भर्खरै :

देश र जनताको लागि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्नुपर्ने

देश र जनताको लागि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्नुपर्ने

भक्तपुर २४ मङ्सिर । नेपाल क्रान्तिकारी किसान भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार जिल्लास्तरीय किसान भेला सम्पन्न भयो ।
भेलामा प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेपालका शासक दलहरू दर्शन र सिद्धान्तमा आधारित नभएको बताउँदै नेपालको सन्दर्भमा भारतीय विस्तारवाद तथा एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादको विरोध नगर्ने राजनीति पार्टीहरू देश र जनताको हुन सक्दैनन् भन्नुभयो ।
मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई शासक दलहरूले आश्वासन बाँडेर जित्न खोजेको बताउँदै फौजदारी अभियुक्तहरूसमेत शासक दलहरूबाट संसद्मा निर्वाचित भएको देश र जनताको हितमा छैन भन्नुभयो ।
उहाँले अगाडि भन्नुभयो – “शासक दलका सांसदहरू कोही १२ सयवर्ष पुरानो मूर्ति चोरीमा परेका, कोही सरकारी जग्गा बहाल भ्रष्टाचारमा परेका, कोही हत्यामा संलग्न रहेको समाचार छ ।”
नेमकिपा देशभरिका सबै भाषाभाषी र जातजातिका कामदार वर्गको साझा पार्टी भएको उल्लेख गर्दै उहाँले यो पार्टीको विकासले मात्र देश र जनताको विकास हुँदा पूर्व पश्चिम र उत्तर दक्षिण रहेका सबै भाषाभाषी र जनजातिका साथीहरू नेपाल मजदुर किसान पार्टीले विकासका लागिपर्नु आवश्यक भएको बताउनुभयो ।
अमेरिकी साम्राज्यवादको पिछलग्गू भएको बेलायत अहिले आर्थिक सङ्कटमा परेको र सारा युरोपको स्थिति अहिले दोस्रो विश्वयुद्धताकाभन्दा खस्कँदो रहेको बताउँदै सचिव सुवालले विदेशको भरमा चुनाव जित्ने र सिंहदरबार कब्जा गर्ने शासक दलको नियति पनि बेलायती साम्राज्यवादकै अवस्था हुनेछ भन्नुभयो ।
तीन प्रतिशतको मतसीमा लगाउनुपर्ने तर्क गरेका केही शासक दलहरू मङ्सिर ४ गतेको चुनाव परिणामले सेखी झरेको र आगामी चुनावमा तिनीहरूको स्थिति थप खस्कनेछ भन्दै नेमकिपाका कार्यकर्ताहरूले पार्टी अनुशासनलाई पालना गर्दै क्रान्तिकारी सङ्घर्षलाई अगाडि बढाउनुपर्छ भन्नुभयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईले नेमकिपाको एमसीसी र नागरिकता विधेयकविरोधी आन्दोलन र अडानलाई सहन नसकेर विदेशी शक्ति र स्वदेशी प्रतिक्रियावादीहरूले नेमकिपाविरुद्ध अनेक भ्रामक प्रचार गरेको बताउनुभयो ।
प्रतिक्रियावादीहरूको प्रचार र षडयन्त्रदेखि नेमकिपा नडगमगिने बताउँदै नेपाली किसानहरूलाई अझ बढी सचेत र सङ्गठित गर्न नेक्राकिसङ्घको सक्रियता जरुरी छ भन्नुभयो ।
सभापतिको आसनबाट नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष एवम् जिल्ला अध्यक्ष गोविन्द दुवालले किसानहरूले आफ्नो पेशागत हितका लागि मात्र सङ्घर्ष गरेर नपुग्ने देश र जनताको लागि राजनीतिक सङ्घर्षमा सक्रिय हुनुपर्ने बताउनुभयो ।
भेलामा नेक्राकिसङ्घका केन्द्रीय सचिव हरिराम सुवालले चार दशकअघिदेखि नेमकिपा र नेक्राकिसङ्घले स्वदेशमै रासायनिक मलकारखाना स्थापना गर्न निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै मलमा कमिसन खान पल्केका शासक दलहरूले मल कारखाना स्थापना र सञ्चालनलाई पन्छाउँदै आएका हुन् भन्नुभयो ।
भेलामा आयोजक समितिका सचिव सूर्यबहादुर फोजू र सदस्य नारायणभक्त न्हेम्हाफुकीले पनि बोल्नुभएको थियो । भेलाले गोविन्द दुवालको संयोजकत्वमा नेक्राकिसङ्घ सातौं भक्तपुर जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *