अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
संसद् देश र जनताको हितमा ऐन, कानुन र संविधान बनाउने थलो हो । संसद्मा देशका धनाढ्य, उद्योगपति, आपराधिक क्रियाकलापमा संलग्न, भ्रष्टाचारमा मुछेका, ठेकेदार या निर्माण व्यवसायीहरू पठाएर देश र जनताको हितमा ऐन कानुन बन्दैन । न त ती सांसदहरू भ्रष्टाचार अन्त्य गर्न, भ्रष्टाचारीहरूमाथि कारबाही गर्न अघि सर्छन् । ठेकेदारहरूलाई सांसद बनाएर के देश र जनताको भलो हुन्छ ? मङ्सिर १६ गते प्रकाशित ‘कान्तिपुर’ दैनिकमा ‘प्रतिनिधिसभा र प्रदेशसभामा १९ ठेकेदार’ शीर्षकको समाचार प्रकाशित भयो । उक्त समाचारमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न निर्माण कम्पनी सम्बद्ध १९ ठेकेदार निर्वाचित भएको खबर छापियो । प्रतिनिधिसभामा उम्मेदवारी दिएका १५ ठेकेदारमध्ये ८ जना र प्रदेशसभामा १८ जना ठेकेदार उम्मेदवार भएकोमा ११ जना निर्वाचित भएको समाचार छापियो ।
सत्तासीन र ठूला दलका नेताहरूले ठेकेदारहरूलाई नै किन उम्मेदवारीको निम्ति सिफारिस गरे ? के आफ्नो दलमा सिद्धान्त र विचारअनुसार राजनीति गर्ने नेता तथा कार्यकर्ताको अभाव भएको हो ? के निर्वाचित ती सांसद (ठेकेदार) हरू ठेक्का पाउन लालायित हुँदैनन् ? के ठेक्का पाउनेतर्फ उनीहरू केन्द्रित हुँदैनन् ? सम्भवतः ती नै ठेकेदारहरूबाट पार्टीले चन्दा असुलिरहेको हुन्छ । निर्वाचनमा पैसा खर्च गर्न सहयोग गरेबापत पुरस्कारस्वरूप के उनीहरूले प्रतिनिधिसभामा उम्मेदवारी दिएका होइनन् ? जिताएर गुणको ऋण तिर्न खोजेका होइनन् ?
प्रकाशित समाचारअनुसार प्रतिनिधिसभामा निर्वाचित भएका ठेकेदारहरूमा मोहन आचार्य, विक्रम पाण्डे, पूर्णबहादुर तामाङ, धनबहादुर बुढा, राजु थापा, किसानकुमार श्रेष्ठ, दिक्पालकुमार शाही, अम्बरबहादुर रायमाझी, बहादुरसिंह लामा, इन्द्रबहादुर बानियाँ, बुद्धिकुमार राजभण्डारी, दीपेन्द्रकुमार थाकुर, छत्रबहादुर बमजन, वीरेन्द्रप्रसाद सिंह, नागेन्द्र साह, तीर्थबहादुर लामा, पूर्णबहादुर खत्री, देवेन्द्रबहादुर शाही र सुरेन्द्रबहादुर पाल रहेका छन् । ती सांसदहरू नेका, एमाले, राप्रपा र एकीकृत समाजवादी दलमा आबद्ध छन् ।
उम्मेदवारी चयन गर्दा दलभित्र बसेर दुःख गरेका, जनतामाझ पुगेर राजनीति गरेका नेता तथा कार्यकर्ताले जनताका कार्यकर्ता नरोजी ठेकेदार या सम्पत्तिवाल चयन गरेकोमा विरोध गरेका थिए† असन्तोष पोखेका थिए । सांसद बनेका के ती ठेकेदारहरूले आफ्नो जिल्ला र प्रदेशका योजनाहरू हात पार्न तिनीहरू लाग्ने छैन ? ती योजनाहरूमा आफू संलग्न नभए पनि अर्का ठेकेदारलाई योजना हात पार्न उनीहरूले भूमिका खेल्ने छन् । निर्माण व्यवसायी या ठेकेदारहरूलाई सांसद बनाएर ती दलका नेताहरूले जनतालाई के शिक्षा या सन्देश दिन खोजेका हुन् ? ठेकेदारहरूलाई सांसद बनाएर खुसी या दङ्ग पर्ने दलका नेताहरू कसरी सच्चा हुन्छन् ? दललाई चन्दा दिएको आधारमा के सांसद बनाउन सुहाउँछ ? आज ठेकेदारलाई सांसद बनाउला, भोलि तिनीहरूलाई मन्त्री बनाउला । पछिको निर्वाचनमा डन, गुण्डा, कमिसनखोर र भ्रष्टाचारीहरूलाई उम्मेदवारी बनाउला ! तब देश कहाँ पुग्ला ! के यसबारे दलहरूले सोच्नुपर्दैन ?
Leave a Reply