भर्खरै :

भक्तपुर नपाद्वारा संस्कृतिकर्मी तथा सांस्कृतिक गुरुहरूको सम्मान

भक्तपुर, ११ असोज । ४३ औँ विश्व पर्यटन दिवसको अवसरमा गाईजात्रा पर्व २०७९ मा प्रदर्शन गरेका घिन्ताङघिसी तथा परम्परागत एवम् आधुनिक विधाका विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण तथा भक्तपुरका सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रम मङ्गलबार भक्तपुरको दरबार क्षेत्रमा सम्पन्न भयो । उक्त कार्यक्रमको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले हाम्रो कला संस्कृति नै हाम्रो सम्पत्ति हो, यसको संरक्षण गर्न स्थानीय सरकार, सहकारी संस्था र विद्यालयहरू क्रियाशील हुनुपर्ने बताउनुभयो ।
परम्परागत सांस्कृतिक नाच र अन्य गतिविधिहरूमा महिलाहरूको उत्साहजनक सहभागिता बढ्दै गएको बताउँदै उहाँले भक्तपुरको कला संस्कृति जगेर्नामा यहाँका कलाकार, लोहँकर्मी र सिकर्मीको योगदान उल्लेखनीय छ भन्नुभयो ।
भक्तपुर नपाले पर्यटन शुल्कबाट उठाएको रकमबाट यहाँको सरसफाइ, शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा निकै सुधार हुँदै गएको बताउँदै अध्यक्ष बिजुक्छेँले भक्तपुरको काम गर्ने शैली हेर्न देशभरिका जनप्रतिनिधि, पत्रकार र शुभचिन्तकहरू भक्तपुर भ्रमणमा आइरहेको बताउनुभयो ।
भक्तपुर आफैमा एउटा खुला विश्वविद्यालयको रूपमा रहेको बताउँदै अध्यक्ष बिजुक्छेँले सांस्कृतिक गुरुहरू स्वयम् समाजका सम्मानित प्राध्यापकको रूपमा रहेको बताउनुभयो ।
सरकारको मुख नताकी भक्तपुर नपाले आफ्नै बलबुत्तामा गरेको विकास निर्माण कार्यले आज विश्वमै ख्याति कमाइरहेको बताउँदै उहाँले चाडबाडमा हुने फोहर व्यवस्थापनमा नगरवासी स्वयम् सचेत भए भक्तपुर नगर अझ सुन्दर र व्यवस्थित हुने बताउनुभयो ।
नेमकिपाका सचिव प्रेम सुवालले बलियो अर्थतन्त्रले देशको मूल्य मान्यता बढ्ने भन्दै देशको अर्थतन्त्र बलियो बनाउन सरकार बलियो र सरकारमा जाने राजनीतिक दलहरू इमानदार हुनुपर्छ भन्नुभयो ।
भूकम्पपछिको पुनःनिर्माणमा ढिलाइ गर्न नहुनेतर्फ सचेत पार्दै उहाँले भक्तपुरको दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला सङ्ग्रहालयको भवनको पुनःनिर्माण मल्लकालीन शैलीमा गर्नुपर्नेमा जोड दिनुभयो ।
निर्वाचन निकै भड्किलो र खर्चिलो हुँदै गइरहेको बताउँदै उहाँले मङ्सिरमा हुने निर्वाचनको मिति घोषणा भएकै दिनदेखि चुनावमा भाग नलिने व्यक्तिहरूको तटस्थ निर्वाचन सरकार गठन गर्नुपर्ने धारणा राख्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “भूगोल र संस्कृतिको अध्ययन गर्न पर्यटकहरू एक देशबाट अर्को देश घुम्ने गर्छन् । पर्यटन उद्योग प्रवद्र्धन गर्नु भनेकै हाम्रो कला, संस्कृति, सम्पदा विश्वमाझ चिनाउन हो ।”
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई सांस्कृतिक क्षेत्रमा अगाडि बढाउन र आजको स्थितिमा पु¥याउन सांस्कृतिक गुरुहरूको योगदान कदरयोग्य भएको बताउँदै सांस्कृतिक गुरुहरू विश्वविद्यालयको प्रमाणपत्रविनाका प्राध्यापकहरू हुन् भन्नुभयो ।
उहाँले देशका विभिन्न क्षेत्रका सम्पदाहरूको पुनःनिर्माणमा भक्तपुरकै कालिगढहरूको खोजी हुने क्रम सुरु भएको बताउँदै भक्तपुर नपाले अग्रजहरूले सुरु गरेका कार्यलाई निरन्तरता दिँदै यहाँका जनतालाई रोजगारीको निम्ति विभिन्न सीपमूलक तालिम पनि सञ्चालन गर्नुका साथै सीप र प्रविधि भक्तपुरमा मात्रै सीमित नराखी देशभर फैलाउने अवसर पनि प्राप्त भएको बताउनुभयो ।
पर्यटकीय गन्तव्यस्थल र सांस्कृतिक नगरको रूपमा विकास भइरहेको भक्तपुर नगरलाई कतिपय विद्वानहरूले जीवित सङ्ग्रहालयको रूपमा परिभाषित गरिरहेको प्रसङ्ग जोड्दै उहाँले पारदर्शी र आर्थिक अनुशासनलाई कडाइका साथ लागू गर्दै भक्तपुर नगरलाई भ्रष्टाचारमुक्त नगरको रूपमा विकास गर्दै अगाडि बढिरहेको बताउनुभयो ।
त्यस्तै नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले सापारुको सांस्कृतिक गतिविधिमा महिलाहरूको उत्साहजनकरूपमा कलाकारको रूपमा सहभागिता रहनु आफैमा राम्रो पक्ष हो र अझ व्यवस्थितरूपमा उत्साहित बनाउँदै लानु आवश्यक छ भन्नुभयो ।
इतिहास जोगाउने अभियानमा भक्तपुर नपा निरन्तर अगाडि बढ्नुपर्छ भन्दै उहाँले छिमेकी देश चीनका विशिष्ट व्यक्तित्वहरूको मनपर्ने ठाउँको रूपमा भक्तपुर रहेको र उहाँहरूले यस ठाउँबारे उच्च मूल्याङ्कन गर्दै आउनुभएको स्मरण गर्नुभयो ।
उहाँले सांस्कृतिक हमलाविरुद्ध हामी राजनीतिक, वैचारिक र सैद्धान्तिकरूपमा लड्न तयारी अवस्थामा रहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
संस्कृतिविद् विश्वमोहन जोशीले संस्कृति भनेको हाम्रो जीवनचर्या भएको बताउँदै सांस्कृतिक अतिक्रमणले हाम्रो भाषा र पहिचानमा खतरा पुग्ने भएकोले भक्तपुर नपाले संस्कृतिलाई हस्तान्तरण गरिरहेको कार्य प्रशंसनीय रहेको बताउनुभयो ।
सांस्कृतिक मूल्याङ्कनकर्ता इन्दिरा लाछिमस्यूले गाईजात्रामा नयाँ पुस्ता र महिलाहरूको सहभागिता उत्साहजनक रहेको बताउँदै आफूले सिकेको सीप र कला नयाँ पुस्तामा पुस्तान्तरण गर्नु हाम्रो कर्तव्य भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सांस्कृतिक विधाहरूको मूल्याङ्कनको समीक्षा गर्दै प्रतियोगिताको मूल्याङ्कन निष्पक्ष ढङ्गबाट भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले कार्यक्रमको आवश्यकताबारे बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अध्यक्ष बिजुक्छेँले प्रत्येक वडाका दुई दुई जना सांस्कृतिक गुरुहरूलाई दोसल्ला ओढाई नगद रु. १५,०००।– सहित सम्मानपत्र तथा उत्कृष्ट कलाकारहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
त्यस्तै अर्का अतिथि सुवालले घिन्ताङघिसी, माक प्याखं, आधुनिक विधा र परम्परागत विधाका विजेताहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो भने प्रमुख प्रजापतिले प्रतियोगिताका मूल्याङ्कनकर्ता र सहयोगी सबैलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रतियोगितामा माक प्याखंमा प्रथम हुन सफल कोतदेवी दाफा भजनको माक प्याखं, देवी प्याखंमा प्रथम हुन सफल गलसी पुखुको देवी प्याखं, दोस्रो हुन सफल पासा पुचः समूहको लाखे प्याखं देखाइएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *