भर्खरै :

निधिको कुतर्क

आइतबार राजधानीमा आयोजित सञ्चारकर्मी भेटघाटमा नेपाली काङ्ग्रेसका कार्यबाहक सभापति विमलेन्द्र निधिले एमाले नेता माधव नेपालको प्रजग कोरिया भ्रमण ‘कुटनीतिक मर्यादा विपरीत’ भएको भन्दै आपत्ति जनाए । उनको भनाई थियो, ‘संयुक्त राष्ट्र सङ्घले नाकाबन्दी लगाएको अवस्थामा त्यसकै सदस्य राष्ट्रका पूर्वप्रधानमन्त्रीले भ्रमण गर्नु आपत्तिजनक छ ।’(कान्तिपुर दैनिक, १२ भदौ) भारत भ्रमणका क्रममा प्रम शेरबहादुर देउवाको प्रस्तुतिप्रति आपत्ति जनाउँदै एमाले अध्यक्ष ओली र कार्यबाहक अध्यक्ष वामदेव गौतमले दिएको अभिव्यक्तिको प्रतिउत्तर दिन आयोजित पत्रकार भेटघाटमा निधिले त्यसो भनेका हुन् ।

नेपालसँग कुनै कुटनीतिक सम्बन्ध नभएका देशहरू लिविया, अफगानिस्तान, इराक र सिरिया जस्ता देशहरूमा नेपाली युवा–युवती ज्यान हत्केलामा राखेर श्रम गरिरहेका छन् । त्यसमा कुटनीतिक मर्यादा नदेख्नु अनि नेपालसँग कुटनीतिक सम्बन्ध जोडिएको देशमा कोही नेपाली नागरिक जानु कसरी कुटनीतिक मर्यादा विपरीत हुनसक्छ ?

आफ्नो सभापपतिको भारत भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षले गरेको विरोधको रिस फेर्न निधिले प्रजग कोरियालाई जोडेका छन् । कसैले आफूलाई विरोध गरेको झोंकमा बेप्रसङ्गको कुरा गर्नुलाई कुतर्क गरेको भनिन्छ । निधिले पनि प्रतिपक्षको विरोधलाई कुतर्कले जवाफ दिएका छन् । साँच्चै नेपालको कोही नागरिक वा सरकारी प्रतिनिधि प्रजग कोरिया जानु कुटनीतिक मर्यादा विपरीत हो त?
प्रजग कोरियाली राजदुतावास काठमाण्डौमा छ । प्रजग कोरिया र नेपालबीच पुरानो कुटनीतिक सम्बन्ध स्थापित छ । त्यसकारण कोही पनि नेपाली नागरिक प्रजग कोरियाको ऐनकानुन र बन्दोबस्तअनुसार त्यहाँ जान–आउन पाउँछन् । सरकारी स्तरमै कुटनीतिक सम्बन्ध स्थापित भएको अवस्थामा नेपालको सरकारी प्रतिनिधि पनि प्रजग कोरियामा जान सक्छन् । आउने–जाने काम भइरहेको पनि छ । प्रजग कोरियाका सयौं नागरिक नेपालमा विभिन्न रोजगारी गरिरहेका पनि छन् । साथै प्रजग कोरिया पनि संरा सङ्घको सदस्य देश पनि हो । त्यस परिस्थितिमा नेपालको पूर्वप्रधानमन्त्री त के, पदासीन पदाधिकारी पनि प्रजग कोरिया जान आउनमा कुनै समस्या होइन ।
नेपालसँग कुनै कुटनीतिक सम्बन्ध नभएका देशहरू लिविया, अफगानिस्तान, इराक र सिरिया जस्ता देशहरूमा नेपाली युवा–युवती ज्यान हत्केलामा राखेर श्रम गरिरहेका छन् । त्यसमा कुटनीतिक मर्यादा नदेख्नु अनि नेपालसँग कुटनीतिक सम्बन्ध जोडिएको देशमा कोही नेपाली नागरिक जानु कसरी कुटनीतिक मर्यादा विपरीत हुनसक्छ ?
प्रजग कोरियामाथि संरा सङ्घको नाकाबन्दी नयाँ होइन । विगत लामो समयदेखि राष्ट्र सङ्घ मात्र होइन बरू संरा अमेरिकालगायतका साम्राज्यवादी देशहरूले पनि प्रजग कोरियामाथि नाकाबन्दी थोपरेको छ । तथापि धेरै पटक संरा अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर, अमेरिकी बास्केटबल खेलाडी डनिस रोडम्यानलगायतका अमेरिकी नागरिक र पत्रकार प्योङयाङ पुगेका छन् । प्रजग कोरियामा पुगेर त्यहाँको ऐन–कानुनको अपमान गर्नेलाई प्योङयाङ सरकारले कार्यबाही पनि गरेको छ । साथै प्रजग कोरिया र कोरियाली जनताप्रति सम्मान गर्ने व्यक्तिलाई प्रजग कोरियाली सरकारले सम्मान गरेको पनि छ । संसारका धेरै देशका नागरिक दैनिक रूपमा त्यहाँ जानेआउने गरेका छन् । के कार्टर, रोडम्यानलगायत संसारका सबै राजनीतिक, साँस्कृतिक, कुटनीतिक प्रतिनिधि र कम्युनिष्ट पार्टी तथा प्रगतिशील पार्टीका नेता त्यहाँ जानु कुटनीतिक मर्यादा विपरीत हो ?
माधव नेपाल वा अरू जो कोही नेपाली नागरिक वा सरकारी प्रतिनिधि प्रजग कोरिया जानु कुटनीतिक मर्यादा विपरीत कदापि होइन । यो निधिले रिस फेर्न गरेको कुतर्क र वामपन्थी खेमाप्रतिको पूर्वाग्रह मात्र हो । राजनीतिमा सबभन्दा खतरनाक हुन्छ–कुतर्क गर्नु । कुतर्क गरेर आफ्नो गलत कुरालाई सही प्रमाणित गर्नु फोहोरी राजनीति हो । उपप्रधानमन्त्री बनिसकेका निधिले आज त्यही गरेका छन् । रिस उठ्दैमा नभएको कुरा गर्नु निधिको राजनीतिक कुतर्कमात्र हो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *