भर्खरै :

के शासक दलहरू आचारसंहिता उल्लङ्घन गर्न डराउलान् ?

काठमाडौँ, ४ कार्तिक । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्तिक २ गते रौतहटको क्षेत्र नं. १ को निर्वाचन प्रचारमा बोले, “आफूले चुनाव जिते युवालाई निःशुल्क भिसा र टिकटसहित वैदेशिक रोजगारी मिलाउने छु ।”
निर्वाचन आयोगले माधवको सो अभिव्यक्ति चुनाव आचारसंहिताविपरीत भएको दाबी गरी २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र पठायो । तर माधव नेपालले पत्र बुझ्न इन्कार गरे । आयोगले निर्वाचन कसुर ऐन तथा सजाय ऐन २०७३ अनुसार कारबाही गर्न रौतहट प्रहरीलाई निर्देशन पनि दियो । कारबाहीको अर्थ पक्राउ गर्नु हो ।
कानुनका जानकारहरूका अनुसार आयोगले माधवविरूद्धको कारबाही ठट्टामात्र हो । किनभने, प्रधानमन्त्री शेरबहादुर देउवा पनि डडेलधुराका उम्मेदवार हुन् । प्रधानमन्त्री देउवा राज्य कोषबाट खर्च भएको नवौँ राष्ट्रिय खेलकुद परिषद्को समापन समारोहमा सहभागी भए । निर्वाचन आयोगले यसलाई आचारसंहिता उल्लङ्घन ठानेन ।
प्रधानमन्त्री पत्नी आरजु राणाले असोज २३ गते देउवाको उम्मेदवारी दर्ताको क्रममा पत्रकारसँग युवालाई निःशुल्क भिसा र टिकट व्यवस्था गरी वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिएका थिए । तर, आयोगले आरजु राणा देउवासित कुनै स्पष्टीकरण लिएन । आरजु नेकाको प्रतिनिधिसभातर्फको बन्दसूचीमा महिलातर्फ खस आर्य समूहको पहिलो नम्बरमा नाम भएका उम्मेदवार हुुन् ।
शासक दलका कतिपय उम्मेदवारहरूले असोज २३ गते बाजागाजासहित उम्मेदवारी दर्ता गराएर आचारसंहिता उल्लङ्घन गरे । यसरी नै बाजागाजासहित उम्मेदवारी दर्ता गराएका दलहरूलाई आयोगले स्पष्टीकरण त लियो तर कुनै कारबाही गरेन । शासक दलका अन्य उम्मेदवारहरूले बाजागाजासहित उम्मेदवारी दर्ता गराए पनि स्पष्टीकरणको सामना गर्नुपरेन ।
कतिपय जिल्लामा अहिले शासक दलका उम्मेदवारहरूको मतदातालाई प्रभाव पार्ने भोजभतेर सुरु भएको छ । दार्चुलामा शासक दलका तर्फबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख उपप्रमुखहरू सरकारी गाडी प्रयोग गरी चुनाव प्रचारमा लागिरहेको समाचार छ । तिनीहरू घरदैलो कार्यक्रम गरी आचारसंहिता उल्लङ्घन गर्दै छन् । निर्वाचन आयोग र गृहमन्त्रालय मौन देखिन्छ ।
शासक दलहरू आचारसंहिता उल्लङ्घन गर्न डराउने स्थिति छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *