रपतिलाई हटाइयो । किनभने उनी रूसप्रति मित्रभाव राख्थे । उनको ठाउँमा अमेरिकाले ‘आफ्नो मान्छे हो’ भनी ढुक्क हुनसक्ने मान्छेलाई सत्तामा ल्याइयो ।
पछिल्ला वर्षहरूमा पूर्वी युरोपका पोल्यान्ड, स्लोभेनिया र चेक गणतन्त्रजस्ता देशमा अमेरिकी ‘प्रतिरक्षा’ मिसाइलहरू तैनाथ गरिएको छ । यी मिसाइलहरू रूसविरुद्ध लक्षित छन् । यो अमेरिकाका पूर्व परराष्ट्रमन्त्री जेम्स बेकरको ‘वाचा’ विपरीत हो । सन् १९९० फेब्रुअरीमा सोभियत नेता मिखाइल गोर्बाचेभलाई उनले नेटोलाई जर्मनीभन्दा पूर्वमा विस्तार नगर्ने वचन दिएका थिए ।

हिटलरी सीमामा नेटो
युक्रेन सीमारेखा हो । हिटलरको सेना सन् १९४१ मा जहाँसम्म पुगेको थियो, नेटो अहिले त्यही पुगेको छ । सोभियत सङ्घका २ करोड ३० लाख मानिस मारेपछि हिटलरी सेनाले त्यो ‘उपलब्धि’ हासिल गरेको थियो ।
गत डिसेम्बरमा रूसले युरोपको निम्ति दीर्घकालीन रक्षा योजना अघि सा¥यो । त्यस प्रस्तावलाई पश्चिमा मिडियाले खारेज ग¥यो, हाँसोमा उडायो र दबायो । रूसको प्रस्ताव कसले एकएक हरफ पढ्ने ? फेब्रुअरी २४ मा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकासामु घुर्की लगाए । अमेरिकाले हतियार नपठाए र युक्रेनको रक्षा नगरे आफैले आणविक हतियार निर्माण गर्ने उनले धम्की दिए ।
सोही दिन रूसले युक्रेनमाथि हमला ग¥यो । पश्चिमा मिडियाहरूले त्यसलाई ‘जन्मजात कुख्यात देशले गरेको अकारण कब्जा’ भने । इतिहास, झूटा खबर, मिन्स्कमा डोनबसबारे भएका शिष्ट सम्झौताहरू र शान्ति प्रस्तावहरूलाई रद्दीको टोकरीमा मिल्क्याइयो ।
अप्रिल २५ मा अमेरिकी रक्षामन्त्री लोयड अस्टिन किभ गए । उनले रूसलाई ध्वस्त पार्ने अमेरिकी उद्देश्य दोहो¥याए । उनले रूसलाई ‘कमजोर पार्ने’ भनेका थिए । अमेरिकाले चाहेको युद्ध पायो । बलिदान हुन तत्पर प्यादा पायो । अमेरिकी खर्चपानी र हतियारको भरमा यो छद्म युद्ध लडिँदै छ ।
पश्चिमा दर्शक, स्रोता र पाठकलाई यसबारे केही बताइएको छैन ।
युक्रेनमाथिको रूसी हमला उद्दाम र अक्षम्य छ । एक सार्वभौम देशमाथि हमला गर्नु अपराध हो । यद्यपि, यहाँ ‘तर’ भन्न कर लाग्छ ।
युक्रेन युद्ध कहिले सुरु भयो र कसले सुरु ग¥यो ? सन् २०१४ देखि यो वर्षसम्म डोनवासमा किभ सरकारको गृहयुद्धमा परेर १४ हजार मानिसहरू मरेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । नवनाजीहरूको हमलाका कारण डोनवासमा यत्तिका मान्छे मरेका हुन् । युक्रेनी एजोभ बटालियनले मारिउपोल सहरमा गरेको बमबारीमा परेर अन्य सर्वसाधारणसँगै वरिष्ठ संवाददाता जेम्स मेट्सको ज्यान गयो । २०१४ को मे महिनाको उनको टिभी रिपोर्ट हेर्नलायक छ ।
सोही महिना दर्जनौँ रूसीभाषी युक्रेनीहरूलाई ओडेसाको ट्रेड युनियन भवनमा जिउँदै जलाइएको थियो । फासीवादी दुष्टहरूले भवन कब्जा गरेर भवनमा आगो लगाएका थिए । भवनभित्र कतिपय मानिसहरू धुवाँमा निसासिएर मरेका थिए । यी दुष्टहरू नाजीहरूका सहयोगी र यहुदीका घोरविरोधी स्तेपान बान्देरालाई गुरु मान्छन् । यिनै दुष्टहरूलाई ‘द न्युयोर्क टाइम्स’ ले ‘राष्ट्रवादीहरू’ भनेको छ ।
एजोभ बटालियनका संस्थापक आन्द्रेइ बिलेत्स्कीले भने, “यो सङ्गीन घडीमा हाम्रो राष्ट्रको ऐतिहासिक मिसन भनेको हाम्रो अस्तित्वको अन्तिम धर्मयुद्धमा विश्वका गोरा जातिको नेतृत्व गर्नु हो । हाम्रो धर्मयुद्ध यहुदीहरूले नेतृत्व गरेका नीचहरूविरुद्ध हो ।”
यो वर्ष फेब्रुअरीयता केही स्वघोषित ‘मिडिया पर्यवेक्षकहरू’ ले युक्रेनमा नवनाजीहरू छँदै छैनन् भनी भ्रम छर्न खोज्दै छन् । (यी ‘पर्यवेक्षकहरू’ ले अमेरिकी र बेलायती सरकारसँग जोडिएका सङ्घसंस्थाबाट तलब बुझ्ने गरेका छन् ।)
स्तालिनको पजनीबारे धुवाँदार लेख्नुबोल्नु कुनै बेला मूलधारे पत्रकारिताको पैसा पचाउने मेलो थियो । त्यसको झन्डै एक दशकपछि ‘असल’ चीन एकाएक ‘खराब’ चीन बन्यो । स्तालिनको बद्ख्वाइँ चीनको बद्ख्वाइँमा फेरियो । चीन अहिले विश्वको ज्यासलदेखि नवजात शैतानमा बदलिएको छ ¤
यसप्रकारका सबैजसो दुष्प्रचार संरा अमेरिकामा जन्मिन्छन् । तिनलाई उसले आफ्ना प्रतिनिधि र ‘थिङ्क ट्याङ्कहरू’ (‘विज्ञ समूहहरू’) मार्फत प्रसार गर्छन् । अस्ट्रेलियाको सामरिक नीति संस्थान यस्तै एक कुख्यात थिङ्क ट्याङ्क हो । सैन्य उद्योगले पनि यस्ता अफवाहहरू फैलाउने गरेको छ । ‘द सिड्नी मर्निङ हेराल्ड’ का पत्रकार पिटर हार्शेर पनि यसै कोटीका प्रचारक हुन् । उनले बढ्दो चिनियाँ प्रभावलाई ‘मुसा, झिँगा, लामखुट्टे र भँगेरा’ सँग तुलना गरे । उनले यी ‘किराकिरी’ लाई ‘उन्मूलन’ गर्नुपर्ने सुझाव दिए ।
पश्चिमी मिडियामा अहिले बेइजिङको खतराबारे मात्र प्रचार भइरहेको छ । चीनको वरिपरि ४०० अमेरिकी सैन्य अखडाहरू अष्ट्रेलिया, प्रशान्त महासागर, दक्षिणपूर्वी एसिया, जापान र कोरियाभरि फैलेर घाँटीको हारजस्तो बनाएको दृश्यबारे कोकोहोलो मच्चाइँदै छ । जापानको ओकिनावा र कोरियाको जेजु टापु भरिएको बन्दुकझैँ छन् । तिनीहरू चीनका औद्योगिक नगरीतिर ताकेर उभिएजस्ता देखिन्छन् । पेन्टागनका एक अधिकारीले तिनलाई ‘फाँसी दिने पासो’ भने ।
मैले सम्झेसम्म प्यालेस्टाइनबारे पनि अनर्गल प्रचार हुँदै आएको छ । बीबीसीले जनाए अनुसार प्यालेस्टाइन ‘दुई भाष्य’ बीचको ‘विवाद’ हो । आधुनिक समयको सबैभन्दा लामो, क्रुर र अवैध सैन्य कब्जाबारे मिडियामा उल्लेख गर्न मनाही छ ।
यमनका पीडित जनतालाई देखेको नदेखेझैँ गरिन्छ । मिडियाको नजरमा ती जनताको अस्तित्व छैन । साउदीका शासकहरूले अमेरिकी (पस्दा एउटा पस्ने, पड्किँदा धेरै पड्किने) ‘क्लस्टर बम’ बेलायती सल्लाहकारहरूको इसारामा यमनमा बसाइरहेका छन् । यस विनाशलीलामा परेर यमनमा अहिले ५ लाख भन्दा बढी बालबालिका भोकले छट्पटिँदै छन् ।
ढाकछोप गरेर दिमाग भाँड्ने काम नौलो होइन । प्रथम विश्वयुद्धमा भएका नरसंहारहरूलाई लुकाउन मद्दत गरेकैले पत्रकारहरूलाई विभिन्न पदक र आभूषण दिएर पुरस्कृत गरिएको थियो । सन् १९१७ मा ‘द म्यानचेस्टर गार्जियन’ का सम्पादक सीपी स्कटले बेलायती प्रम लोयड जर्जसँग यसरी गोप्य कुरा खोलेका थिए ः
“जनताले सत्यतथ्य थाहा पाए यो युद्ध भोलि नै टुङ्गिनेछ । तर, तिनलाई थाहा छैन अथवा तिनले थाहा पाउन सक्दैनन् ।”
अन्य देशका मानिसहरूले जस्तो व्यक्ति र घटनालाई हेर्न अस्वीकार गर्नु आज पश्चिमेली देशहरूको स्वभाव बनेको छ । यो मिडिया भाइरस कोभिड भाइरसजत्तिकै हानिकारक छ । यो स्वभाव एकतर्फी ऐनाजस्तो छ । यसमा ‘हामी’ असल र दयालु देखिन्छौँ, ‘अरू’ विपरीत देखिन्छन् । यो नितान्त साम्राज्यवादी दृष्टिकोण हो ।
चीन र रूस पनि यो संसारमा छन् भन्ने चर्चा हुन्न वा यसबारे बुझ्नै चाहन्न । भ्लादिमिर पुटिन एडोल्फ हिटलर बन्छन् । सी चिनफिङ फुमान चू बन्छन् । कष्टकर गरिबी उन्मूलन गरेर चीनले विराट सफलता हात पारेको कुरा कसैलाई थाहा दिइन्न । कस्तो मैलो र घिनलाग्दो सोँच !
हामीले मानिसहरूलाई कहिले बुझ्न दिने हो ? पत्रकारहरूलाई कारखानाका कामदारलाई झैँ तालिम दिनाले यसको उत्तर आउनेछैन । डिजिटल साधनको झिलिमिलीबाट पनि यसको उत्तर आउँदैन । यो झिलिमिली साधन मात्र हो, साध्य होइन । पुरानो जमानाको टाइपराइटरजस्तै ।
हालैका वर्षहरूमा केही गतिला पत्रकारहरूलाई मूलधारे मिडियाबाट हटाइएको छ । यस्तो गर्दा तिनलाई ‘झ्यालबाट फालिएको’ भनियो । चल्तीको भाषाभन्दा भित्र पस्ने ती प्रतिभाशाली पत्रकार र सत्यान्वेषीहरूको लागि ढोका बन्द भयो ।
जुलियन असान्जको मुद्दा रन्थनाउने खालको छ । ‘द गार्जियन’, ‘द न्युयोर्क टाइम्स’ जस्ता स्वघोषित ‘तथ्य बटुल्ने पत्रिकाहरू’ का लागि पाठक र पुरस्कार दिलाइरहँदासम्म असान्ज र विकिलिक्स प्यारा भए ।
तर, साम्राज्यवादी देशहरूले आपत्ति जनाएपछि एकाएक उनी जनताको शत्रु बने । ती राज्यले उनको चरित्रहत्या गर्ने र विकिलिक्सको हार्ड ड्रात् नष्ट गर्ने माग गरे । उपराष्ट्रपति जो बाइडेनले असान्जलाई ‘हाइटेक आतङ्कवादी’ सँग दाँजे । हिलारी क्लिन्टनले भनिन्, “यो केटालाई ड्रोन लगाएर उडाउन सकिन्न र ?”
यातना मामिलाका राष्ट्रसङ्घका प्रतिनिधिले असान्जमाथिको ज्यादतिलाई ‘अराजक’ भने । तर, जुलियन असान्जलाई दुत्कार्ने र दानवीकरण गर्ने अभियानले उदारवादी प्रचारमाध्यमको मुन्टो भुइँमा बजारिसकेको छ । त्यस्तो गर्नेहरू को हुन्, हामीलाई थाहा छ । म तिनीहरूलाई दोस्रो विश्वयुद्धताका हिटलरको पक्ष लिने फ्रान्सका भिशे पत्रकारहरूसँग तुलना गर्छु ।
साँचो पत्रकारिता कहिले जुर्मुराउने हो ? इन्टरनेटमा केही प्रेरणादायी पत्रिकाहरू छन् । महान् संवाददाता रोबर्ट प्यारीले स्थापना गरेको ‘कन्सोर्टियम न्युज’, म्याक्स ब्लुमेन्थालको ‘द ग्रेजोन’, ‘मिन्ट प्रेस न्युज’, मिडिया लेन्स, ‘डीक्लासिफाइड युके’, ‘इलेक्ट्रोनिक इन्तिफादा’, ‘वजवज’, ‘जीनेट’, ‘इसीएच’, ‘काउन्टरपन्च’, ‘इन्डिपेन्डेन्ट अस्ट्रेलिया’ आदि । त्यस्तै क्रिस हेजेज, प्याट्रिक लरेन्स, जोनाथन कुक, डायना जोन्स्टन, काइटलिन जोन्स्टन र अन्य केही व्यक्तिका गतिविधि पनि निकै प्रेरक छन् ।
लेखकहरू कहिले कस्सिने हो ? जस्तो सन् १९३० को दशकमा फासीवादविरुद्ध उनीहरू कस्सिएका थिए । फिल्म निर्माताहरू कहिले उठ्ने हो ? जस्तो सन् १९४० को दशकमा शीतयुद्धविरुद्ध उनीहरू उठेका थिए । व्यङ्गयकारहरू कहिले सुरिने हो ? जस्तो पुस्तौँपुस्तादेखि उनीहरू सुरिँदै आएका छन् ।
औपचारिक दस्तावेजहरूमा पछिल्लो विश्वयुद्ध मानव कल्याणका निम्ति लडिएको भनियो । यस्तो भन्दै र सुनाउँदै ८२ वर्ष बितिसकेका छन् । तथ्यहरूको हिसाब राख्नेहरूले सिधै आफ्नो स्वतन्त्रता घोषणा गर्ने र दुष्प्रचारहरू चिर्ने बेला आएन र ? यसको आवश्यकता टड्कारो देखिन्छ ।
(Silencing the lambs- How Propoganda Works)
(MR online.org,September 10, 2022)
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *