भर्खरै :

अस्थायी मतदाताको अन्तिम सूची प्रकाशन हुँदै

काठमाडौँ, १८ कार्तिक (रासस) । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको अन्तिम सूची चाँडै प्रकाशन हुने भएको छ ।
निर्वाचन आयोगले आफ्नो निर्वाचन क्षेत्रमा जान नपाउने तथा निर्वाचनमा खटिएका सरकारी कर्मचारी, वृद्धाश्रममा रहेका नागरिक, कैदीबन्दी र सुरक्षाकर्मीका लागि समानुपातिक प्रणालीतर्फ मतदान गर्ने अवसरको लागि अस्थायी मतदाताको व्यवस्था गरेको हो । सो प्रयोजनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले नामावली सङ्कलन गरी आयोगको प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिनुभयो ।
अस्थायी मतदाता सूचीमा समावेश हुन सम्बन्धित व्यक्तिको नाम मतदाता सूचीमा रहेको हुनुपर्ने भएकाले सङ्कलन भएका नामावलीको प्रमाणीकरण भइरहेको छ । हालसम्म एक लाख एक सय ५२ मतदाता अस्थायी नामावलीका लागि प्रमाणीकरण भएका छन् ।
निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगले प्रत्येक मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि चार करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी करिब आठ करोड मतपत्र छपाइ गरेको छ । यस निर्वाचनको लागि मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगी कायम हुने मतदाताको सङ्ख््या एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० रहेको छ ।
आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतपत्र ढुवानी सम्पन्न गरिसकेको छ । हाल पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतका मतपत्र प्रत्येक निर्वाचन क्षेत्रका लागि धमाधम मतपत्र ढुवानी गरिरहेको छ । यसअन्तर्गत शुक्रबार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीको मतपत्र ढुवानी गरिएको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मतपत्र यसअघि नै ढुवानी भइसकेको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *