भर्खरै :

सरल कथाका गम्भीर आशय

सरल कथाका गम्भीर आशय

१२ कार्तिक २०७९ को ‘मजदुर’ दैनिकमा प्रकाशित ‘राजनैतिक चौकीका चार पहरेदार’ शीर्षकको कथाबारे साहित्यमा चासो राख्ने पाठकहरूमा जिज्ञासा हुनु स्वाभाविक हो । सजिलोको निम्ति समाजमा प्रचलित रामायणका पात्रहरू नाम राखेकोले यसले फरक ढङ्गको खुल्दुली जगाइदियो ।
कथामा भूमिगत राजनैतिक दलका गतिविधिबारे केही सूक्ष्म प्रकाश छर्ने कोशिश गरिएको अनुभव हुन्छ । एक, राजनैतिक कक्षा सञ्चालन, दुई, सामूहिक जीवन र श्रम विभाजन, तेस्रो समाजमा आमूल परिवर्तनको निम्ति समर्पण तथा चौथो, कर्तव्यपरायण एवम् पुँजीवादी व्यवस्थाप्रति घृणा, आफ्नो बल–बुद्धि र जीवन उद्देश्यप्रति असीम प्रतिबद्धता ¤
सन् १८४७–४८ को माक्र्स–एङ्गेल्सको नेतृत्वमा भएको विश्व कम्युनिस्ट आन्दोलनको ‘कम्युनिस्ट घोषणापत्र’ मै अध्ययन, तालिम र कामदार वर्गको सांस्कृतिक उत्थानबारे सङ्केत गरिएको अनुभव हुन्छ । सोभियत कम्युनिस्ट पार्टी (बोल्शेविक) को बारम्बार भइरहने बैठक र सम्मेलन सैद्धान्तिक कक्षा सञ्चालनजस्तै थिए । त्यसमाथि सञ्चालित र प्रकाशित भूमिगत एवम् खुला पत्रपत्रिका पनि एक प्रकारको सर्वहारावादी राजनैतिक विश्वविद्यालयको पाठजस्तै थियो ।
चिनियाँ क्रान्तिको सुरुमा पनि क्यान्टनको ‘किसान कलेज’ जस्तै स्तरीय शिक्षालयहरू सञ्चालित थिए । सोभियत सङ्घको स्थापनापछि ‘पूर्वी एसियाली देशहरूको निम्ति सुरु भएको राजनैतिक विश्वविद्यालय’ स्थापित थियो । त्यस्ता अनेक शिक्षालय र सैन्य कक्षाहरू चालु थिए । अन्य देशका कम्युनिस्ट पार्टीहरूको पनि अनेक ‘कम्युन’, ‘विद्यालय’, ‘पाठ्यक्रम’ पाठ्यसामग्रीहरू पनि प्रचलित थियो । विज्ञान, दर्शन, राजनैतिक अर्थशास्त्र र मजदुर–किसान, ऐन–कानुन, साहित्य–संस्कृति एवम् अनेक वाद र विचारको इतिहास एवम् वैज्ञानिक समाजवाद र साम्यवादी समाजबारे पनि चिन्तनमननका विषयहरू सामेल थिए ।
नेपालजस्तो भर्खर पुँजीवादको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा परेको खैलाबैला र पुँजीवादी विश्वविद्यालयबाट वितरण गरिएका प्रमाणपत्रहरू स्नातक, स्नातकोत्तर र विद्यावारिधि गरेका विद्वान एवम् विश्लेषक भनी चर्चा पाएका प्राध्यापकहरूसमेत आफूलाई पुँजीवादी व्यवस्थाको अनिवार्यता र साम्यवादलाई टाढाको विषय एवम् ‘स्वप्न लोक’ को रूपमा स्वीकारेर वर्तमान अवस्थाका ‘शुभ–लाभ’ मै आत्म–समर्पण गर्दै गरेको स्थिति छ ।
‘चौकीको… पहरेदार’ को अर्थ आफ्नो सिद्धान्तप्रतिको निष्ठा, आफ्नो पेशाप्रतिको निष्ठा, समाजकै निम्ति समपर्णको भावना हो । तर, अहिले छिटछिटो आफ्नो आर्थिक लाभको निम्ति शेयर बजारको लगानी र निर्वाचनमै उम्मेदवारी प्राप्त गरी राजनैतिक पद धारण गरेर कम समयमै व्यापार र व्यवसायले भन्दा करोडपति र अरबपति बन्नको निम्ति ‘सिद्धान्त र आर्थिक साझेदारीमा पनि’ विश्वासघात गर्नेहरूको सङ्ख्या बढ्दै छ । बैङ्क घोटाला, सहकारी संस्थामा भइरहेको भ्रष्टाचार र अनियमितता, सिंहदरबारका कर्मचारीहरूको देश र जनताप्रतिको बेइमानी आदि २०–३० वर्षमा सुरु भएको हो ।
पश्चिमी देशहरूको सहयोग र गैर–सरकारी संस्थाका कर्मचारीहरूले पाउने गरेका ‘डलर’ अनुसारका तलब र डलरको भाउ वृद्धि एवम् अनेक प्रकारका विदेशीहरूबाट पाउने सहुलियतहरूले सरकारका साधारण कर्मचारीहरूको मनलाई विचलित पारे । पार्टीका कार्यकर्ताहरूसमेत आफ्नो पदबाट राजिनामा दिँदै बढी पैसा आउने देशी वा विदेशीको विश्वविद्यालय र संस्थाहरूमा पुगे । तिनीहरूले आफ्नो कर्तव्य बिर्से, सिद्धान्तप्रति विश्वासघात गरे तथा विदेशी विश्वविद्यालयदेखि म्यानपावर कम्पनीमा सामेल भए । विद्यावारिधि गरेका ‘बुद्धिजीवीहरू’ समेत पदाधिकारीहरूलाई उपहारको नाममा घुस दिँदै पदमा बहाल भए ।
विश्वविद्यालयहरू नै फोहरको डङ्गुर भइरहेको स्थितिमा राजनैतिक चौकीका चार पहरेदारहरू धेरै शुद्ध र कञ्चन, कर्तव्यनिष्ठ र इमानदार छन् भन्ने चित्र उतार्न खोजिएको छ । त्यसमा कथाकार सफल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *