भर्खरै :

भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको एक सय दिन

भक्तपुर, १२ भदौ । भक्तपुर नगरपालिकामा जनप्रतिनिधिले काम गरेको एक सय दिन पुगेको अवसरमा सोमबार एक समारोह भयो । नगरका विभिन्न क्षेत्रका व्यक्तिको बाक्लो उपस्थितिबीच आयोजित कार्यक्रमबीच जनप्रतिनिधिहरुले आफ्नो एक सय दिनको कार्य र उपलब्धिको चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले नेपालप्रति हेर्ने भारतको दृष्टिकोण शत्रुवत् भएको बताउनुभएको छ ।
भक्तपुर नगरपालिकाले सोमबार आयोजना गरेको ‘जनप्रतिनिधिहरूको सय दिन’ कार्यक्रममा अतिथि रोहितले नेपालमा भइरहेको भारतीय शासक र भारतीय राजदूतावासको दबाब देशको लागि चिन्ताको विषय हुँदा समयमै नेपाली जनता सचेत हुनुपर्छ भन्नुभयो ।  सरकारी मुद्दा हराउनेहरूलाई न्यायाधीश बनाउँदा न्याय नपाउने उल्लेख गर्दै उहाँले गलत नीति र कार्यको आलोचना सरकारको निम्ति अपाच्य भएको विचार व्यक्त गर्नुभयो ।  भारतका लागि नेपाली राजदूतले  कनै धर्मको दर्शन छाँटेर एक प्राध्यापकको भूमिका निर्वाह गर्ने नभई देशको हितमा कूटनीतिक भूमिका खेल्नुपर्नेमा सो नभएको अध्यक्ष रोहितले बताउनुभयो ।
जनप्रतिनिधि र कर्मचारीहरूले निःस्वार्थ र इमानदारीपूर्वक देश र जनताकोसेवामात्र होइन पदीय दायित्व पूरागर्न योग्य, सक्षम हुनुपर्छ –उहाँले भन्नुभयो ।  अध्यक्ष रोहितले विदेशी शक्ति राष्ट्रको अगाडि आफ्नो देशको हितबारे बोल्न नसक्ने प्रधानमन्त्रीहरू योग्य नहुने उल्लेख गर्दै ठूला राष्ट्र र राष्ट्र प्रमुख समक्ष झुक्ने या आत्मसमर्पण गर्नु देशकै निम्ति दुर्भाग्य रहेको बताउनुभयो ।  अध्यक्ष रोहितले भन्नुभयो – सरकार संसदप्रति उत्तरदायी हुन्छ, संसदले अस्वीकृत गरेको संविधान फेरि उल्टाउने कुरा प्रमले गर्नुहुँदैनथ्यो, नेपालको संविधानबारे भारतीय प्रम मोदीले टिप्पणी गर्नु हुँदैनथ्यो ।
उहाँले स–साना सडकमा १०-१२ पाङ्गा भएको गाडी चलाउँदा घर चर्कने, पानीको पाइप फुट्ने हुँदा त्यस्तो गाडी जहाँतही गुड्न नदिने र विद्यार्थीहरूको सुरक्षाको निम्ति गाडीकोगति कम गर्नेसम्बन्धी सूचनाको बोर्ड राख्नुपर्ने, जनस्वास्थ्य केन्द्रमा बिरामीहरूको चाप बढेको हुँदा सोहीअनुसार बस्ने र थकाइ मार्ने ठाउँको व्यवस्था गर्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।  संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले सांस्कृतिक नगर घोषणा भए यहाँका पुरातात्वि महत्वका सम्पदाहरू संरक्षण गर्न थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै सम्पदा र सम्पदा संरक्षणबारे संस्कृतिविद्, अनुसन्धानकर्ताहरूलाई देखाएर प्रचार गर्न सके राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा पुग्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेलले जनताको अपेक्षा र आवश्यकता पूरा गर्न जनताले घच्घच्याउनु पर्नेमा जोड दिंदै सुन्दर, शान्त र उदाहरणीय नपा बनाउन लागि परेको भनपालाई सबैले साथ र सहयोग गर्नुपर्ने बताउनुभयो ।  भक्तपुर भनेपछि भपना सम्झिने हुँदा यस ऐतिहासिक र पुरातात्विक तथा सम्पदा स्थल भनपाले गरेको काम र व्यवस्थापन अरू नपाको लागि अनुकरणीय हुने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
इतिहासविद् प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठले नगरवासीकोमन र भावना बुझेर काम गरे जनप्रतिनिधिहरू सफल हुने विचार व्यक्त गर्दै सयदिनको उपलब्धि र कार्यनीतिबारे जानकारी दिने काम प्रशंसनीय छ भन्नुभयो ।  गुठी जग्गाको नाससँग सम्पदा पनि नास भइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले सांस्कृतिक पुनर्जागरणको नेतृत्व भनपाले गरिरहेको छ भन्नुभयो ।
मानव अङ्ग प्रत्यारोपण केन्द्रका प्रमुख पुकारचन्द्र श्रेष्ठले प्रत्येक घर घरमा स्वास्थ्य सेवा पु¥याउने नपाको काम देशकै उदाहरणीय काम भएको चर्चा गर्दै त्यसलाई देशव्यापी फैलाउनेतर्फ आफूले पनि सहयोग गर्ने बताउनुभयो ।  केन्द्रले देश र देश बाहिरका मृगौला रोजीहरूको सेवा गरिरहेको औंल्याउँदै उहाँले ऐन पास भएको तीस दिनमै कलेजो प्रत्यारोपण गरेको र अहिले मुटु र फोक्सोको प्रत्यारोपण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
भनपाका प्रमुख एवं कार्यक्रमका सभापति सुनिल प्रजापतिले एकसय दिनमा भए गरेका गतिविधिहरूको जानकारी दिंदै भक्तपुर नगरलाई सफा, सुन्दर बनाई पर्यटकहरूको गन्तव्यस्थल, ज्ञान विज्ञानको केन्द्र र नेपालकै उदाहरणीय नगरको रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।  कार्यक्रममा उपप्रमुख रजनी जोशीले स्वागत मन्तव्य, भनपाका कार्यकारी अधिकृत रोहितराज पोखरेलले धन्यवाद मन्तव्य दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *