भर्खरै :

गतिलो ऐन र नीति निर्माणको लागि संसद्लाई उपयोग गर्ने पक्षमा नेमकिपा

गतिलो ऐन र नीति निर्माणको लागि संसद्लाई उपयोग गर्ने पक्षमा नेमकिपा

भक्तपुर, १८ कार्तिक । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर निर्वाचन परिचालन समितिको आयोजनामा शुक्रबार सूर्यमढीमा चुनावी जनसभाको आयोजना गरियो ।
पार्टी सचिव एवं भक्तपुर क्षेत्र नं. १ को प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवालले संसद् ऐन कानुन, नीति निर्माण गर्ने स्थान भएको हुँदा त्यहाँ गोरेटो, घोडेटो, पुल पुलेसाजस्ता विकास निर्माणका कुरामा जोड दिने ठाउँ नभएको प्रस्ट पार्नुभयो ।
गतिलो एउटा ऐन र नीति निर्माण भए त्यसले कुनै क्षेत्र विशेषको मात्र नभई सिङ्गो देशलाई नै सकारात्मक प्रभाव पर्ने हुँदा नेमकिपाले त्यसैलाई विशेष जोड दिँदै आएको उल्लेख गर्दै उहाँले संसद्बाट शिक्षा निःशुल्क गर्ने नीति पास गरेको भए जनताले शिक्षाको लागि पैसा तिर्न नपर्ने हुन्थ्यो तर शासक दलहरू जनतालाई उच्च शिक्षा दिने पक्षमा नरहेको प्रस्ट हुन्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारले शिक्षालाई महत्व दिएको भए विद्यार्थी ड्रपआउटको सङ्ख्या धेरै हुने थिएन । कक्षा १ मा १३ लाख भएका विद्यार्थी कक्षा १० मा पुग्दा ५ लाख पनि नपुग्नुको अर्थ जनताका छोराछोरीले पढोस् नपढोस् मतलब नराखेको प्रस्ट हुन्छ ।”
देश भ्रष्टाचारको दलदलमा पर्नुका कारण शासक दलहरू नै जिम्मेवार भएको उल्लेख गर्दै उहाँले देशको युवा जनशक्ति वैदेशिक रोजगारीको नाममा विदेश पठाउँदा देशको उर्वर भूमि उजाद भएको र खाद्यान्नलगायत सागसब्जीसमेत विदेशबाट आयात गर्नु परिरहेको बताउनुभयो ।
जनसभामा भक्तपुर क्षेत्र नं. १ प्रदेशसभा ‘ख’ का उम्मेदवार सुरेन्द्रराज गोसाईले देशको शिक्षा र स्वास्थ्य भताभुङ्ग पार्ने काम शासक दलहरूबाट भएको बताउँदै देशमै शिक्षा–स्वास्थ्य राम्रो बनाइएको भए पढ्नको लागि नेपाली विद्यार्थीहरू विदेशिने थिएनन् भन्नुभयो ।
उहाँले स्वास्थ्य क्षेत्रमा कोरोना कालमा न्यूनतम आवश्यकता पनि सरकारले पूरा गर्न नसक्दा १२ हजार नेपालीको अकालमा मृत्युवरण गर्नुप¥यो भन्नुभयो ।
जनसभामा पार्टी नगर निर्वाचन परिचालन समितिका संयोजक लक्ष्मीभक्त लासिवाले देशभक्त इमानदार जनताले मादलमा मत दिने विश्वास व्यक्त गर्नुभयो । वडा पार्टी इन्चार्ज कृष्णभक्त लवजूले मत आन्दोलनबाट प्राप्त महत्वपूर्ण अधिकार भएकोले भोजभतेर र पैसामा बेच्नु हुँदैन भन्नुभयो ।
वडा निर्वाचन परिचालन समितिका संयोजक ज्ञानसागर प्रजापति, सदस्य रामेश्वरी कोजू र लक्ष्मीप्रसाद कुसीलगायतले बोल्नुभएको उक्त सभा पार्टी सूर्यमढी एकाइ समितिका इन्चार्ज दिलभक्त कोजूको सभापतित्वमा भएको थियो ।
कार्यक्रमको बिच बिचमा सांस्कृतिक कलाकारहरूले चुनावी गीत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *