भर्खरै :

“पुँजीवादी व्यवस्थामा शासक दलहरूले निर्वाचनलाई विकृत बनाउँछन्”

कालीकोट, २ असोज । नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्ला समितिको आयोजनामा आइतबार जिल्लास्तरीय कार्यकर्ता भेला भयो ।
भेलामा पार्टीका केन्द्रीय सचिवालय सदस्य नन्दबहादुर शाहीले पुँजीवादी व्यवस्थामा शासक दलहरू साम–दाम–दण्ड–भेद नीति प्रयोग गरेर चुनावलाई विकृत बनाउँछन् भन्नुभयो । उहाँले निर्वाचन पनि वर्गसङ्घर्षको सिलसिला भएको उल्लेख गर्दै पार्टी कार्यकर्ताहरूले निर्वाचनको क्रममा जनतालाई राजनैतिकरूपमा सचेत पार्नुपर्नेमा जोड दिनुभयो ।
अर्का केन्द्रीय सदस्य सरोजराज गोसाईले शासक दलका नेताहरूको विदेशी शक्तिसामु झुक्ने प्रवृत्तिले देशको सार्वभौमसत्ता कमजोर बनेको बताउनुभयो । पार्टी प्रकाशनहरूको अध्ययन र अन्तरक्रियालाई जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले सैद्धान्तिक अध्ययनले कार्यकर्ताहरूको सांस्कृतिक स्तर उठ्ने बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले पुँजीवादी व्यवस्थामा कामदार जनताको हित नहुने चर्चा गर्दै समाजवादी व्यवस्था स्थापनाका लागि नयाँ पुस्तालाई सङ्गठित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले अमेरिकी साम्राज्यवादले डलरको लोभ देखाएर एमसीसीमार्फत नेपालको सार्वभौमसत्तामाथि आक्रमण गरेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष नरदीप शाहीले नागरिकता विधेयक देशघाती भएको उल्लेख गर्दै यसको खारेजीको लागि देशव्यापी दबाब सृजना गर्नुपर्ने बताउनुभयो ।
पार्टी जिल्ला समितिका अध्यक्ष खड्गराज शाहीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सदस्य सूर्यबहादुर शाहीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *