पुराना संरचनाले हाम्रो इतिहास र सभ्यताको परिचय दिने
- जेष्ठ ६, २०८३
विन्दुप्रसाद एक साहित्यप्रेमी हुन् । तर, उनी विन्दु नामबाटै बढी चर्चित छन् । केही दिनदेखि विन्दु छटपटीमा थिए । उनलाई रातमा निद्रा लाग्दैनथ्यो । टीभीमा आउने नाचगान, गीत, सङ्गीत, हास्यव्यङ्ग्य र राजनैतिक छलफल एवम् अन्तर्वार्तामा उनको ध्यान जान छोडेको पनि धेरै दिन भएको थियो ।
घडीले तीन हान्यो । उनी उठे, झुल मिलाए, ओछ्यानको तन्ना मिलाए, तकिया ठाउँमा राखे, मुख–सुख धोएर बाक्लो मोजा लगाए, बाक्लै कमिज, सुरुवाल र जाकेट लगाए, आफ्नो अध्ययन कोठामा गएर बत्ती बाले, कापी र कलम हातमा लिए ।
कहीँ कतै स¥याक्कसुरुक्कको आवाज आउँथ्यो । अलि टाढा मोटरसाइकल गुडेको आवाज पनि आउँथ्यो । तर, उनको ध्यान कापी र कलममै थियो । उनको बायाँ हात बायाँ निधारमा थियो– मानौँ आफ्नो टाउको भारलाई टेवा दिँदै थिए – विन्दुको हातले ।
२
भर्खर टोल–छिमेकमा बनेको खेलकुद भवनको सभाकक्षमा सहभागीहरू खचाखच थिए । मञ्चमा एक साहित्य गोष्ठीको आन्तरिक बैठकबारे लेखिएको तुलमा उल्लेख थियो ।
सभा भवनमा प्रमुख वक्ताहरूको प्रवेश भयो । सबै सहभागीहरू उठे । सभामा गोष्ठीका सभापतिले आसन ग्रहण गरे । सभापतिको दायाँ र बायाँ सचिव र उपसचिव पनि आ–आफ्नो आसनमा बसे । सामान्य बैठकमा जस्तो बैठक सञ्चालन गर्ने कुनै वक्ता देखिएन । सभापति विन्दुले दायाँ हातले माइकलाई आफूतिर तानेर बोल्न थाले–
उपस्थित लेखक, कवि, कलाकार र साथीहरू,
आज मैले एक जरुरी बैठक एकै पटकको सूचनाअनुसार साथीहरू सहभागी बन्नुभयो, धन्यवाद छ !
यो एक औपचारिक बैठक होइन । यो एक अनौपचारिक छलफल र चिया–चमेनाको निम्ति सल्लाहको बैठक हो ।
मेरो स्वास्थ्यको कारण हाम्रो केही नियमित बैठक बोलाउन पाइन । कोरोनाको डर र त्रास मत्थर नहुँदै ‘डेङ्गु’ को बिगबिगीबाट हामी सबै पीडित र सन्त्रासमा छौँ । डेङ्गुको समाचार दुईतीन महिनादेखि सुन्दै छौँ । अस्पतालका शय्याहरूमा डेङ्गु रोगीहरू खचाखच भरिएका छन् । कतिको ज्यान गयो । तर, सरकार, स्वास्थ्यमन्त्रीको कुनै सचेतनाको सन्देश आएन न कुनै औषधि छर्ने कामहरू सडक, बजार र गल्लीमा देखिए । हरेक रोग र अपराधले प्रवेश पाउने दक्षिण सीमामा न स्वास्थ्य परीक्षण र सुरक्षा एवम् उपचारको बन्दोबस्त गरियो न कुनै सचेतनाको सूचना पाटी । मानौँ, देशमा कुनै सरकारको उपस्थिति छैन । सम्भवतः दिल्लीमा डेङ्गुविरोधी गतिविधि भएपछि मात्रै सरकारले आफ्नो देशमा पनि सतर्कता र रोकथामको निम्ति औषधि छर्ने काम हुने होला !
साथीहरू, आज मैले साहित्य गोष्ठीको विषयमा एक गम्भीर विषयमा जानकारी दिनकै निम्ति यो बैठक बोलाएको हुँ । हाम्रो साहित्य गोष्ठी कुनै लौह–अनुशासनले बाँधिएको कुनै भूमिगत राजनैतिक पार्टी होइन न त यो साहित्य गोष्ठी आफ्ना सदस्यहरूको वृत्ति–विकासमा सहयोग गर्ने कुनै उद्योग –वाणिज्यको संस्था र म्यानपावर कम्पनी वा युवा श्रमिकहरूलाई नोकरीको सुनिश्चितता दिने कुनै सेवा कम्पनी नै हो । यसकारण, हाम्रा कति युवा लेखक, कवि, कलाकार र उत्साही साहित्यकारहरू आ–आफ्नो परिवार र स–साना नानीहरूको बन्दोबस्तको निम्ति शिशुशाला र बालोद्यानको बन्दोबस्त र आ–आफ्नो वृत्ति विकासमा सङ्घर्षरत छन् । समाजको यो एक सामान्य प्रक्रिया नै हो ।
भूकम्प, कोरोना र डेङ्गुकै कारण हाम्रो पाक्षिक र मासिक साहित्यिक पत्रिका २–४ वर्षदेखि बन्द छ । त्यसको मुख्य कारण हाम्रो परिस्थिति र मेरो आफ्नै उमेर र स्वास्थ्य नै हो । मैले दिनको दुई घण्टा पनि हाम्रो कार्यालयमा उपस्थित भएर काम गर्न सकिनँ । पत्रिकाहरू दुई तीन वर्षदेखि बन्द भयो र नयाँ साथीहरूलाई उत्साहित गर्न सकिनँ । साथै टल्सटाय र रवीन्द्रनाथ टाय्गोरजस्ता साहित्यकारहरूको पनि हामीले आफ्नो भाषामा उल्था गरी नेपाली साहित्यलाई समृद्ध गर्ने काम पनि गर्न सकेनौँ ।
हाम्रा छिमेकी देशहरूका सीमा विवादका महत्वपूर्ण विषयका प्रकाशनहरू गरी साम्राज्यवादीहरूले कसरी तटस्थ र असंलग्न देशहरूलाई कहिल्यै नटुङ्गिने किचलोमा फसाउँदा रहेछन् भनी हामीले नेपाली जनतालाई सचेत पार्ने काम गर्न सकेनौँ न त हामीले मध्यपूर्वमा साम्राज्यवादी देशहरूले छेडेका अफगानिस्तान, इराक, लिविया, सिरिया अनि इजरायलले प्यालिस्टाइनमाथि गरेको हमला र त्यहाँका जनताका भाषा र साहित्यबारे हाम्रो भाषा र साहित्यमार्फत जनतालाई सुुसूचित गर्ने काम नै गर्न सक्यौँ ।
कहिलेकाहीँ म र हामी बढी आत्मकेन्द्रित भयौँ वा स्वार्थी पो भयौँ कि भनी आत्म–आलोचनाको आवश्यकताको अनुभव पनि गरेँ र साथीहरूसम्म यो भावना पोख्न पनि यो बैठकको आह्वान गरेको हुँ ।
सक्रिय र उत्साही युवा साथीहरू विभिन्न भाषा र साहित्यको अध्ययन गर्न विश्वविद्यालय कक्षाहरूमा सहभागी हुनु राम्रो विषय हो । आफूहरूलाई नयाँनयाँ ज्ञान र जानकारीबाट अवगत गराई देश र जनताको सेवामा प्रस्तुत हुने भावना अत्यन्त अनुकरणीय र उदाहरणीय हो । तर, हाम्रा केही युवा साहित्यकारहरू पैसाकै निम्ति र पदकै निम्ति विदेशीले बिछ्याएका जालमा थाहा पाएर वा थाहा नपाएर फस्दै छन्– तिनीहरूमध्ये कति निर्वाचनका ‘स्वतन्त्र’ उम्मेदवारजस्तो ‘प्रोक्सी’ वा ‘निमित्त’ वीरहरू बन्दै छन् ।
अमेरिका गएर एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने हाम्रा राजदूतहरू, प्रधानमन्त्री र मन्त्रीहरू अनपढ, मूर्ख र गरिब परिवारका होइनन् बरु विद्यावारिधी गरेका, विश्वविद्यालयले बुद्धिजीवी र विशेषज्ञ भनेर औपचारिकरूपले प्रमाण–पत्र दिइएका (वृष सर्गमा दामेका बाछा) जस्तै हुन् । ‘डलर’ र ‘विदेश’ को निम्ति काम गर्न जाने नेपालको ठूलो मानवीय स्रोत विदेशको नागरिक हुने र लाखौँ विदेशी नेपाली नागरिक बनी देशै कुनै छिमेकीमा विलय हुने अत्यन्त संवेदनशील सम्भावनालाई समेत ध्यान नदिई तुरुन्तै हस्ताक्षर गर्ने र संसद्मा हात उठाउने हाम्रा जनप्रतिनिधिहरू अरूकै ‘निमित्त’ काम गरिरहेका छन् । के यो स्थिति प्रस्ट छैन र ? त्यसरी नै हाम्रा केही लेखक, कवि, कलाकार, बैङ्क मेनेजर र सिंहदरबारका भूतपूर्व सचिवहरूसमेत विदेशीको सेवामा कार्यरत छन् भनी सुन्नु पर्दा देशको सम्भावित भविष्यप्रति नै चिन्ता हुने गर्छ । हाम्रा भूतपूर्व कमान्डर इन चिफ, आइजी र गुप्तचरका प्रमुखहरूलाई समेत भारतको पुना वा अन्य ठाउँमा परचक्रीले आवासको व्यवस्था गरेको सुन्दा पनि पत्यार लाग्दैन । तर, सत्य के हो भन्नेबारे चिन्तन गर्नु आवश्यक छ ।
‘मानिस सृष्टिको मुकुट’ भएर पनि कहिले सरल मानिसलाई निराश बनाउँछ । तर, जीवनका भोगाइ भोगिसकेका जनतालाई आश्चर्यमा पार्ने छैन किनभने समाज सा¥है जटील छ र समयको पनि नियम हुन्छ भन्ने थाहा छ । कवि लेखनाथको ‘पिँजडाको सुगा’ ले स्थितिलाई स्पस्ट पार्छ – ‘गुणको वैरी मानुष जाति’ … ‘शुष्क गराई गुणीको छाती’ ।
ठीक त्यस्तै एङ्गेल्सको भाषा सम्झूँ – ‘ड्रागनको बीउ छरेर स–साना विषालु कीराको बाली ।’
साहित्यकार साथीहरू, ‘मेरो उमेर र स्वास्थ्यलाई ध्यान दिएर लामो समयदेखि आजसम्म मलाई सहयोग गर्नुभएकोमा सबै साथीहरूलाई यथोचित धन्यवाद दिँदै आजको मितिदेखि म सभापति विन्दु पदबाट राजनीमा दिँदै छु र उपयुक्त व्यक्तिको छनोटपछि त्यसलाई औपचारिकता दिनेछु । बैठक यहीँ टुङ्गिन्छ । धन्यवाद !
३
सभापतिको भाषणपछि सभा टुङ्गिएकोमा एकछिन सहभागीहरू आश्चर्यमा परे । एकआपसमा हेराहेर गर्दै अनिश्चयको भुमरीमा परेको अनुभव गर्दै सभापति र सचिवहरूको सभाभवनबाट बहिर्गमनपछि सबै बाहिरिए । एकएक जना दुईदुई जना गर्दै सहभागीहरू पछि लाग्दै गए– मलामीहरू मसानबाट घर फर्केजस्तै । मौनतामा डुबेका कुनै कार्यक्रमको समाप्तिको स्थिति ! केही मानिसहरू आश्चर्य मिश्रित भावमा एक आपसमा सुस्त कुरा गर्दै सुस्केरा हाल्दै गए ।
विन्दु घर पुगेर कसैसँग नबोली आफ्नो कोठामा गए र आफ्नो डायरीमा लेखे – “मैले आफूलाई पहिलोपटक साथीहरूकै बीचमा एक्लो पाएँ ।”
‘पहिलो पटक’ साथीहरूसँग कुनै वादविवाद र तर्कवितर्क नगरी पूर्णरूपले एक्लो निर्णय गरेँ, कसैसँग सल्लाह नगरी निर्णय सुनाएकोमा विन्दुले मनमनै पछुताउँदै थियो ।
Leave a Reply