भर्खरै :

नेपालीको घर आँगनमा सस्तोमा बिजुली पु¥याएर ग्यास विस्थापन गर्नुपर्ने

नेपालीको घर आँगनमा सस्तोमा बिजुली पु¥याएर ग्यास विस्थापन गर्नुपर्ने

भक्तपुर, २९ कार्तिक । नेपाल मजदुर किसान पार्टीले चुनावी प्रचार अभियानलाई तीव्र पारेको छ । यसैबिच दुवाकोटको बुद्धचोकमा पनि मङ्गलबार चुनावी सभा भयो ।
उक्त सभामा नेमकिपाका सचिव एवम् भक्तपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेम सुवालले निर्वाचन घोषणापत्रको लडाइँ भन्नुभएको छ ।
नेमकिपाले माध्यमिक तहसम्म निःशुल्क र अनिवार्य तथा उच्च शिक्षा निःशुल्क गर्नुपर्नेमा जोड दिँदै आएको उल्लेख गर्दै उहाँले ३३ वर्षसम्म पालैपालो सरकार चलाउनेहरूले देशलाई परनिर्भर बनाइरहेको बताउनुभयो ।
शासक दलहरूले देशको नदीनाला विदेशीलाई सुम्पिँदै गइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले नेपालीको घर आँगनमा सस्तोमा बिजुली पु¥याएर ग्याँस प्रतिस्थापन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
मानव अधिकारको गम्भीर उल्लङ्घन गर्ने र भ्रष्टाचार गरेर देश खोक्रो बनाउनेहरूलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले एमाले र माओवादी रातो झन्डा खसाल्न रातो झन्डा उठाउने हरियो घाँसभित्र लुकेका सर्प हुन् भन्नुभयो ।
विदेशी पुँजीले स्वदेशी उद्योगी–व्यापारीलाई मर्का पर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “अमेरिकाको वर्तमान र भविष्यको कानुन र नीति उल्लङ्घन गर्न नहुने एमसीसी सम्झौता नेपालको निम्ति विषसरह हुन्छ । यो सम्झौता पारित गर्ने शासक दलका उम्मेदवारहरूलाई निर्वाचनमा हराउनुपर्छ ।”
सन् १९५० को सन्धि नेपाललाई भारतको सुरक्षा छाताभित्र राख्ने भएकोले सो सम्झौता खारेज गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सन् १८१६ को सुगौली सन्धिपछि भएको गोर्खा भर्तीलाई अमेरिकी राजदूतले संयुक्त राष्ट्र सङ्घको बैठकमा ‘भाडाको सिपाही’ भनेर अवहेलना गरेको कारण गोर्खा भर्ती केन्द्र खारेज हुनुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “जन्मको आधारमा नेपाली नागरिकता लिएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिनु हुन्न ।”
भक्तपुर क्षेत्र नं. १ का प्रदेशसभा उम्मेदवार मिनबहादुर बाटाले नेपालको प्राकृतिक स्रोत–साधन विदेशीलाई सुम्पने शासक दलका उम्मेदवारहरूलाई निर्वाचनमा परास्त गर्नुपर्छ भन्नुभयो ।
उहाँले नेका, माओवादी, एमाले–राप्रपाको असैद्धान्तिक गठबन्धनले देशघात गर्ने भएकोले त्यसविरुद्ध नेपाली जनता एकजुट हुनुपर्छ भन्नुभयो ।
ज्ञानकृष्ण अवालको सभापतित्वमा भएको सो सभामा श्यामकृष्ण अवालले पनि बोल्नुभएको थियो ।
यसैबिच नेपाल मजदुर किसान पार्टीका सचिव एवम् भक्तपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले चाँगुनारायण नगरपालिका वडा नं. ४ खोरियामा घरदैलो कार्यक्रममा मतदातासँग भेटघाट तथा कुराकानी गर्दै पार्टीको घोषणापत्रअनुसार काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पैसा र भोजभतेरको लोभलालचमा परेर शासक दलका नेताहरूलाई मत दिन नहुने विचार व्यक्त गर्दै उहाँले निर्वाचनलाई नेमकिपाले खुला विश्वविद्यालयको रूपमा लिँदै जनतालाई देशको राजनीतिक अवस्था र सरकारले गरेका विकृतिहरूको विषयमा जनतालाई सचेत पार्दै आइरहेको बताउनुभयो । उहाँले निर्वाचनमा लोभलालच र आश्वासन दिने दलका उम्मेदवारलाई होइन, देशभक्त पार्टीलाई मत दिन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *