भर्खरै :

‘मेरो कथा नलेखिदिनू’ मा एक पाठकको टिप्पणी

‘मेरो कथा नलेखिदिनू’ मा एक पाठकको टिप्पणी

त्रिमूर्ति निकेतन र नइ प्रकाशनका एक संस्थापक तथा कथा, कविता, उपन्यास, जीवनमूलक निबन्ध, समीक्षा र सम्पादन कार्यमा समेत संलग्न तथा ५३ विविध विधाका लेखिका इन्दिरा प्रसाई साहित्यिक फाँटका एक चर्चित र चिनिएकै व्यक्तित्व हुन् । उनकै ‘मेरो कथा नलेखिदिनू’ शीर्षकका २०७४ साल (सन् २०१७) मा प्रकाशित कथासङ्ग्रहमा सङ्ग्रहित विज्ञान र प्रविधिको विकास सँगसँगै मानिसको जीवनमा ल्याउन सक्ने नयाँ आयामबारेमा लेखिएको एक चिन्तनमुखी साहित्यले नयाँ नयाँ पाठकहरूलाई पनि आश्चर्यमा पार्नेछ ।
केही दशकदेखि पश्चिमी मुलुकमा विज्ञान र प्रविधिमा व्यक्ति व्यक्तिको आन्तरिक जीवनमा पार्ने प्रभावबारे अनेक कथा, निबन्ध र जानकारीहरू प्राप्त भइरहेकै थियो । झन्डै ५०–६० वर्षअगाडि नै चिकित्सा शास्त्रमा देखिएको विकासपछि जसरी घडीका स–साना पुर्जाहरू समय–समयमा हेरफेर गरेजस्तै मानिसको आँखा, दाँत र अन्य शारीरिक अङ्गहरू फेरिने र मानिसको आयु लम्बिने जानकारीहरू सोभियत सङ्घका र पश्चिमी देशका पत्र–पत्रिकामा देखिन्थ्यो र पढिन्थ्यो ।
केही दिनअगाडि मात्रै चीनले कृतिम सूर्य प्रक्षेपण गर्ने योजनाबारे विभिन्न देशका वैज्ञानिकहरूको अध्ययन र प्रयोगको समाचार आएको थियो । केही वर्षअगाडि चीनले चालकविनाको वाहन (कार) को बारेमा तयारी र विवरणका समाचार पत्रहरूमा पढिएको थियो । त्यस्तै हात–खुट्टा भाँचिँदा कृतिम हात–खुट्टा र भित्री अङ्गहरू हेरफेर गरिरहेको नेपालका अस्पतालहरूमा समेत भइरहेकै छ । अब मानिसको निजी र यौन जीवनमा समेत अनेक आश्चर्यजनक घटनाहरू झेल्नुपर्नेबारे कथासङ्ग्रहले पाठकहरूलाई सचेत पारेको देखियो । यस कथासङ्ग्रह नयाँ पुस्तालाई विज्ञानले जस्तै साहित्यले पनि सेवा गर्नेछ ।
यस कथासङ्ग्रहमा ७ वटा कथाहरू सङ्ग्रहीत छन् । २०७४ सालमा ‘कलाश्री’ मा प्रकाशित पहिलो कथाको शीर्षक हो– ‘प्रेमदूत’ । यस कथाका एक पात्र ‘प्रेमदूत’ हो भने अर्की पात्र ‘धीरा’ हुन् । बढ्दै गएको पुँजीवादी समाजमा एकातिर नाफा–नोक्सान वा ‘शुभलाभ’ ले संसारलाई बाँधेको छ भने अर्काेतिर यान्त्रिक विकासले मानिस अझै अर्थात् मानव समाज नै यन्त्रबाट सञ्चालित हुँदै छ । कार्यालयमा झुन्डिएको घडी र घण्टीलाई मानिसले आविष्कार ग¥यो । तर, पछि पछि घडीको इसाराले मानिसलाई डो¥यायो र कार्यालयका कर्मचारीहरूलाई प्रमुखको घण्टीले तह लगायो ।
त्यस्तै ३०–४० वर्षअगाडि मात्रै नेपाली समाजमा प्रवेश पाएको कम्प्युटर र मोबाइलले एक एक गर्दै हरेक घरका केटाकेटी, लोग्ने–स्वास्नी र परिवारका सबै सदस्यहरूलाई आ–आफ्नै कोठा र मोबाइलमा बन्दी बनाए । लोग्ने र स्वास्नी समेत अर्कै स्त्री र पुरुषसँग कुरा गर्न व्यस्त हुँदा या गलत प्रवृत्तिले पारिवारिक सम्बन्ध नै भत्ताभुङ्ग हुन थाल्यो । आखिर महिला पात्र धीरा अर्कै पुरुष ‘प्रेमदूत’ सँग भेट्न पुगिन् र त्यो पात्र आजको भाषामा कम्प्युटरको ‘करामत’ देखियो ।
२०६० सालमै ‘गरिमा’ मा प्रकाशित दोस्रो कथा ‘नौ नम्बरकी’ शीर्षकका मुख्य पात्र हुन्– साठी नाघेका ‘साहेब’ वैज्ञानिक वा डाक्टर । उनी कृत्रिम मानिस उत्पादन गर्ने एक प्रयोगशालाका वैज्ञानिक हुन् । रामबहादुर (आर. बी.), जी.के., के.सी. र के.पी. भनिने बङ्गाली केटाहरू र चन्द्रावती (सी) र मधुमालती नामका कर्मचारी वा सहयोगीहरू काम गर्छन्– त्यस फर्मरूपी प्रयोगशालामा ।
काठमाडौँमा अहिले च्याउ, गाजर, स्ट्रवेरी, किबी, तरकारी र फलफुलको बारी स्याहारेजस्तै त्यस साहेबको प्रयोगशालामा विभिन्न अङ्गहरू बलिया भएका मानिसहरू हुर्काइन्छन् । आवश्यक परेको मृगौला, मुटु, आँखा र हात–खुट्टा बेचिन्छ र मानिसको वीर्य बैङ्कमार्फत पाएको वीर्यलाई इन्क्युभेटरमा कुखुराको चल्ला हुर्काए जस्तो हुर्काइन्छ र मागअनुसार अस्पतालको बजारमा पु¥याइन्छ । नेपाली वीर बहादुर कृत्रिम हुर्काएकी एक केटीलाई मन पराएको कथाले हाँसोका साथै भविष्यमा हुने सम्भावनाका एक पक्षलाई कल्पना गर्नु कथाकारको चिन्तनको विशेषता हो ।
तेस्रो कथाको शीर्षक हो– ‘बिहेअघिको रात’ । यो कथा २०६१ मा ‘नेपाल’ पत्रिकामा प्रकाशित भएको थियो ।
कथाको एक पात्र कामदेव बरोबर विदेश यात्रामा गइरहने एक युवा थिए भने हवाईजहाजका एक परिचारिका रति अर्की पात्र हुन् । बरोबर हुने फोनको कुराकानीपछि एक भेटमा रति विवाहको प्रस्ताव राख्छिन् । कामदेवले अचम्म र अनिर्णित भावनालाई लुकाएर एउटा प्रस्ताव अघि तेस्र्यायो, “मसँग वैवाहिक बन्धनमा बाँधिनुअघि नै तिमीले मसँग एक रात बिताउनुपर्छ । अर्थात्, तिमीले एक रात बिताएपछि मात्रै हाम्रो बिहेको टुङ्गो हुनेछ ।”
अनेक जिज्ञासा, डर र शङ्का हुँदाहुँदै कामदेवको व्यवहार र बोलीवचनले प्रभावित रतिले प्रस्ताव स्वीकार्छिन् र विदेशमा रात बिताउने निर्णय हुन्छ ।
विदेशको होटलको एक कोठामा प्रवेशपछि रतिले सुत्ने लुगा लाएर कामदेवलाई तयार हुन आग्रह गर्छिन् । कामदेवले आफ्नो दाँत झिकेर मगको पानी डुबाउन र एउटा आँखा झिकेर एउटा बट्टामा राख्न अ¥हाउँछ । पछि ओछ्यानमा पल्टेर उसले आफ्नो एउटा खुट्टा र देब्रे हात झिक्न मद्दत माग्छ ।
त्यसपछि रति आश्चर्यमा पर्दै आफू त्यस कोठामा रात बिताउन नसक्ने बताउँछिन् र कामदेवले होटलका कर्मचारीहरूलाई बोलाएर रतिकै नाममा बुक गरेको कोठाको साँचो दिन्छ ।
कथाको अन्तमा पुगेपछि पाठकलाई लाग्छ– यो कुनै विदेशी कथा हो कि भनी । नयाँ समाजमा पात्र र कथा पनि बेग्लै हुनु स्वाभाविक छ ।
सङ्ग्रहको चौथो कथाको शीर्षक हो– ‘श्री’ । २०७१ सालमा ‘युवामञ्च’ मा प्रकाशित कथाका पात्र हुन् । आमा, छोरी श्री र बुबा । ‘श्री’ रसायनशास्त्रकी अनुसन्धानकर्ता, बुबा जिल्ला जिल्ला जाने कुनै कर्मचारी । कथा खान हुने रसायन खाएको व्यक्ति जता गए पनि केही घण्टा कम्प्युटरमा देखिने र सिसि क्यामेराको काम दिने श्रीको अनुसन्धान हो ।
कथाकारको यो कल्पना रसायनशास्त्रले कसरी पूरा गर्ला हेर्नैपर्छ । तर, व्यक्तिको कोट र लुगामा राखेको ‘बग’ ले कुराकानीको आवाज र टेप गरेको २०—३० वर्षपहिले नै सुनिन्थ्यो । तर, झोल खाएको व्यक्तिको तस्बिर खिच्ने कार्य अहिलेसम्म व्यवहारमा देखिएको वा सुनिएको यस पाठकलाई थाहा छैन । त्यसो हुँदो हो त अपराधी पत्ता लगाउन सजिलो हुन्थ्यो र त्यस प्रविधिको आविष्कारले अपराध छिटो पत्ता लाग्नेमात्र होइन अपराधै कमी आउनेछ । तर, कथाकारले पुरुषको छाडापन र अहङ्कारवाद उदाङ्ग्याउनु पनि साहित्यकारको समाजप्रतिको उत्तरदायित्वबारे सचेतता अभिव्यक्त गर्नु सुन्दर पक्ष हो ।
कथाकारको पाँचौँ कथा २०४७ सालमै ‘विमोचन’ पत्रिकामा प्रकाशित कथा हो । कथाको शीर्षक हो– यन्त्रपोसाक । पुँजीवादी र साम्राज्यवादीहरू द्रव्यपिसाच भएकै कारण एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरू र जनतालाई हत्या–हिंसा र लुटपात गर्दै छन् । उनीहरु एउटै देशका आपसी लडन्त–भिडन्त गर्ने दाजुभाइ र जनतालाई हतियार बेच्दै शान्तिको नाममा युद्ध गराउँदै थिए अफगानिस्तान, इराक, सिरिया र लिवियामा । कथाका मूल पात्र वैज्ञानिक अङ्कुशले आविष्कार गरेको ‘यन्त्रपोसाक’ लाई पुँजीवादी देशहरूले कालाबजारी गरे, जसरी नेपाललाई मित्र देशले दिएको कोरोनाको खोपलाई सरकारकै भण्डारबाटै बढी मूल्यमा विदेशीलाई बेचेको हल्ला थियो । अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले जनतालाई सस्तोमा ‘खोप’ दिन अस्वीकार गरे । त्यसैकारण, अमेरिकामा नै सबभन्दा बढी मानिस मरे, अनि भारत र ब्राजिलमा मरे । त्यो त्यहाँकै सरकारहरूको ‘शुभलाभ’ कै कारण भएको हो ।
एलेना र वैज्ञानिक पतिको ‘सन्तान’ बर्लिन पर्खाल भत्किँदा जन्मेका मिलन र इराक युद्धमा जन्मेका छोरा ‘युद्ध’ को नाम दिएर इतिहासलाई सम्झाउने काम र अन्तर्राष्ट्रिय दृष्टिकोण कथाकारको राम्रो विचार हो । बर्लिन पर्खाल त भत्कायो सोभियत सङ्घले । जसको परिणाम रुस साम्राज्यवादीहरूको आक्रमणको तारो बन्दै छ । युद्ध नराम्रो हो तर न्यायपूर्ण र अन्यायपूर्ण युद्ध छुट्याउनुपर्छ । भियतनामी, इराकी र अमेरिकी जनताले आ–आफ्नो देश र जनताको मुक्तिको निम्ति लडेको युद्ध न्यायपूर्ण हो भने साम्राज्यवादीहरूले अरू देशमाथि गरेको हरेक युद्ध अन्यायपूर्ण हुन्छ । त्यसको जनताले विरोध गर्नैपर्छ । सोभियत सङ्घका खु्रश्चेभदेखि गोर्भाचोभहरूले पश्चिमी साम्राज्यवादीहरूको हाहामा लागेर आफ्नै देशको युक्रेनसमेत १३ वटा देशलाई मुक्तिको नाममा साम्राज्यवादीहरूको काखमा छोडे । त्यसैको परिणाम आज अमेरिकी साम्राज्यवाद र नाटो मिलेर रुसलाई चारैतिर घेर्दै छन् ।
क्रान्तिको बेला युद्धले नै युद्धलाई हराउनेछ । वर्तमान अवस्थामा पश्चिमी देशका जनताले विश्व शान्तिको निम्ति आ–आफ्नै सरकारहरूको हात बाँड्नु आवश्यक छ । प्राज्ञहरू, वैज्ञानिकहरू, बुद्धिजीवीहरू र सारा जनता मिलेर गरेको शान्ति आन्दोलनले नै साम्राज्यवादी आक्रमणको हातमा हतकडी लगाउनु आवश्यक छ ।
हिजो ‘यन्त्र मानव’ को हल्ला थियो जसलाई आज ‘रोबर्ट’ भनियो । त्यस्तै युद्धको बम वर्षा र आणविक युद्धबाट बच्न ‘यन्त्रपोसाक’ होइन विशाल शरणस्थल ‘बङ्कर’ बाट जोगाइन्छ । ‘यन्त्रपोसाक’ लडाकु सिपाहीहरूले रासायनिक र अनेक ग्यासहरूको विरुद्ध लड्ने छन् ।
२०७० सालमा ‘युवामञ्च’ मा प्रकाशित उत्तरा र उमङ्ग दम्पतीको ‘त्यो रात’ को कथाले कहीँ कतैको प्राचीन ग्रन्थको सम्झना गराउँछ । छैठौँ यो कथा कताकता कथाभन्दा निबन्ध पढेको स्वाद पाठकले पाउँछन् । एउटा महत्वपूर्ण विषय हो– कथाकारले पात्रहरूको दिने नाम अत्यन्त सुरुचिपूर्ण र नौलो देखिन्छ । यो स्वयम् कथाकारको शिल्प हो ।
‘मेरो कथा नलेखिदिनू’ अन्तिम या सातौँ कथा पहिले अन्त नछापिएको कथा देखियो । विदेश वा अमेरिका भन्नासाथ जे कुरा पनि पत्याउने र तारिफ गर्ने मानसिकताले विवाह त भयो, तर रोबर्टसँग भएको कथा हो । नेपाली चेलीले आफूलाई माया गर्ने र सहानुभूति प्रदर्शित गर्ने ‘आन्टी’ लाई भन्छिन्, “मेरो कथा नलेखिदिनू ।”
कथाकारको कथा शैली चमत्कारपूर्ण छ, नेपालीपनको भाषाले आफ्नै देशको कथा पढेजस्तै छ । ६ वटा कथाका प्रकाशित मिति र पत्रिकाको नामले झन्डै १९–२० वर्षअघि नै यस्ता कथाहरूबाट नेपाली भाषा र साहित्यको सेवा गर्नु हरेक लेखक र साहित्यकारको कल्पनाशीलता र चिन्तनलाई उजागर गर्छ । कथाकार र प्रकाशकलाई साधुवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *