उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
हरेक नेपाली नागरिकलाई देशको माया हुन्छ । आफ्नो देश या मातृभूमिलाई अलग्याएर कुनै पनि नागरिकले सच्चा जीवन यापन गर्नसक्दैन, आफ्नो भाग्य निर्माण गर्नसक्दैन । जनताको जीवनको आधार नै देश हो, राष्ट्र हो । यसकारण, हरेक देशका देशवासीहरू देश र जनताप्रति समर्पित हुनुपर्छ भनिएको हो । जनताप्रति समर्पित भएर देशको रक्षा गर्नुपर्छ । आफ्नो देशको मर्यादा जोगाउन सकेमात्र नेपालीको अस्तित्व रहन्छ । देशको ख्याल नगर्ने, देश जोगाउन प्रयत्न नगर्ने र देशमा अतिक्रमण भए पनि, हस्तक्षेप भए पनि चुप लाग्ने सरकार र सत्तासीन दलका नेताहरू देशभक्त हुनैसक्दैनन् । जनता र मातृभूमि भुल्ने दल र दलका नेताहरू देशप्रति जिम्मेवार बन्दैनन् । यसकारण, हरेक नागरिकमा देशभक्तिको भावना हुनुपर्छ, मातृभूमिप्रति समर्पित हुनुपर्छ ।
सत्तासीन या अन्य दलका नेताहरूले देशको चिन्तामात्र लिएर पुग्दैन, देश र जनताको निम्ति समर्पित हुनुपर्छ । हो, देशको चिन्ता लिनु र देश र जनताको सेवामा सङ्घर्षमा भाग लिनु देशभक्तिको भावना हो । देशको चिन्ता नलिने, देशको निम्ति केही नगर्ने, तर व्यक्तिगत र दलगत स्वार्थमात्र हेर्ने दलका नेताहरू पनि देशभक्त बन्न सक्दैनन् । पुर्खाहरूले रगत र पसिनाले सिञ्चित मातृभूमिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो । तर, सत्तासीन दल र ठूला दलका नेताहरू आर्थिक र विकासको प्रलोभनमा फसेर देशलाई पराधीन बनाउने, देशको स्वाधीनता र सार्वभौम सत्तामा आँच पु¥याउने काममा फस्छन् या देशघाती सन्धि र सम्झौतामा हस्ताक्षर गर्छन् । भनिन्छ, जन्म दिने आमा र जन्मेको ठाउँ स्वर्गभन्दा ठूलो हुन्छ । देश बचाउनु सरकारको दायित्व हो । देशलाई पराधीन बनाउने या विदेशीहरूको थलो बनाउने पूर्वाभ्यास गर्नु देशविरोधी कदम हो । देशघाती नागरिकता विधेयक ल्याउनु र एमसीसी सम्झौता पारित गर्नु यसकै सिलसिला हो ।
देशलाई बलियो र समृद्धशाली बनाउने काममा सरकार निरन्तर लाग्नुपर्ने हो । त्यसको लागि सरकारले जनतालाई देशभक्त बनाउन राजनीतिक कक्षा सञ्चालन गर्नुपर्ने हो । देश जोगाउन सरकारले नेपाली भूमिमा मिच्न दिनुहुँदैन, मिचिएको भूमि फिर्ता गर्न पहल गर्नुपर्छ । नेपाली भूमिमा रहेको विदेशी सेना हटाउनुपर्छ या हटाउन कूटनीतिक पहल गरिरहनुपर्छ । सरकार मातृभूमि र जनताको निम्ति लागिरहनुपर्छ । देशभक्तिको कुरालाई व्यवहारमा लागु गर्दैन भने त्यो फोस्रो हुन्छ । मातृभूमि र जनताको निम्ति आवश्यक परेको बेला ज्यानको बाजी राख्न पनि तयार हुनुपर्छ । देशलाई सङ्कट परेको बेला योगदान गरेमात्रै राष्ट्र प्रमुख तथा नेताहरूलाई जनताले सम्झन्छन् र आदर गर्छन् । बहुमत जनताको सेवाको लागि उँचो भावना राख्नुपर्छ । सङ्घर्षको लागि समर्पित हुनुपर्छ । अनि देशभक्तहरूको जीवन अविस्मरणीय हुन्छ । उनीहरूको जीवनको मूल्य हुन्छ । देशभक्तको जीवन अनन्तकालसम्म अमर रहनेछ । मातृभूमिको मतलब नराख्ने, विदेशीले भूमि मिचे पनि चुप लाग्ने या देखे नदेखेजस्तो गरी बस्ने दलका नेता र राष्ट्रप्रमुखहरू देशप्रति जिम्मेवारहीन बन्छन् र उनीहरू किंकर्तव्यविमूढ हुन्छन् ।
Leave a Reply