भर्खरै :

सिंहदरबारको भ्रष्टाचार स्थानीय तहमा !

सिंहदरबारको भ्रष्टाचार स्थानीय तहमा !

देश र पार्टीको जिम्मेवारी बोकेका नेताहरू जिम्मेवार हुन्छन् र हुनुपर्छ । देश र पार्टी चलाउने नेताहरू नै बिग्रेपछि देश कसरी बन्छ, देश कसरी विकास हुन्छ र जनताको जीवन कसरी सुनिश्चित हुन्छ ? सत्तासीन र ठूला दलका नेताहरू बिग्रिएको कारण, देश र जनताप्रति समर्पित नभएका कारण कार्यकर्ताहरू बिग्रिए । कार्यकर्ताको गल्तीले जनतामा त्यही रोग सरे । भ्रष्टाचार, अनियमितता, कमिसनको खेल माथिल्लो निकाय या मन्त्री, सांसद र जनप्रतिनिधिदेखि तल्लो निकाय कर्मचारीसम्म पुगे । यो देशलाई बर्बादीको खाडलमा पु¥याउने या सङ्कट निम्त्याउने चाल हो । यसतर्फ सबै देशभक्त जनता सचेत हुनुपर्छ ।
भ्रष्टाचारले बढावा पायो । विकासमा चुहावत भयो । सिँहदरबारमा केन्द्रित भ्रष्टाचार स्थानीय तहसम्म पुग्यो । सिंहदरबारको अधिकार होइन सिँहदरबारको भ्रष्टाचार र अनियमितता गाउँमा पुग्यो । सत्तासीन दलका नेता र मन्त्रीहरू भ्रष्टाचार नियन्त्रण गर्नेतर्फ नलागेकै हुन् । ती दलका नेताहरू भ्रष्टाचार र अनियमितता गराएरै ठेकेदार र डन मोटाउँछन् । उनीहरूबाटै निर्वाचनमा खर्च जुटाउन र कार्यकर्तालाई पैसा बाँड्न चन्दा असुल्छन् । यो सञ्चारमाध्यममा आइरहेकै विषय हो । निर्वाचनमा पहिले पञ्चायती शासक, नेता, मन्त्री र कार्यकर्ताहरू पैसा बाँड्थे । यो रोग बहुदलीय व्यवस्थाको बेलामात्र होइन गणतान्त्रिक सरकार अझ ‘कम्युनिस्ट’ भनिने दलको झन्डै बहुमत प्राप्त सरकारमा पनि रोकिएन । अहिले पनि भ्रष्टाचार कम भएको छैन ।
गणतन्त्रका शासकहरूमा पनि राजतन्त्रका प्रवृत्ति देखिएका छन् । नेपालका गणतन्त्रवादीहरूलाई नयाँ खान्दानी वर्गमा पु¥याउन खोज्नेहरूमा उच्च पदमा रहेका कर्मचारी, सिद्धान्तहीन, स्वार्थी नेता, मन्त्री तथा सांसद, तस्कर व्यापारी आदि उद्यत छन् । दलहरूमा सामन्ती तत्वहरू घुसाउने, गुप्तचर लगाएर नेता कार्यकर्ताहरूको गोप्य कुरा लाने, नेता कार्यकर्ताबीच फाटो ल्याउने र अलि पढे लेखेका मान्छेहरूलाई प्रशंसा गर्ने लोभ देखाएर गइरहेको बाटोबाट अलग्ग गर्ने काम अहिले पनि भइरहेको छ । यस्तो काम निर्वाचनमा त झनै हुन्छ ।
शासक दलहरूले जनतालाई राजनीतिकरूपले सचेत पार्ने प्रयास नै गरेनन् । तिनीहरूले निर्वाचनमा जातीय, भाषिक, धार्मिक र क्षेत्रीय भेदभाव गरी आफ्नो पक्षमा मत तान्ने काम गरिरहेका छन् । जनतामा साम्प्रदायिकता फैलाएर, पैसा बाँडेर, पदको लोभलाच देखाएर, भोज भतेर, माछा–मासु, लुगाफाटा, ग्यासको सिलिन्डर र ग्यास चुलो घर–घरमा वितरण गर्ने काम गरे । उनीहरूले देश र जनताको सेवालाई कहिले पनि कर्तव्यको रूपमा लिएनन् । अनि शासक दलका नेताहरूको यस्तै क्रियाकलापले सरकारप्रति अनास्था बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *