लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
नेपालीहरू भारतीयहरूलाई किन रुचाउँदैनन् ?
३. मैले यहाँ केही किस्साहरू प्रस्तुत गर्न खोजेको छु । यसले नेपालका शासकहरूको वर्चस्व रहेको काठमाडौँ उपत्यकाको मानसिकता झल्काउँछ । यो उपत्यका नेपालको राजनीतिको मियो हो । पहिले यो उपत्यका नै नेपाल भनेर चिनिन्थ्यो । नेपालको राजनीति र उपत्यकासम्बन्धी यो अवधारणा वामपन्थी र कम्युनिस्ट केही शक्तिहरूको मानसिकतामा प्रवल छ भने नेपाली काङ्ग्रेसजस्ता लोकतान्त्रिक शक्तिहरूमा कम छ र तराईमा केन्द्रित दलहरूमा कति पनि छैन । तर, यो भावना नेपाली युवाहरूमा बढ्दै गएको छ । भारत यतातिर संवेदनशील हुन आवश्यक छ ।
नेपाल र भारतको सम्बन्ध अरू कुनै छिमेकभन्दा घनिष्ट र जटिल छ । धर्म, संस्कृति, परम्परा, भाषा, नाता सम्बन्धजस्ता हामीलाई जोडिराख्ने कुराहरूले पनि तनाव पैदा गरेका हुन्छन् । सबै कुरा भारतसँग मिल्दोजुल्दो छ भने नेपाललाई कुन तत्वले फरक राष्ट्र बनाउँछ ? दुई देशबीचका यी सांस्कृतिक समानताहरूलाई भारतीयहरूले औँल्याउन खोज्दा नेपालीहरू क्रोधित हुन्छन् र परिणाम प्रत्युत्पादक हुन्छ ।

नेपालको आफ्नै पहिचानको अर्थ के हो ? यो भारतभन्दा कसरी फरक छ ? आकार र जनसङ्ख्यामा समान छैन । भौगोलिकरूपमा नेपाललाई भारतले तीन तिरबाट घेरेको छ । नेपालीहरू पनि भारतमाथिको आफ्नो पूर्ण निर्भरतालाई मन पराउँदैनन् र यसलाई लिएर आक्रोशित हुन्छन् । नेपालले आफ्नो राष्ट्रिय पहिचानको लागि दुई अद्वितीय धरोहरहरू – बुद्धको जन्मस्थल र विश्वको सर्वोच्च शिखर सगरमाथालाई प्रस्तुत गर्छ । तर, दुर्भाग्य यी दुवै धरोहर साझा छन्, बौद्ध सम्पदा भारतसँग तथा सरगरमाथा चीनसँग ।
४. नेपालमा हिन्दी भाषालाई गरिने व्यवहार पनि कहीँ कतै नेपाली पहिचानसँग जोडिने गरेको देखिन्छ । नेपालमा भारतीय सोप ओपेरा वा टीभी सिरियलहरू साथै चलचित्रहरू धेरै लोकप्रिय छन् र अधिकांश नेपालीहरूले हिन्दी बुझ्छन् र बोल्छन् । हिन्दी तराईमा दैनिक कामकाजी भाषा पनि हो । तर, नेपालमा हिन्दी भाषालाई कुनै औपचारिक हैसियत दिएको छैन । प्रायः नेपाली राजनीतिक नेताहरू हिन्दीमा धारा प्रवाह बोल्न सक्ने भए पनि हालसम्म नेपालको संसद्मा यो भाषा बोल्न अनुमति दिइँदैन । नेपालका तराई वा मधेसी मूलका पूर्वउपराष्ट्रपति परमानन्द झाले जुलाई २००८ मा हिन्दीमा सपथ लिने निर्णय गरे । यसलाई पछि नेपालको सर्वोच्च अदालतले बदर ग¥यो । अदालतको फैसला भए पनि झाले नेपाली भाषामा सपथ लिन मानेनन् । मातृभाषामा सपथ लिन पाउने गरी अन्तरिम संविधान संशोधन भएपछि मात्र सन् २०१० फेब्रुअरीमा झा पुनः उपराष्ट्रपति बनेका थिए । यसपटक उनले मातृभाषा र नेपाली भाषामै सपथ लिएका थिए ।
५. कहिलेकाहीँ स–साना समस्याले सङ्कट निम्त्याउँछ । सन् २००१ मा नेपालमा अभिनेता ऋतिक रोशनले नेपालीलाई घृणा गर्छु भनी विज्ञप्ति जारी गरेका थिए भन्ने गलत हल्ला फैलिएको थियो । यसले मधेसी समुदायविरुद्ध लक्षित सडक हिंसामा चार जनाको ज्यान जाने गरी काठमाडौँमा दिनभर दङ्गा भयो । रोशनका फिल्महरू प्रतिबन्ध लगाइएको थियो भने स्थिति नियन्त्रणमा नआए भारतीय समुदायमाथि आक्रमण हुनसक्ने सम्भावना थियो ।

भारतीय अभिनेतृ माधुरी दिक्षित र अभिनेता ऋतिक रोसन जसका विवादस्पद अभिव्यक्तिले नेपालमा द·फसाद भएको थियो ।
अन्ततः एक भिडियो प्रसारित भयो जसमा अभिनेता ऋतिकले आफूले कहिल्यै नेपालीविरुद्ध त्यस्तो बयान दिएको अस्वीकार गरे । त्यस्तै, सन् १९९८ मा अभिनेत्री माधुरी दीक्षितले नेपाल आइपुगेपछि, नेपाल कुनै समय भारतको हिस्सा भएको बताउँदा त्यसको विरुद्ध चर्को प्रदर्शन भयो । बुद्ध भारतमा जन्मेको भनी देखाउने भारतीय चलचित्र र टेलिभिजन कार्यक्रमले पनि नेपालमा भारतविरुद्ध प्रदर्शन हुने गरेका छन् ।
६. निःसन्देह, नेपालीहरू आफ्नो लडाकु र सैन्य पराक्रममा गौरव गर्छन् । पूर्वप्रधानमन्त्री ओलीलगायत नेपाली नेताहरूले देशलाई एकीकरण गर्न लामो र कठिन लडाइँ लडेको र रगत बगाएको कुरा बारम्बार बताउँछन् । शाह वंशका संस्थापक पृथ्वीनारायण शाहले आफू रहेको गोरखा राज्यको वरपरका राज्यहरूका शासकहरूलाई सैन्यरूपमा आफ्नो अधीनमा पारे तर २ सय वर्षपछि राजा ज्ञानेन्द्रसँगै यसको अन्त्य भयो । यसमा काठमाडौँ उपत्यकाका मल्ल राज्यहरू समावेश थिए, जसलाई तराईको तिरहुतका सिपाहीँहरूले रक्षा गरेका थिए । शाह साम्राज्य पश्चिममा पञ्जाबको एउटा सानो राज्य काङ्गडासम्म फैलिएको थियो, जसमा गढवाल र कुमाऊँ र पूर्वमा सिक्किम र दार्जिलिङसम्म फैलिएको थियो । यो ‘ग्रेटर नेपाल’ सन् १८१४ र १८१५ को प्रख्यात अङ्ग्रेज–नेपाल युद्धमा ब्रिटिस इस्ट इन्डिया कम्पनीसँग भिड्नुअघि महाकाली नदीको पश्चिम र मेची नदीको पूर्वसम्म फैलिएको थियो । यस युद्धपश्चात् नेपालले महाकाली नदीको पश्चिम र पूर्वमा मेची नदीको पूर्वमा रहेको आफ्नो भूभाग गुमाउनुपर्यो । कुनै बेला नेपालले तिब्बतसँग पनि युद्ध लडेको थियो । शाह र राणाका वंशजहरू जसले पछि अङ्ग्रेजहरूसँग सन्धि सम्झौता गर्दै नेपालमा शासन गर्दै आफूलाई बिजेता र विजयी ठान्दै आफूलाई नै रैथाने शासक वर्ग माने । अङ्ग्रेज–नेपाल युद्धमा गोर्खा सैनिकको साहस र वीरता देखेर अङ्ग्रेजहरू निकै प्रभावित भएका थिए । उनीहरूले सन् १८५७ मा भारतको पहिलो स्वतन्त्रता युद्धलाई दबाउन नेपाली सेना प्रयोग गरे । विद्रोह दबाएबापत जङ्गबहादुर कुँवर (पछि राणा) को नेतृत्वमा राणा सेनालाई यो धनी सहर लुट्न धेरै दिनसम्म छुट दिइएको थियो । आजसम्म यो घटना ‘लखनउको लुट’ भनेर इतिहासमा उल्लेख भएको पाइन्छ ।
नेपालले भारतजस्तो कहिल्यै कुनै देशको अधीनमा उपनिवेश हुन नपरेकोमा गर्व गरे तापनि यसका समकालीन नेताहरू भने आफ्ना औपचारिक र सार्वजनिक विज्ञप्तिहरूमा सधैँ राष्ट्रिय सार्वभौमसत्ता, राष्ट्रिय गौरव, सम्मान, समानता, हामी कहिल्यै झुक्ने छैनौँजस्ता शब्द र पदावलीहरूले उल्लेख गर्छन्– जबकि स्वतन्त्र संस्थाको रूपमा २ सय वर्षभन्दा बढी समयदेखि अस्तित्वमा रहेका पुराना स्थापित राष्ट्रहरूले सामान्यतया यस्ता पदावलीहरू प्रयोग गरेको सुनिँदैन ।
(लेखकका विचारहरूमाथि आलोचनात्मक टिप्पणी निम्नानुसार प्रस्तुत गरिएको छ ।)
बुँदा ३ का सम्बन्धमा :
पहाड वा काठमाडौँ उपत्यकाका नेपाली, कम्युनिस्ट अनि वामपन्थीहरूले भारतको विरोध गर्छन् भन्ने लेखकको विचार आधारहीन छ । नवलपरासीको सुस्ता अतिक्रमणको विरोधमा सबभन्दा बढी आवाज उठाउने तराईकै जनता हुन् । हो, साँचा कम्युनिस्ट र वामपन्थी देशभक्त हुन्छन् र देशको अस्तित्वमा खेलबाड गर्ने स्वदेशी वा विदेशीको उनीहरू विरोध गर्छन् । कुनै पार्टीमा आबद्ध नभए पनि सबै सचेत जनताले यसको विरोध गर्नु स्वाभाविक हो । गान्धी, नेहरू, सुवाषचन्द्र बोस, टैगोर पश्चिमी देशमा शिक्षित भए तापनि बेलायती साम्राज्यवादले भारतमा गरेको थिचोमिचो अन्यायपूर्ण भएकोले उनीहरू ‘भारत छोड’ आन्दोलनमा होमिए र स्वतन्त्रता प्राप्त गरे । जहाँसम्म नेपाली काङ्गे्रसले भारतको विरोध गर्दैन भन्ने सवाल छ, यो केही हदसम्म सत्य होला किनभने नेपालमा नेका भारतपरस्त पार्टीको रूपमा चिनिन्छ । ऊ भारतीय एकाधिकार पुँजीको लागि नेपालमा काम गर्छ । भारतले गरेको २०७२ सालको नाकाबन्दी र कालापानीमा सीमा मिचिएको विषयमा नेकाले एक शब्द पनि नबोलेको कुरा इतिहासमा लेखियो ।

नेपाल र भारतका संस्कृति र परम्परामा धेरै समानता हुँदा हुँदै दुई देशबीच धेरै कुरा फरक र भिन्न पहिचानका छन् । नेपालमा १२३ जातजाति र भाषाभाषी छन् भने भारतमा २ हजारभन्दा बढी भएको मानिन्छ । यिनीहरूमध्ये केहीमा समानता होला तर यी तथ्यहरूलाई बेवास्ता गरी नेपाल र भारतका पहिचान एउटै देखाउने लेखकको प्रयास बदनियतपूर्ण छ ।
जहाँसम्म सगरमाथा र बुद्ध दर्शन तथा अन्य पक्षसँग सम्बन्धित सम्पदाको कुरा छ यो नेपाल–भारत र नेपाल–चीन दुई देशको मात्र सम्पत्ति होइन यो त विश्व सम्पदा नै हो । यसमा सबै नेपाली गर्व गर्छन् ।
बुँदा ४ का सम्बन्धमाः
भौगोलिक निकटताको कारण नेपाल र भारतबीच धेरै कुराहरूको आदानप्रदान सहज रही आएको इतिहासको तथ्यले बताउँछ । हो, शिक्षित नेपालीहरू भारतसँग व्यापार र शैक्षिक सम्बन्ध भएका नेपालीहरूको नयाँ प्रविधिमा पहुँचको कारणले हिन्दी भाषा बुझ्छन् र भारतीय चलचित्र मन पराउँछन् । मस्कोदेखि मुसलमान जातिको बाहुल्य रहेको मध्य एसियाका देशहरूमा, मध्यपूर्व तथा मिश्रसम्म पनि भारतीय चलचित्र प्रख्यात छन् । त्यस्तै अमेरिकन हलीउड र मार्सल आर्टस्मा आधारित चिनियाँ कम्फू सिनेमा संसारभरि हेरिन्छ । आजभोलि कोरियाली, इरानी र जापानी सिनेमाहरू पनि नेपालमा लोकप्रिय छन् । यसको अर्थ ती सबै भाषाहरूलाई नेपालमा बोलीचालीका भाषा वा संविधान नेपालको भाषाको रूपमा घोषणा गर्नु भन्ने होइन । यो निर्णय नेपाल र नेपालीले गर्ने हो ।

भारतको जलीयावाला बाग हत्या काण्डका नाइके अङ्ग्रेज जनरल डायर (दायाँ र उनको हत्या गर्र्नेे पंजावी उधम सिं (बायाँ
जहाँसम्म हिन्दी भाषा बुझ्ने भएर पनि नेपाली नेताहरू सार्वजनिकरूपमा हिन्दी बोल्न मान्दैन भन्ने सवाल छ । यो अन्तर्राष्ट्रिय परम्परा र वैयक्तिक प्रवृत्तिको कुरा हो । देशको प्रतिनिधि भएर भारतको औपचारिक कार्यक्रममा जाने जो कोही नेता तथा कर्मचारीहरूले अङ्ग्रेजी नै बोल्नुको कारण नेपाल र भारतको सन्धि सम्झौता नेपाली र हिन्दी नभई अङ्ग्रेजी भाषामा हुनु पनि हो । यसकारण, अन्य देशमा दोभाषेको व्यवस्था हुने गर्छ । यो आफ्नो देशको भाषा र देशप्रतिको सन्मान पनि हो । जबकि भारतमा अङ्ग्रेजी भाषा बोल्ने महानुभावलाई सम्मान र इज्जतले हेरिने परम्परा विकास हुनु बेलायती उपनिवेशको उपज हो । यो पङ्क्तिकार आफै भारतको भ्रमणमा जाँदा सिकाइएको थियो, “त्यहाँ हिन्दीमा कुरा नगर्नू हेप्छ, अङ्ग्रेजीमै बोल्नू” । नेपालीले बोल्ने हिन्दी शुद्ध नहुने भएर पनि नेपालीहरू हिन्दी बोल्न हिच्किचाउँछन् ।
बुँदा ५ का सम्बन्धमाः
माथि बुँदा २ मा भनिएजस्तै भारतीय सेलिब्रेटीहरूबाट बेला–बेलामा अभिव्यक्त हुने विवादास्पद कुराहरू नेपाली संवेदनशील मनप्रति तीखो प्रहार हो । यसको प्रतिकार नेपालीले गर्नु अस्वाभाविक होइन । जलियावाला वाग हत्याकाण्डको बदला लिन एक भारतीय नागरिक उधम सिं बेलायत पुगेर त्यस हत्याकाण्डका नायक जनरल डायरको हत्या गरेको सबै भारतीयलाई सम्झना होला । यस्तो विरोध देशभक्तिको द्योतक पनि हो ।
बुँदा ६ का सम्बन्धमाः
हरेक देशहरूको आ–आफ्नै पहिचान र गौरवपूर्ण इतिहास हुन्छ । देशले प्राप्त गरेको स्वतन्त्रता, प्रजातन्त्र र राजनैतिक उपलब्धिको लागि गरेका सङ्घर्षका कथाहरू, आफ्नै जनतालाई अन्याय गर्ने अत्याचारी शासकहरूको अन्त्य जनताले गरेका बलिदानका गाथाहरू हुन्छन् । ती कथा र गाथाहरूलाई राष्ट्रिय गानमा गाउँछन् । ती गौरवपूर्ण बलिदानलाई दिवसको रूपमा मनाइन्छ । नेपालमात्र होइन संसारका कुनै पनि देशमा यस्तो परम्परा हुनु स्वाभाविक हो । भारतलाई अगष्ट १५ को दिन जति गौरवपूर्ण लाग्छ नेपाललाई फागुन ७ कम नहोला । नेपालीले आफ्नो देशप्रति देखाउने भक्तिभाव र देशको सार्वभौमसत्ताप्रति गर्ने गर्वलाई लिएर कसैलाई आपत्ति हुनु नपर्ने हो ।
Leave a Reply