भर्खरै :

काठमाडौँ डिलेमा – १

नेपालीहरू भारतीयहरूलाई किन रुचाउँदैनन् ?
(नेपाल र यसको दक्षिणमा अवस्थित भारत वर्षका विभिन्न राज्यहरूबीच परापूर्व कालदेखि राजनैतिक, सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्ध रहेको भए तापनि सन् १९४७ मा अङ्ग्रेजहरूबाट ती राष्ट्रहरू स्वतन्त्र भई एक सिङ्गो भारतको जन्म भएपश्चात् नेपालको सम्बन्ध भारतसँग रही आएको हो । जनताको तहमा पनि यो सम्बन्ध अझ प्रगाढ रही आएको छ । यद्यपि, बेला मौकामा दुई सरकारबीच असमझदारी, संवादहीनता र ठूलो देशको अहङ्कारले छिमेकलाई गर्ने हेपाइका कारण दुई देशबीचको सम्बन्ध तनावपूर्ण हुने गरेको छ । यस्तै दुई देशबीच सम्बन्धका विभिन्न आयामहरूलाई केलाउने उद्देश्यले नेपालका लागि भारतीय सरकारका राजदूतहरूले आफू नेपालमा कार्यरत हुँदाका अनुभवलाई लिखित संस्मरणमा उतार्ने गरेका छन् । यस्ता संस्मरणहरूमा नेपालमा सन् २००२ देखि २००६ सम्म राजदूत रही कार्यरत रहेका रन्जीत रेका संस्मरण ‘काठमाडौँ डेलिमा – रिसेटिङ्ग इन्डिया नेपाल टाइज्’ नामक पुस्तकको भावानुवाद सान्दर्भिक भएको हुँदा बुँदागतरूपमा यहाँ प्रस्तुत गरिएको छ । साथै, अनुवादित अंशको अन्तमा लेखकका विचारहरूमाथि आफ्नै आलोचनात्मक टिप्पणी दिने प्रयास गरिएको छ । )

लेखक रन्जीत रे आफ्नो पुस्तकसँगै

१. सन् २०१५ को अप्रिलमा नेपालमा विनाशकारी भूकम्पपश्चात् भारतले नेपालको सहयोगको लागि ६ घण्टाभित्रै राहत सामग्री र कर्मचारी लिएर पहिलो सैन्य विमान उद्धार टोली काठमाडौँ आइपुगेको थियो । भूकम्पको केही हप्तामा धेरै भारतीय सैनिक र सैन्य इन्जिनियरहरू, राष्ट्रिय प्रकोप उद्धार बलका सदस्यहरू, मेडिकल डाक्टरहरू, विमान र हेलिकप्टरका पाइलटहरूले नेपालको दुर्गम पहाडी इलाकामा कठिन परिस्थितिहरूमा परिश्रम र आवश्यक परेकाहरूलाई सहयोग प्रदान गरेका थिए । खाद्यान्न, पानी र औषधि बोकेका हजारौँ ट्रक भारत–नेपाल सीमा नाघेर भूकम्पले सबैभन्दा बढी प्रभावित १४ जिल्लामा पुगेर गरेको सहयोगको हिसाब–किताब गर्दा कूल मूल्य रु. ४५० करोड (अमेरिकी डलर ६५ मिलियन) बराबरको थियो । जुन त्यतिबेला उपलब्ध गराएको सबैभन्दा ठूलो सहयोग पनि थियो ।
तर, यति ठूलो सहयोग भए पनि नेपालीहरूले भारतको नियतमाथि शङ्का गर्ने गरेका थिए । काठमाडौँमा भने भारतविरोधी भावनाहरू सामाजिक सञ्जाल र अन्य मिडियाहरूमा भरिएका थिए । जस्तै, भारतीय सेनाले नेपालीलाई भन्दा पनि अलपत्र भारतीयहरूलाई मद्दत गरिरहेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भारतीयहरूको कब्जामा रहेको थियो भारतको योगदानलाई सार्वजनिकरूपमा स्वीकार गर्न नेपाली अधिकारीहरूलाई हिचकिचाहट थियो । जेनेभामा भएको प्रतिबद्धता सम्मेलनमा नेपाली स्थायी प्रतिनिधिले आफ्नो प्रस्तुतिमा भारतको सहयोगको उल्लेख थिएन । तर, चीनले गरेको सहयोगको गुणगान भइरहन्थ्यो । भारतले गरेको सहयोगको परिमाण र द्रुतताको हिसाबले दुईको तुलना हुन सकिँदैनथ्यो । सामाजिक सञ्जालहरूमा ‘भारतीय मिडिया भारतै फर्क’ र ‘भारत आफ्नै देश फर्क’ जस्ता भनाइहरूले भाइरल भइरहेको थियो ।
भूकम्पपछिको आफ्नो दिल्ली भ्रमणमा मैले प्रधानमन्त्री नरेन्द्र मोदीलाई यही कुराको ब्रिफिङ गर्दा उहाँले नेपालीहरू भारतीयहरूलाई किन मन पराउँदैनन् भनेर सोध्नुभयो । प्रम मोदीको त्यहीँ प्रश्नको जवाफ केलाउने प्रयासमा मैले पुस्तकको पहिलो अध्यायमा चर्चा गर्ने कोशिश गरेको छु ।
२. भारत–नेपाल सम्बन्धको प्रकृति र जटिलताको सम्झना र झझल्को दिने केही व्यक्तिगत संस्मरणबाट म केही कुराहरू अगाडि राख्न चाहन्छु ।
क) राजनीतिक दलका शीर्ष नेपाली नेताहरूलाई अनौपचारिकरूपमा नियमित भेट्ने क्रममै नेता माधवकुमार नेपालसँग कोटेश्वरस्थित उनको घरमा भेट्दा हिन्दीमा कुरा गर्दा माधव नेपालले दुई देशबीच बराबर हैसियतको मित्रमात्र हुनुपर्नेमा भारतले भातइको सम्बन्धको कुरा किन गर्छ भनेर सोधेँ । सायद माधवजीले तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले भारत बिग ब्रदर होइन, भारत आफ्नो कान्छो आफन्तको हेरचाह गर्ने ठूलो दाजु हो भनी गरेको टिप्पणीलाई लिएर त्यसो भनेको हुनुपर्छ । वास्तवमै सुष्माजी नेपाललाई साँचो अर्थमा स्नेह गर्थिन् । तर, नेपालीहरूले उनको भनाइलाई भारत नेपालको संरक्षक हुन चाहेको अर्थमा बुझे ।
ख) सन् २०१३ को सेप्टेम्बरमा काठमाडौँको दशरथ रङ्गशालामा भारत र अफगानिस्तान फूटबल प्रतियोगितामा आमनेसामने थियो । तर, फूटबल खेल असाध्यै मन पराउने नेपालीहरू ‘धोती, धोती’ भनी भारतीय खेलाडीहरूलाई गरेको गालीले रङ्गशाला गुञ्जयमान थियो । काठमाडौँ उपत्यकामा भारत र अरू कुनै देशको टोलीबीच कुनै प्रतिस्पर्धा भएमा नेपालीहरू जहिले भारतको होइन बरु अर्को देशको पक्षमा नै उभिन्छन् ।
ग) हनुमानढोका जाँदै गर्दा न्युरोड नजिकै कतै ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने नारा लगाएको टिसर्ट लगाएका युवाहरूको जमघट देख्यौँ । हामी प्रदर्शनको नजिक पुग्दा मेरो व्यक्तिगत सुरक्षा अधिकारी चिन्तित भए । उनले तुरुन्तै फर्किनुपर्ने बताए, नत्र स्थिति भयावह हुन सक्छ । हामी फर्कियौँ । नेपालले बुद्ध जन्मेको तथ्यलाई सार्वजनिक प्रदर्शनमार्फत दोहो¥याउनुपर्ने आवश्यकता किन पर्यो भनेर म सोचिरहेँ । नेपालको लागि यो साँच्चिकै किन मन छुने विषय बन्यो ? यदि कुनै भारतीयले बुद्ध भारत भूमिका हुन् वा बुद्ध भारतमा जन्मेका हुन् भनेमा नेपालमा प्रदर्शन हुन्छ ।
घ) अगस्ट २०२० मा भारतीय उद्योग परिसङ्घको प्रायोजित वेबिनारमा विदेश मामिला मन्त्री एस. जयशङ्करले एउटा अनौपचारिक टिप्पणीमा, ‘बुद्ध भारतका दुई महापुरुषमध्ये एक हुन्’ भन्दा नेपालमा विरोधको लहर उठ्यो । बुद्ध भारतीय होइनन्, नेपालीले दाबी गरे । बुद्धिजीवी, पूर्वनोकरशाह र एक पूर्वप्रधानमन्त्रीले पनि यो टिप्पणीलाई बदमासी हो भने । नेपालको परराष्ट्र मन्त्रालयले एक आधिकारिक विज्ञप्ति जारी गर्दै गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको भन्ने कुरा स्थापित र निर्विवाद तथ्य भएको उल्लेख ग¥यो । सोही विज्ञप्तिमा लुम्बिनी बुद्ध दर्शनको स्रोत भएको प्रस्ट्यायो ।
ङ) सन् २०१४ मा नेपालको संविधान सभामा प्रधानमन्त्री मोदीको सम्बोधनमा उनले विश्वमा शान्तिका दूत बुद्ध नेपालमा जन्मेको कुरा पुष्टि गरेका थिए । भारतको परराष्ट्र मन्त्रालयले बुद्ध नेपालमा जन्मेकोमा कुनै शङ्का नभएको र बौद्ध सम्पदा भारत र नेपाल दुवैको साझा सम्पदा भएको सङ्केत गर्दै स्थितिलाई सामान्य बनाएको थियो । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने तथ्यलाई नेपालले आत्मसात गर्छ, यो आफ्नो राष्ट्रिय पहिचानसँग जोडिएको छ । भारतले यस तथ्यलाई हरण गर्ने प्रत्येक प्रयासलाई नेपाल कडा विरोध गर्दछ ।

२०७२ सालको महाभूकम्पको बेला भारतमात्र होइन चीन, क्युवा, टर्की, जापान, कोरियालगायतका धेरै देशहरू तथा विभिन्न गैसस तथा अगैसस र व्यक्ति विशेषले समेत मनग्य सहयोग गरेका थिए । यस्तो सहयोगकै कुरा गर्ने हो भने बेलायती साम्राज्यवादले भारतमा दुई सय वर्षको उपनिवेश कालमा कति पूर्वाधार निर्माणमा खर्च गरे होला ।

च) भर्खरैको अर्को घटनाले पनि नेपालको आफ्नो सांस्कृतिक पहिचान भारतभन्दा फरक छ भन्ने चाहनालाई प्रस्ट्याउँछ । रामायणलाई नेपाली भाषामा अनुवाद गर्ने कवि भानुभक्तको जन्म जयन्तीको अवसरमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले गत वर्ष भारतले ऐतिहासिक र सांस्कृतिक तथ्यलाई बङ्ग्याउँदै नक्कली अयोध्या निर्माण गरेको र सक्कली अयोध्या नेपालको वीरगञ्ज नजिक रहेको टिप्पणी गरेका थिए । यही क्रममा ओलीले भारतमा जन्मेका राजकुमारलाई नेपालले सीता नदिएको र सञ्चार तथा यातायातको साधन नभएको त्यसबेला भारतको अयोध्याबाट राजकुमार जनकपुर आउन सक्ने सम्भावना थिएन भनेका थिए । ओलीको यो कथनले चरम राष्ट्रवादी दृष्टिकोणको प्रतिनिधित्व गर्दछ । नेपाल र भारत दुई देशलाई जोड्ने प्राचीन सांस्कृतिक र ऐतिहासिक सम्बन्धहरूलाई उनी अस्वीकार गर्छन् ।

 

(लेखकका विचारमाथि आलोचनात्मक टिप्पणी निम्नानुसार प्रस्तुत गरिएको छ ।)

बुँदा १ का सम्बन्धमा
भारतले नेपाललाई गरेको सहयोगको पछि पनि नेपालीले भारतलाई देखाएको प्रतिक्रियाको सम्बन्धमा लेखकको चित्त दुःखाइ जायज होइन । लेखकले दिएको वृत्तान्तले उनको मनसाय प्रस्ट छ, नेपाललाई गरेको सहयोगको बदला नेपाल र नेपाली भारतप्रति नतमस्तक हुनुपर्छ । सक्ने देशले नसक्ने र आपत्विपत्को बेलामा एकलाई अर्कोलाई सहयोग गर्ने छिमेकी देशहरूको सामान्य परम्परा हो । अझ प्राकृतिक प्रकोपको बेला यस्तो सहयोग मानवीय हिसाबमा गरिन्छ । २०७२ सालको महाभूकम्पको बेला भारतमात्र होइन चीन, क्युवा, टर्की, जापान, कोरियालगायतका धेरै देशहरू तथा विभिन्न गैसस तथा अगैसस र व्यक्ति विशेषले समेत मनग्य सहयोग गरेका थिए । यस्तो सहयोगकै कुरा गर्ने हो भने बेलायती साम्राज्यवादले भारतमा दुई सय वर्षको उपनिवेश कालमा कति पूर्वाधार निर्माणमा खर्च गरे होला । तर, भारत बेलायतप्रति नतमस्तक होइन बरु बेलायतलाई भारत छोड्न बाध्य बनाइयो । त्यसैले कुनै देशको स्वतन्त्रता र सार्वभौमिकतालाई कुनै सहयोगसँग साट्न खोज्नु हैकमवादी सोचमात्र हुन्छ । जहाँसम्म नेपालीले भारतलाई किन रुचाउँदैनन् भन्ने प्रश्न छ । यो भारतकै शासक वर्गको व्यवहारको कारण हो जसका बारेमा लेखक स्वयंले पनि धेरै कुराहरू पस्केका छन् । विश्व मञ्चमा नेपाल र नेपालीलाई गाली गर्ने र खराब भन्ने देश सायदै होला । यस सम्बन्धमा लेखकको निष्कर्षले सारा भारतीयको प्रतिनिधित्व गर्नसक्दैन । जनता र सांस्कृतिक तहमा दुई देशबीचको सम्बन्धमा यस्ता अप्ठ्याराहरू देखिँदैन । भारतीय कर्मचारीतन्त्र र एकाध राजनीतिज्ञहरूमा भएको औपनिवेशिक सोच नै यसको कारण हो भन्दा अतिसयोक्ति नहोला ।
२. (क) देखि (च) सम्मका वृत्तान्त सम्बन्धमा ।
नेहरूको पालादेखि नै भारतीय शासकहरूले पालेको एउटा भ्रम भनेको नेपाल पहाडी देश हो । यिनीहरू अनपढ र अन्तर्राष्ट्रिय मुद्दाहरूमा अनभिज्ञ छन् । नेपालमा राणा शासनको अन्त गरेर प्रजातन्त्रको लागि सङ्घर्ष गर्ने कुरा गर्दा गणेशमान र मातृकाप्रसाद कोइरालालाई नेहरूले तिमीहरूलाई प्रजातन्त्र भनेको के हो थाहा छ भनेर झपारेको प्रसङ्ग एउटा उदाहरण हो । (पढ्नुस् मातृका प्र. कोइरालाको पुस्तक –ए रोल इन रिभोलुसन)
लेखकले नेपालीहरूले बुद्ध नेपालमा जन्मेको र नेपाल एक सार्वभौम राष्ट्र हो भन्ने तथ्यलाई पटक–पटक किन दोह¥याउँछन् भन्ने कुरालाई कोट्याएका छन् । नेपालीलाई यसो गर्न बाध्य पार्ने वास्तवमा भारतीय शासकहरू नै हुन् । पुस्तकमै उल्लेख गरेका प्रसङ्गले नै यसको पुष्टि गर्छ । कहिले सुष्मा स्वराज कहिले श्याम शरणले बोलेका विवादास्पद अभिव्यक्तिहरूले नेपालीलाई यसो भन्न बाध्य पारेका हुन् । नेपालीहरूको यो संवेदनशीलतालाई सबैले बुझ्नु आवश्यक हुन्छ । भौगोलिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिकरूपमा नेपाल र नेपाली उत्तरको छिमेकीभन्दा दक्षिणसँग तुलनात्मरूपमा ज्यादै निकट भएको सर्वविदितै छ । तर, नेपालप्रतिको गुनासो दक्षिणले मात्र गर्ने र उत्तरसँग नहुनु ज्यादै अनौठो छ । नेपाल र नेपालीले आफ्नो पहिचान र अस्तित्वसँग सम्बन्ध भएका कुनै क्रियाकलापलाई चीनको उक्साइले गराएको भन्ने भारतीय मिडिया र कर्मचारीतन्त्रको मानसिकता यथार्थभन्दा फरक छ । माओको समयदेखि नै उत्तरी छिमेक चीन सधैँ चाहन्छ । हाम्रो सम्बन्ध भारतसँग अझ राम्रो होस् किनभने नेपाल भौगोलिक र सांस्कृतिकरूपमा भारतसँग नजिक छ । तर, आज नेपाललाई पश्चिमा देशहरू विशेष गरेर अमेरिका र युरोपेली देशहरू भारतको सहयोगमा नेपाल भूमि प्रयोग गरी चीनको भूराजनैतिक संवेदनशिलतामा खलल पार्न निरन्तर चलखेल गरिरहेको पृष्ठभूमिमा चीन बढी सशङ्कित भई नेपालमा पहिलाभन्दा बढी चासो राख्नु अस्वाभाविक होइन । तर, भारत नाङ्गो हस्तक्षेपको तहमा भने आएको पाउदैनौँ । सायद यही कारण होला, भारत र चीनलाई हेर्ने नेपाल र नेपालीको दृष्टिकोण भिन्न छ ।
जहाँसम्म पूर्वप्रम ओलीको अयोध्या विवादको प्रसङ्ग छ । बुद्ध र उनको जन्मको बारेमा भारतका मिडिया र विभिन्न राजनैतिक तथा कूटनैतिक व्यक्तित्वहरू र सेलिब्रेटिहरूको विवादास्पद अभिव्यक्तिहरूप्रति लक्षित प्रतिक्रिया हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *