भर्खरै :

तर्कजीसंग के तर्क छ ??

– आकाश
पछिल्लो समय नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तर्क बडुवाल एमालेमा प्रवेश गरेको कुराले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा प्राथमिकता पाइरहेका छन् । बडुवालको एमाले प्रवेशले भन्दा पनि नेमकिपाबाट एक कार्यकर्ता घटाउन सकेको खुसियालीमा अहिले एमालेका केही नेता कार्यकर्ताहरु वियर र भोड्का पार्टी गरिरहेका छन् । संगठनले जाँडरक्सी खान नदिएको झोकमा पार्टी परिवर्तन गरेका मान्छेको प्रवेशलाई लिएर उनीहरु जाँड पार्टी गरिरहेका छन् । यसर्थ यो खुसी नयाँ कार्यकर्ता प्रवेशको भन्दा पनि जँड्याहाहरुको हुलमा अर्को एकजना पार्टनर थपिएको खुसीको रुपमा जनताहरुले बुझिरहेका छन् ।
त्यसो त एमालेको निम्ति यो विषय नौलो होइन । नेकपा एमाले पार्टीले आफ्ना कार्यकर्ताहरुलाई सैद्धान्तिक रुपमा तयार गर्नेभन्दा पनि अरु पार्टीहरुबाट तयार भएका रेडिमेड कार्यकर्ता चोरेर पार्टी विकास गर्ने गरेको कुरा उसको विगत हेरेपछि घामजतिकै छर्लङ्ग हुन्छ । त्यसकारण एमाले पार्टीलाई भाई कांग्रेस घोषणा गरिएको कुरा तर्कजीलाई बुझाइरहन नपर्ला । नेपालको कम्युनिष्ट आन्दोलनलाई दबाउन रातोझण्डाकोविरुद्ध उठाइएको रातो झण्डा नै वास्तवमा नेकपा एमाले हो । एमाले कम्युनिष्ट पार्टी हो वा होइन भन्ने कुरा पटक पटक एमाले नेतृत्वको सरकारको नीति तथा कार्यक्रम हेरेर जनताले बुझिसकेका छन् । महाकाली सन्धिको समयमा पश्चिमबाट सूर्य उदाउने घोषणा गरेका केपी ओली आज पार्टीका अध्यक्ष छन् । सूर्य त उदाएन, बरु नेपालको मानचित्रबाट महाकाली हरायो । प्रतिगमन आधा सच्चिएको घोषणा गर्दै श्री ५ को तलुवा चाट्न जाने अनि मौसूफले लात हानिबक्सँदा माफि माग्दै आन्दोलनमा फर्कने पार्टी पनि एमाले नै हो । गैर सरकारी संस्थाहरुको डलर बाँड्दै भोट किन्ने पार्टीले बुढानिलकण्ठमा एमाले नेताकै घरबाट मतदाता नामावली संकलन गरिरहेको कुरा पनि अहिले बाहिर आइसकेको छ ।
एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको एक कार्यक्रममा विद्यार्थी कार्यकर्ताहरुले एंगेल्सलाई माक्र्सको श्रीमतिको रुपमा व्याख्या गरेको कुराले पनि अहिले सामाजिक सञ्जालहरुमा स्थान पाइरहेका छन् । गत बैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा मतदाताहरुलाई पैसाको लोभ देखाई मत किनेको कुरा बडुवालजी आफैले भन्दै हिँडेका थिए । एमालेभित्र माक्र्सवादको म पनि छैन, लेनिनवादको ल पनि छैन भनी खरो आलोचना गर्ने व्यक्ति बडुवालजी पनि हुन् । अनि हिजोसम्म प्रतिक्रियावादी, सामन्तीहरुको दल, गैरकम्युनिष्ट लाग्ने पार्टी आज एकाएक तर्कजीलाई देशको सबैभन्दा क्रान्तिकारी, देशभक्त पार्टी कसरी हुन पुग्यो ?  तर्कजीसंग यसविषयमा के तर्क छ ? जनता प्रश्न गरिरहेका छन् ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *