भर्खरै :

शैक्षिक स्तर खस्कनुमा प्रधानमन्त्री, शिक्षामन्त्री र जिल्ला शिक्षा अधिकारी दोषी

भक्तपुर, ६ कार्तिक । नेपाल संवत् ११४३ र दीपावलीको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मा.वि., ख्वप कलेज, शारदा क्याम्पस र ख्वप कलेज अफ लमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबिच आइतबार शुभकामना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बेइमान गर्ने अवसर नपाएसम्म इमानदार हुने प्रवृत्तिबाट शिक्षक तथा कर्मचारीहरू टाढिनुपर्ने सुझाव दिनुभयो ।
मित्रमण्डली र पार्टी सदस्यको अर्थ फरक रहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “पार्टी सदस्यले मित्रमण्डलीबाट हुने गल्तीलाई समर्थन गर्ने गर्दैन । पार्टी सदस्यले गल्ती हुनेबित्तिकै आलोचना र आत्मालोचना गर्ने गर्छ । यस अर्थमा पार्टी सदस्य गम्भीर हुनु आवश्यक छ ।”
“अपराधीलाई छुटाउन, बलात्कारीलाई बचाउन, चोर–फटाहा–बदमासहरूलाई जोगाउन नेमकिपाले कहिल्यै सहयोग गरेन† बरु त्यस्तालाई कडाभन्दा कडा सजाय गराउन नेमकिपा लागेकै कारण निर्वाचनमा बदमासहरू नेमकिपाविपरुद्ध लागेका हुन्”, अध्यक्ष बिजुक्छेँले स्पष्ट पार्नुभयो ।
“शैक्षिक स्तर खस्कनुमा प्रधानमन्त्री, शिक्षामन्त्री र जिल्ला शिक्षा अधिकारी दोषी छन्”, उहाँले भन्नुभयो ।
विकृति, विसङ्गतिलाई हटाउन र समाजलाई परिवर्तन गर्न सङ्घर्ष गर्नुको विकल्प नरहेको स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले जस्तोसुकै परिस्थितिमा पनि निरास नभई अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
“एमसीसी सम्झौता देशघाती छ । यो एक सैन्य मोर्चा भएको जानेर बुझेर नै नेमकिपाले एमसीसीको विरोधमा जनतालाई सचेत पार्दै आएको हो”, उहाँले स्पष्ट पार्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “गलत कार्यको विरोध गर्ने संस्कारको विकास नभएसम्म हाम्रो देश सुध्रिन्न† हाम्रो परिवार राम्रो हुन्न । सत्य र न्यायको पक्षमा बोल्न नसके आफ्नै आँखा अगाडि आफ्नै सन्तानको हत्या र बलात्कार हुने खतरा छ । देश जोगाउन, भविष्य राम्रो बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्छ । देशप्रति माया नभएको तर आफ्नो ज्यानप्रति माया भएको मान्छे दासजस्तै बाँच्नुपर्ने हुन्छ । त्यसैले हामी राजनीतिकरूपमा सचेत र सङ्गठित हुनुपर्छ ।”
निर्वाचनको बेला दुईतिहाइ जनसङ्ख्या सडकमा आउने भएकोले निर्वाचनको बेला जनतालाई राजनीतिकरूपमा सचेत गर्ने अवसर मिल्ने भएकोले नेमकिपाले निर्वाचनलाई उपयोग गर्दै आइरहेको स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “निर्वाचन जनताको चेतनास्तर नाप्ने ‘ब्यारोमिटर’ हो । क्रान्तिलाई रोक्न नै क्रान्तिविरोधी तत्वहरू निर्वाचनमा नेमकिपाविरूद्ध एकत्रित हुने गर्छ ।”
समाजलाई बुद्धिजीवीकरण गर्ने लक्ष्य लिई नेमकिपा अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले समाज परिवर्तनको लागि देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने सोच भएका योग्य मानिस राजनीतिमा आउनुपर्ने धारणा राख्नुभयो ।
हामीले समस्या समाधान गर्न सकेनौँ भने नयाँ पुस्ताले झन् दुःख पाउने हुँदा उज्ज्वल भविष्यको लागि लड्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सरकारले गरेका जनविरोधी र देशघाती कदमको नेमकिपाले विरोध गरी जनतालाई सचेत गरिरहेको स्पष्ट पार्दै अध्यक्ष रोहितले देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने दायित्वबाट नेमकिपा कहिल्यै पछि नहट्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले नयाँ पुस्तालाई साम्राज्यवादविरोधी भावनाबाट शिक्षित गर्नुका साथै देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने शिक्षा दिनुपर्छ । प्राध्यापकहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय घट्नाहरूबारे नियमित छलफल र विश्लेषण गर्ने कार्यक्रम राख्नुपर्छ ।”
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्राध्यापन इज्जत, प्रतिष्ठा र सेवाको पेसा भएकोले मेहनत गर्नुपर्ने बताउनुभयो ।
विद्यार्थीहरू असफल भएमा त्यसको दोष प्राध्यापकहरूमा पनि जाने भएकोले यसतर्फ सचेत हुनुपर्छ, उहाँले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीको दृष्टिकोण, जनप्रतिनिधिहरूको मेहनत र शिक्षक तथा कर्मचारीहरूको मेहनतको कारण भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेज तथा विद्यालयहरूमा विद्यार्थीको आकर्षण बढ्दै गएको धारणा राख्दै प्रमुख प्रजापतिले कम शुल्कमा गुणस्तरीय शिक्षा दिने उद्देश्य ‘ख्वप सर्कल’ का कलेजहरूको रहेको बताउनुभयो ।
कुनै पनि सर्तमा नाफा खोज्ने निजी कम्पनीसँग हातेमालो गर्ने प्रधानमन्त्रीको विचार गलत रहेको धारणा प्रमुख प्रजापतिले व्यक्त गर्नुभयो ।
“भारतीय विस्तारवादको हेपाहा प्रवृत्ति नेपालीको लागि असह्य छ । भारत नेपाललाई आफ्नो प्रान्तको रूपमा हेर्ने दुस्साहस गर्छ । नेपालप्रति भारतको हेपाहा प्रवृत्ति बढ्नुमा शासक पार्टीहरू जिम्मेवार छन्”, उहाँले भन्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “हामी स्वाभिमानीपूर्वक बाचाँै† परिश्रमी होऔँ† निडर होऔँ ।”
नेमकिपाको सिद्धान्तअनुसार व्यवहार गर्न मेहनत गरिरहेको स्पष्ट पार्दै प्रमुख प्रजापतिले जनताको सेवामा समर्पित विद्यार्थी तयार गर्न सक्यौँ भने हामी सफल भएको ठहर्ने धारणा राख्नुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले सम्पदा र संंस्कृतिमा धनी भक्तपुर नगरलाई सांस्कृतिकरूपमा जीवन्त पार्ने गतिविधि बढाउन नगरपालिका लागिपरेको बताउनुभयो ।
असल शिक्षाले मात्र मानिसलाई सुसंस्कृत पार्न सकिने भएकोले नेमकिपाको निर्वाचन घोषणापत्रअनुसार भनपाले कलेजहरू सञ्चालन गरिरहेको र ख्वप विश्वविद्यालय पनि नगरपालिका नै सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ. सुजन माकले सक्षम स्थानीय निकायलाई कलेजहरू सञ्चालन गर्ने अनुमति दिई सर्वसाधारण जनताका छोराछोरीलाई कम शुल्कमा गुणस्तरीय उच्च शिक्षाको पहुँच पु¥याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले स्वास्थ्य सचेतना अपनाई खानपान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
डेङ्गु रोगको प्रकोप बढिरहेकोले सचेत हुन डा. लासिवाले आग्रह गर्नुभयो ।
कार्यक्रममा ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र ख्वप कलेजका प्राचार्य रूपक जोशीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सहायक इन्चार्ज गोकर्ण दुलालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *