तिहार
- कार्तिक १४, २०८३
हिजो फेरि सपनीमा आउनुभो नि राजै
प्रतिक्षामा कुर्नुपर्यो वर्षौँ, देख्न हजुरलाई राजै
बल्ल बल्ल सपनीमा आउनुभो नि राजै
उहीँ रवाफिलो शान
उहीँ ठाँट र मान
थिए मनमा शंशय कति
आक्रोशको ज्वाला कति
पाल्न सकिन तिनलाई धेरै
देखेर त्यो मुस्कान
फर्काएर छड्के सलाम
कस्नुभयो मुट्ठी
तेर्साउँदै औँला, उसैगरी
भन्नुभयो यति–
“पहिलेजस्तो अब नमार है आशा
तिमी हामी एक अर्काको सहारा भरोसा”
हजुरको मिठो बोली सुनिरहूँ लाग्ने
हजुरलाई देख्दा भोक प्यास भाग्ने
दोहो¥याउनुभयो हजुरले पुराना कसम वाचा
कुराहरू ती नै थिए– फरक केहीँ ढाँचा
मिठो लाग्यो निन्द्रा हुँदा मिर्मिरे बिहानी
झसङ्ग पो भएछु नि – सम्झँदा बिपनी
अनि मैले पासपोर्ट सम्झेँ,
डीभी भर्न अन्तिम मिति सम्झेँ,
काठमाडौँ जान पोको पारेको
फाटेको त्यो झोला सम्झेँ
आमा सम्झेँ, बाबा सम्झेँ
घर जहान सन्तान सम्झेँ
चुहिएको घरको छाना सम्झेँ
मल नपाएर झोक्राएका बाली सम्झेँ
भोको पेटमा कसेको पटुकामा
२० रूपैयाँको नोट सम्झेँ
म्यानपावरको फोन नम्बर सम्झेँ
फ्रि भिसा फ्रि टिकट सम्झेँ
छोराको स्कूल सम्झेँ
त्यही स्कूलमा हजुरको भाषण सम्झेँ
सम्झिदै गएँ सजाउँदै गएँ – हरेक वाचा
हजुरको त्यही ठाँट, त्यही रवाफ सम्झेँ
हुन्छ यसपालि केही भनी
५ वर्ष अगाडिको आफ्नो विश्वास सम्झेँ
न्यासिँ्रदै खुम्चिँदै थिए आँखा गाला
फेरि हजुरको मिठो मुस्कान सम्झेँ
कति होला पीडा हजुरका मैले बुझ्न खोजेँ
समर्पण कति हजुरका–
त्यही भएर त फेरि फेरि रोजेँ
सुस्केरामा पखाल्दै पिडाहरू अझै…
खुसी छु यो कृपा हजुरको
हिजो जब सपनीमा आउनु भो नि राजै ।
Leave a Reply