भर्खरै :

पश्चाताप

पश्चाताप

शिवराज सुती नै रहेको थियो । एकाएक कान्ति अत्तालिएर रोएको आवाजले उसको सातो लिइदियो । “के हँ !” जरफराउँदै उठी झस्केर शिवराजले सोध्यो ।
“आज रातिदेखि राधा एकदम साह्री छ रे !” आँचलले आँसु पुछ्दै कान्तिले भनी ।
शिवराजको घाँटीबाट बोली फुट्न सकेन । सहसा उसका दुवै आँखाबाट आँसु टप्कन थाल्यो । देब्रे हातमा चिउँडो अडाई शिवराज निहुरेर सुस्केरा लिन थाल्यो ।
कान्तिको आँचल आँसुले भिजिसकेको थियो । खूब धैर्य गरेर उसले रुग्ण स्वरले भनी, “जानो झट्टै ज्यादै सा¥हो भइसक्यो रे ।”
“हँ !”
“घाट लगिसके रे !”
एकछिन द्विविधामा टक्कर परेर शिवराजले भन्यो, “कसो गर्ने अब, जानुहोला ?”
व्यथित स्वरमा कान्तिले भनी, “हरे शिव ¤ शिव ¤ कस्तो माया तपाईँको त्यस्तो अवस्थामा पुगिसकी, आमाबाबुले नहेरे अरू कसले हेर्ला उसलाई ? उसको त्यहाँ आफू भनाउँदो अरू को छ ?”
“के गर्ने, कुलमा नबलेको देखेर डर लाग्छ ?”
कान्तिले झर्केर जवाफ दिई, “भैगो, तपार्ईँ नआइरहनुस्, म त जान्छु छोरीको यो अवस्था पुगेर पनि तपाईँलाई चैन भइरहेकै छ ।”
“मेरोमात्रै के ढुङ्गाको हृदय हो र ! मेरो पनि माया छ आफ्नो छोरीको । छोरीको त्यो अवस्था देखेर मेरो हृदय पनि रोइरहेको छ, तर के गरूँ, आफ्नो धर्म, आफ्नो चलन, आफ्नो चलिरहेको थिति देखेर विवश छु । भला शुद्ध लुगामात्र लाएको भए पनि एउटा कुरा, भर्खरकी नौदिने विधवी छ ।”
“आफ्नी छोरीमाथि माया प्यार गर्नाले समाजको के हानि भएको छ र समाजदेखि डराउनुपर्छ । समाजलाई हानि हुने, समाजको अगाडि नराम्रो हुने हामीले कुनै व्यवहार गर्नुहुँदैन, त्यो म पनि मान्दछु, तर आफ्नी छोरीको त्यो अवस्था पुगेर पनि हामीले छोरी भेट्न हुँदैन र समाज छोरीलाई धुलोमा मिलाउन दिन चाहन्छ भने त्यो समाजलाई म आगो लाउन चाहन्छु । हृदय नभएको त्यस्तो समाज पनि समाज हो ? मानवताको हिंसा गर्ने त्यो शैतान हो !”
“ एकचोटि साहिँला काकासँग पनि सोधेर आउँ, के सल्लाह दिनुहोला, जे भए पनि हाम्रा कुलका जेठापाका ।”
रन्केर कान्तिले भनी, “म त त्यो अवस्थामा पुगेकी छोरीको निम्ति समाजबाट अलग्गै हुनुपरे पनि तयार छु । हरे, मेरी छोरीको मुख आँखा अगाडि अगाडि नै आइरहेको छ । मैले त भनेकै थिएँ नि त्यसलाई दिन्नँ । जात ! जात ! आखिरमा जातले के नाप्यो तपाईँका पो अरू छोराहरू पनि छन्, मेरी त उही एक्ली छोरी, मेरो एकमात्र श्री सर्वस्व ।”
कान्तिको हृदय छोरीको ममता र वेदनाबाट यति छियाछिया भयो कि पतिको इसारामा मात्र हिँड्ने पतिपरायणा भएर पनि आज कान्तिले पतिको कुरामा वास्ता राखिन । रुँदै अत्तासिएर कान्ति सरासर राधालाई हेर्न गई ।
कान्तिको त्यो अटेरदेखि शिवराज रिसाउन सकेनन्, प्रत्युत शिवराजको हृदयमा पनि रूढिवादको अतिक्रमण भाव उदित भयो । कान्तिले शिवराजको वचन कहिल्यै पनि नाघेको छैन । कान्तिको यो विवश परिस्थितिको कारणले पनि शिवराजको हृदय झन् भावुक भयो । हृदयलाई अगाडि अगाडि लाएर कान्ति हिँडेदेखि शिवराजको ह्दय पनि उसभन्दा अगाडि हिँड्न खोज्यो । आफ्नी छोरी राधाप्रतिको ममता जागृत हुँदै हुँदै कट्टर रूढिवादसित टक्कर खान पुग्यो । तर, शिवराजको रूढि–भाव पनि भारीसँग पोसिएर मोटाइसकेको हुनाले सहसा कुनै परिस्थिति विशेषबाट पछारिन जान पनि त गाह्रै छ । आखिरमा छोरीको परिस्थिति, ममता र रूढि–भावको द्वन्द्वले शिवराजको हृदय सङ्घर्षित भयो । जति जति राधाको परिस्थिति र ममताले मोह र व्यथित भई शिवराजको हृदय अगाडि बढेर राधाको समीप पुग्न खोज्दछ, उति उति रूढि भाव छेकारो काटो उसको अगाडि अगाडि पुगेर रोक्न खोज्दछ । रूढि भावले शिवराजलाई फुस्ल्याएर आफ्नो तबेलामा बाँध्न लागिसकेको थियो, “आफ्नो परम्परालाई नाघ्नु आफ्नो गौरव र मानवतालाई नाघ्नु हो, आफ्नो संस्कृति र भावी जुनीलाई माथि चढाउँदै लगिरहेको कृतिलाई गिराई आफू पनि खस्नु हो, सफलताको नजीक पुग्न लागेको व्यक्तिले आखिरमा अनेक मारको परीक्षा हल गर्न सक्नुपर्छ । महावीरको उपाधिबाट उही व्यक्तिमात्र विभूषित हुनसक्छ जो मारको परीक्षाबाट राम्रै उत्तीर्ण हुनसक्दछ । यो तिम्रो छोरीमाथिको ममताको भाव पनि एउटा मार हो, यसबाट तिमी विजयी हुन सकेनौँ भने तिमी गि¥यौ, तिम्रो व्यक्तित्व गि¥यो अनि तिम्रो जुनी पनि गि¥यो ।”
ममता–भाव पनि शिवराजमा खूब बढिरहेको छ कान्तिको ममतामय संतप्त आकृति र अटेर गरेर अतासिएर दगुरेको उसको गमनले शिवराजको हृदयलाई ममताको धेरै नजीक लगिसकेको थियो । ममता–भावले पनि शिवराजलाई खूब सुनायो, ‘मानिस भएर पनि किन तिमी ढुङ्गा भइरहेको ? मानव भएर मानवताबाट दूर नहोऔँ, समाजको झुत्रो आदर्शको निमित्त मानवताको आदर्श हराउनुहुँदैन, मानवताको मर्यादाको निम्ति तिमीले यस्तो लाखौँ लाख तिरस्कारलाई पनि स्वीकार गर्नसक्नुपर्छ । हेर, आफ्नो छोरी घाट पुगिरहेकी छ, बाबुको दर्शनको निमित्त छोरो उत्कण्ठित भएर चिच्याइरहेकी छ, पानीसम्म ख्वाउने पनि उहाँ उसका आफू भन्ने कोही छैन, त्यस्तो अवस्थामा पनि बाबुको हृदयमा एक थोपा आँसु नआउनु ताजुबको कुरा हो । मनुष्यत्वलाई बलिदान दिएर रूढिको खुट्टा परिरहनु कत्रो अज्ञानता हो, कत्रो अन्ध अनुकरण कत्रो कमजोरी तिमीले हेरचाह गरेको भए सायद तिम्री छोरी निको पनि हुन सक्तछे, हेर जाबो अन्धपरम्पराको बहकाउमा परेर समाजको झूटा निन्दाको डरले छोरीको बलिदान । हेर, हेर, कत्रो अपराधको कुरा, कत्रो अमानवता ।’
शिवराजको हृदयले आँखा खोल्यो । दया करुणा र ममता–भावले शिवराज सा¥है मार्मिक भयो । वेदनाले छटपटिएर शिवराज छोरीकहाँ दगु¥यो । कान्ति घोप्टो परेर रोइरहेकी थिई । मुर्दा–गुठियारहरू छरिएर बसिरहेका थिए । अर्द्धजलको छेउमा राधालाई कात्रोले बेह्री तेस्र्याइराखेको । दगुर्दै दगुर्दै टाढैदेखि रुग्ण स्वरले शिवराजले भने, “राधा ! मेरी राधा !” गुठियारहरूतिर हेरेर, “राधा गई ? मेरी छोरी अब यो संसारबाट गई ?”
“बा ! बा ! पुकार्दै पुकार्दै भर्खर गई,” गुठियारहरूले भने ।
“भर्खर ! हरे, एकै छिनमात्र अघि पुग्न सकेको भए पनि मुख हेर्न पाउने थिएँ ।”
“बालाई एकचोटि फेरि बोलाउन पठाइदेऊ भन्दै थिई । आखिरी साससम्म त्यही थियो ।”
कान्ति छाती पिट्दै रुँदै थिई । शिवराज पनि खूब रोयो । अनि राधाको लासतिर दौड्यो ।
एउटा गुठियारले सम्झायो, “धैर्य गर्नुपर्छ, राधा त अब अर्को लोकमा गइसकी, उसको शरीर त अब लास भइसक्यो, लासलाई हेरेर के गर्ने ?”
“लासको रूपमा पनि एकचोटि म राधाको मुख हेरेर सन्तोष गरूँ ।”
“कात्रोमा बेह्रिसकेको लास उघारेर हेर्नु हुन्न, दाहसंस्कारको बेला पनि भइसक्यो, अब त माइती पक्षका मानिस यहाँ बस्नु पनि छैन ।”
“अब म यस्ता ‘गर्नु छैन’ एक मान्दिनँ । यस्तै रूढि, यही परम्पराले गर्दा मैले छोरीको मुख हेर्न पाइनँ । यस्तो अन्ध परम्पराको फेरमा लागेर आजीवन मैले अतृप्त हुनुप¥यो । अब म यस्ता एक–एक रूढि, अन्धपरम्परालाई आगो लाइदिन्छु यी सब समाजका ढोँग हुन् ¤ मूर्खता हो यो मानिसको, यस्ता झूटा कुराले गर्दा म महापापी हुनुप¥यो । यस्ता हीन आदर्शको पछि लागेर मैले आफ्नी छोरीको हत्या गरेँ । मेरी छोरीको हत्यारामै हुँ यही झूटा आदर्श हो, अन्धरूढि हो, परम्परा हो । उसैबेला मैले यी सब ‘गर्नु छैन’ लाई लत्याउन सकेको भए मेरी राधा मेरै भइरहने थिई । कमसेकम मैले उसको आखिरी साससम्ममा भए पनि उससँग भेटिरहन पाउने थिएँ । यी ‘गर्नु छैन’ ले मलाई उसको मुखसम्म पनि हेर्न दिएन ।”
“लास भइसक्यो, अब हेरेर पनि केही मतलब छैन, अब त उसको नाउँबाट दान–धर्म गरी हरतरहबाट उसको आत्मालाई उद्धार गर्नुमात्रै हाम्रो कर्तव्य र धर्म हो ।”
“लासैको रूपमा भए पनि एकचोटि म राधाको मुख हेर्छु ।” शिवराजलाई कसैले पनि मनाउन सकेनन् । कात्रो उघारेर राधाको लाससँग कुरा गर्दछ, “राधा, म सा¥है पछुताइरहेको छु, मेरो मूर्खताले गर्दा तिम्रो मुख हेर्न पाइनँ, बाबुजस्तो भएर अन्तिम अवस्था जस्तो बेलामा पनि एक पसर पानी पनि ख्वाउन पाइनँ । राम्रोसँग हेरविचार पुगेको भए सायद तिमी नमर्ने थियो । राधा, अब म तिम्रो बाबु होइन, हत्यारा हुँ, पापी हुँ, अब मैले नरक भोग्नुपर्नेछ । मेरो कट्टरपनाले गर्दा तिमीले कुकुर मरेजस्तो मर्नुप¥यो । मेरो यो भूल र मेरो सर्वस्व अर्पण गर्न तयार छु । अब मलाई स्वप्नमा भए पनि आएर भन राधा, तिमी के चाहन्छ्यौ । कुन दान–धर्म गर्नाले तिम्रो आत्माको कल्याण होला । तिम्रो निमित्त अब म जे पनि गर्न तयार छु । राधा ¤ राधा ¤ मेरी छोरी, मलाई माफ गर राधा ।”
कान्ति रुँदै रुँदै भन्दछे, “लाशलाई झट्टै दाह गर्न दिनोस्, अब तपाईँको आवाज राधाको आत्मातक पुग्न सक्तैन । कुनै दान–धर्मबाट पनि राधाको आत्मा सन्तुष्ट हुँदैन । उसको आत्म–तृप्तिको निमित्त अब म ईश्वरको ढोकातक पुग्ने तपस्या गरेर उसको अन्तिम प्रार्थना सफल गराउने कोशिश गर्छु, मलाई बिदा दिनोस् । तपाईँजस्ता समाजदेखि घिनाइसकेँ, अब मेरी राधाको अभिलाषा पूर्ण गराउने तप गर्न जान्छु ।
“राधाको अन्तिम अभिलाषा के हो ? त्यो पूरा गर्नमा म पनि कोशिश गर्छु ।”
“उसले आफ्नो क्षीण हुँदै गइरहेको अन्तिम सासलाई समेटी समेटीकन बार–बार मलाई प्रतिज्ञा गराइकन भनेर गएकी छ– आमा, मेरो नाउँमा कुनै दान–पुण्य गर्नुपर्दैन । बरु ईश्वरतक पुग्ने कुनै कोशिश गरेर मेरो एउटा अभिलाषा पूरा गरिदेऊ आफ्ना आराध्य देवसँग बिन्ती गरिदेऊ कि अब फेरि मेरो मानिस जातिमा जन्म नहोस् । मानिस योनीमा नै जन्मनुपरे त्यो सानो जातिमा भए पनि मेरो जन्म होस् जो विवेक र हृदयलाई सधैँ साथ लिएर हिँड्दछ ।”
शिवराज कात्रो उघारेर वेदनापूर्ण स्वरमा फेरि लाससँग भन्दछन्, “राधा, मेहरबानीसाथ तिमी फेरि मेरै कोखमा नै जन्मन आऊ । तिमीलाई गुमाएर मैले विवेक र हृदय पाइसकेँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *