भर्खरै :

गठबन्धनले पाएको मत सिद्धान्त र विचारको नहुने

गठबन्धनले पाएको मत सिद्धान्त र विचारको नहुने

राजनीति देश र जनताको सेवा गर्न हो, आयआर्जन गर्ने व्यापारिक व्यवसाय होइन । राजनीतिक दलमा सिद्धान्त र विचार हुन्छ । दलले सिद्धान्त र विचारको मूल्य र मान्यतामा रहेर राजनीति गरेको हुन्छ । राजनीतिक दलले निर्वाचनलाई सिद्धान्त र विचारको द्वन्द्व या लडाइँको रूपमा विकास गर्नुपर्ने हो । आ–आफ्नो दलको सिद्धान्त र विचार जनतामाझ पु¥याएर मत लिनुपर्ने हो । सिद्धान्त र विचारको आधारमा प्राप्त गरेको मतमात्रै त्यस दलप्रतिको आस्था हुन्छ, विश्वास हुन्छ । विचार नै नमिल्ने दलसँग गठबन्धन गरेर धाक–धम्की दिएर, पैसाको खोलो बगाएर या बाँडेर, लोभलालच देखाएर या सामान बाँडेर लिएको मत साँचो मानेमा दलको मत होइन या सिद्धान्त र विचारको मत होइन । तर, मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको बैठकमा जसरी भए पनि जित्नको लागि शासक दलहरूले साम, दाम, दण्ड र भेदको नीतिमात्र अगाडि बढाएका होइनन् सिद्धान्त र विचारै नमिल्ने दलसँग पनि गठबन्धन गरिरहेका छन् । एक हिसाबले यो अराजनीतिक कदम हो । देशका आफूलाई मुख्य भनिने शासक र ठूला दलहरूले प्रजातान्त्रिक मूल्य र मान्यता, आस्था र विश्वासको कुनै ख्याल नै नगरी उम्मेदवार चयन गरेका छन् ।
निर्वाचनको सन्दर्भमा कति दलका नेताहरू उम्मेदवार बन्नकै निम्ति, सांसद र प्रदेशसभा सदस्य जित्नकै निम्ति पार्टी बदल्छन् । पार्टीमा उम्मेदवार बन्न नाम छनोट नगरे पार्टीको विरोध गर्ने, विद्रोही उम्मेदवार बन्ने या स्वतन्त्र उम्मेदवार बन्ने उद्घोष गर्छन् । कति नेताहरू दल बदलेर अर्को पार्टीमा प्रवेश भएपछि उम्मेदवार बन्ने अवसर पाउँछन् । के यो दल र शीर्ष नेताहरूमा देखिएको राजनीतिक विचलन होइन ? शासक दल र ठूला दलका नेताहरूमा देखिएको यो राजनीतिक विचलनकै कारण देशको राजनीतिक स्थिति बिग्रिँदै गएको हो । पार्टीमा प्रवेश गर्नेबित्तिकै उम्मेदवार उठाउने दलको कारण नेता र कार्यकर्ताहरू असन्तुष्ट हुन थालेका छन्, विद्रोही उम्मेदवार दिन थालेका छन् । शासक र ठूला दलका नेताहरूले एकातिर सिद्धान्त र विचारको राजनीति नगर्ने अर्कोतिर दसकौँदेखि पार्टीमा बसेर काम गरेका व्यक्तिलाई छोडेर भर्खर पार्टी प्रवेश गरेका व्यक्तिहरूलाई उम्मेदवार बन्न सिफारिस गरेको कारण पार्टीभित्र असन्तोष बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *