भर्खरै :

ट्रम्पका सुरक्षा सल्लाहकारको गन्थन – २

ट्रम्पका सुरक्षा सल्लाहकारको गन्थन – २

(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
‘मजदुर’ का अबका केही अङ्कमा जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिनेछ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)
इरान र प्रजग कोरियामाथि हमला
जुलाईमा प्रजग कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण ग¥यो । अगस्ट ५ मा राष्ट्रसङ्घले कोरियामाथिको प्रतिबन्ध झन् चर्कायो । प्रजग कोरियाप्रति ट्रम्प रुष्ट भए । उनी कडा प्रतिक्रिया जनाउन चाहन्थे । तर, टिलरसनले रोके । टिलरसनले “अमेरिकीहरूलाई चैनको निद्रा सुत्न देऊ” भने रे । सैन्य चहलपहल नदेखेर बोल्टनको चित्त बुझेन । अक्टोबरमा ट्रम्पले धम्की दिँदै ट्वीट गरे, “हामीले उत्तर कोरियासँग २५ वर्ष कुराकानी ग¥यौँ, धेरै पैसा खर्च ग¥यौँ । केही काम लागेन । सम्झौता गर्नेहरूले हामीलाई मूर्ख बनाए । एउटै उपायले काम गर्नेछ !” जवाफमा रक्षामन्त्री म्याटिसले कूटनीतिक पहलमा जोड दिए ।

रेक्स टिलरसन

सेप्टेम्बर ३ मा प्रजग कोरियाले छैटौँ आणविक अस्त्र परीक्षण ग¥यो । न्यूयोर्क टाइम्सले “अझ संवादमै जोड दिनु हानिकारक हुने” लेख्यो । तर, टिलरसनले “उत्तर कोरियालाई वार्ताको टेबलमा ल्याउन रचनात्मक संवादमा” जोड दिए । ट्रम्पले भने वित्तीय नाकाबन्दी लगाउने घोषणा गरे । चीनले यसमा असहयोग गरेको बोल्टन लेख्छन् । यसबिच ह्वाइट हाउसमा इरानको विषय पनि चर्किरह्यो । इरानले सन्धि उल्लङ्घन गरेकोले सन्धि तोड्नुपर्ने पक्षमा ट्रम्प थिए भने म्याटिस, टिलरसन र म्याकमास्टर ट्रम्पको विपक्षमा रहे । बोल्टनले लेखहरू लेखेर बाहिरबाट ट्रम्पलाई साथ दिइरहे । ट्रम्पले सन्धि तोड्न भने सकेनन् ।
बोल्टनसँगको कुराकानीमा ट्रम्पले इरानको विषयमा विदेश मन्त्रालयले आफूलाई काम गर्न नदिएको दुखेसो पोखे । इरानसँगको सन्धिबाट बाहिरिने योजना आफूले तयार पार्ने बताएर बोल्टन फर्के । ह्वाइट हाउसमा केही कर्मचारी हटाउने र नयाँ ल्याउने काम भयो । चिफ अफ स्टाफमा प्रीबसको ठाउँमा जोन केलीलाई ल्याइयो ।
२०१७ अगस्टमा इरानसँगको सन्धिबाट हात झिक्ने योजनाबारे बोल्टनले एउटा लेख लेखे । इरानका विदेशमन्त्री जावेद जफारीले त्यसको कडा निन्दा गरे । अमेरिकी मिडियाहरूले पनि बोल्टनको आलोचना गरे । कुस्नरले बोल्टनको विचारमा आफू सहमत भएको बताए र उनलाई ‘मध्यपूर्व शान्ति योजना’ बारे छलफल गर्न बोलाए । तर, ट्रम्पले यस विषयमा मुख खोलेनन् । अक्टोबर १२ मा उनले आफ्नो धारणा सार्वजनिक गर्ने बताइयो । विदेशमन्त्री टिलरसन र ट्रम्पबिच खटपट चलिरहेको थियो । अक्टोबर ९ मा बोल्टनले इरानसम्बन्धी अर्को लेख लेखे । मिडियाले ट्रम्पका सल्लाहकारहरूले इरानको विषयमा उनलाई भड्काइरहेको लेखे । अक्टोबर १२ को कार्यक्रम १३ तारिखमा सरेको थियो ।

माइक पोम्पेओ

अक्टोबर १२ दिउँसोपख ट्रम्पले बोल्टनलाई फोन गरे र इरानसम्बन्धी उनको विचारमा सहमति जनाए । उनले मूलतः चार विषय छोए । एक, इरानको कुद्स सैन्यदललाई अन्तर्राष्ट्रिय आतङ्कवादी भन्ने कि नभन्ने ? इरानविरुद्ध बोले सिरिया र इराकमा सैन्य प्रतिवाद हुनसक्ने ट्रम्पको धारणा थियो । त्यसको जवाफ सैन्य हिसाबले दिनुपर्ने तर घोषणा गर्नुपर्ने बोल्टनले जवाफ दिए । दोस्रो, उत्तर कोरिया र इरानबिच भइरहेको सैन्य लेनदेनबारे कुरा उठाउने । यस विषयमा गुप्तचर निकायसँग बुझ्ने । तेस्रो, इरानसँगको सन्धिबाट हात झिक्न सो सन्धि निरन्तर परीक्षणमा छ र अमेरिकाले जतिबेला पनि हात झिक्न सक्छ भनी भोलिको मन्तव्यमा राख्ने । चौथो, बोल्टनलाई प्रशासनमा ल्याउने ।
नोभेम्बरमा कुस्नरसँगको छलफलमा बोल्टनले अमेरिकाले राष्ट्रसङ्घको मानव अधिकार परिषद्बाट हात झिक्नुपर्ने बताए । सन् २००६ मा उनले राष्ट्रसङ्घमा यो कुरा उठाएका थिए । खासमा ओबामाले अमेरिकालाई सो परिषद्मा लगेका थिए । त्यसैगरी अमेरिका राष्ट्रसङ्घको राहत तथा कार्य एजेन्सीबाट बाहिरिनुपर्ने बोल्टनले कुस्नरलाई बताए । सो एजेन्सीले प्यालेस्टाइनलाई पनि राहत उपलब्ध गराएको तर्क बोल्टनको थियो । नोभेम्बरमा ट्रम्पले प्रजग कोरियाली व्यवस्थालाई ‘राज्यप्रायोजित आतङ्कवाद’ को सूचीमा राखे । बुश प्रशासनले त्यो सूचीबाट प्रजग कोरियालाई ‘भूलवश’ हटाएको बोल्टन लेख्छन् ।

माइक पेन्स्

डिसेम्बरमा ट्रम्पले जेरुसलमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिए । सन् २०१८ को जनवरीमा अमेरिकी सरकारले राहत तथा कार्य एजेन्सीलाई दिँदै आएको अनुदानमा भारी कटौती ग¥यो । सन् २०१८ मा अमेरिकाले दिने भनिएको रकमको छैटौँ भाग अर्थात् ६ करोड डलरमात्र दिने भयो ।
डिसेम्बर ७ मा बोल्टन पुनः ह्वाइट हाउस गए । उनले इरान र प्रजग कोरियाको सम्बन्धबारे सूचना दिए । कोरियाले २५ वर्षदेखि इरानलाई स्कुड मिसाइल बेच्दै आएको थियो । सन् १९९८ पछि उनीहरूले संयुक्त सैन्य अभ्यास पनि गर्दै आएका थिए । जापानले विरोध जनाउँदै आएको थियो । आणविक अस्त्र निर्माण गर्ने उनीहरूको चाहनालाई पाकिस्तानका अब्दुल कादिर खानले सघाएका थिए । खानले युरोपको युरोन्को कम्पनीबाट लिएको प्रविधि ती देशलाई बेचेका थिए । कोरियाले सिरियामा पनि रिएक्टर बनाउन खोजेको र २००७ सेप्टेम्बरमा इजरायलले सो स्थान ध्वस्त पारेको बोल्टन लेख्छन् । सो परियोजनामा इरानले पैसा लगाएको बोल्टनले ट्रम्पलाई बताए । आणविक अस्त्र भएको उत्तर कोरियाले जापान र दक्षिण कोरियालाई सताउन सक्ने तथा उसले जोसुकैलाई हतियार बेच्न सक्ने बोल्टनको अर्को अनुमान थियो । यी सबै तर्क गरेर बोल्टनले ट्रम्पलाई अमेरिकाले उत्तर कोरियामाथि हमला गर्नुपर्ने सुझाव दिए । यसको विकल्पको रूपमा बोल्टनले चीनलाई फकाएर उत्तर कोरियामा सत्ता परिवर्तन गर्न सकिने अथवा दक्षिण कोरियाको नेतृत्वमा कोरिया पुनः एकीकरण गर्न सकिने बताए । कोरियाविरुद्धको युद्धमा धेरै कुरा चीनमाथि भरपर्ने बोल्टनको धारणामा ट्रम्पका चीफ अफ स्टाफ केली पनि सहमत थिए ।

म्याकमास्टर

छलफलमा विदेशमन्त्री टिलरसनले एक्लै निर्णय गर्न खोजेको कुरा उठ्यो । ट्रम्पले फेरि पनि बोल्टनलाई प्रशासनमा ल्याउने बताए ।

राष्ट्रिय सुरक्षा सल्लाहकारमा बोल्टन
२०१८ को जनवरीमा ट्रम्पले इरानले सन्धि पालना नगरेको बताए, तर नाकाबन्दी लागू गर्ने विषयमा केही बोलेनन् । यस्तैमा दक्षिण कोरियामा हिउँदे ओलम्पिकको चर्चा चुलियो । त्यसमा उत्तर कोरिया पनि सहभागी हुँदै थियो । यसमा आफू सफल भएको दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनले टिप्पणी गरेका थिए । ट्रम्पको सन्देश लिएर उपराष्ट्रपति पेन्स र ट्रम्पकी छोरी तन्का दक्षिण कोरिया जाने भए । बोल्टनले उत्तर कोरियालाई अमेरिका र दक्षिण कोरियाबिचको सम्बन्धमा फाटो ल्याउन दिनु हुँदैन भनेर सुझाव दिए । दक्षिण कोरियाले उत्तरसँग राम्रो सम्बन्ध बनाउनाले प्रायःद्वीपमा शान्ति छाउने नीति लिएको थियो । यसमा बोल्टनको आपत्ति थियो ।
मार्च ६ मा बोल्टनले ट्रम्पलाई भेटे । उनले उत्तर कोरियाली राष्ट्रपति किम जोङलाई लेनदेन गर्न मिल्ने हतियार निर्माणका लागि समय चाहिएको बताए । आर्थिक प्रतिबन्धले भन्दा पनि अमेरिकी हतियारसँग उत्तर कोरिया डराएको बोल्टनले बताए । इरानसँग मिलेमतो गरेर उत्तर कोरियाले सिरियालाई रासायनिक हतियार बेचेको निहुँ झिकेर ट्रम्पले उत्तर कोरियाविरुद्ध कठोर कदम चाल्न सक्ने बोल्टनले सम्भावना देखाए । (बोल्टनले प्रजग कोरिया र इरानजस्ता देशमा रासायनिक हतियार भएको पटक पटक दोहो¥याएका छन् । यो उनको निराधार आरोपमात्र हो ।) ट्रम्पका सहयोगी केलीले मिडियामा यही कुरा फुकिरहन बोल्टनलाई अनुरोध गरे । इरानको मामिलामा चिन्ता नलिन भन्दै ट्रम्पले टिलरसनलाई हटाएर बोल्टनलाई विदेशमन्त्री बनाउन चाहेको बताए । यसको लागि रिपब्लिकन सांसदहरूको मतसङ्ख्या अवरोधका रूपमा उभिने उनले अल्झो देखाए । बोल्टनले मतसङ्ख्याको झन्झटै नपर्ने राष्ट्रिय सुरक्षा सल्लाहकारको पद मागे ।

जोन बोल्टन

म्याकमास्टरले सुरक्षा सल्लाहकारको पदमा रहेर पहिलो वर्षमै सुरक्षा रणनीति बनाएका थिए । रक्षामन्त्रीले सैन्य बजेट बढाएका थिए । यसमा आफ्नो हात रहेको ट्रम्पले बताए । उनले बोल्टनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाए, मिडियाबाजी हुने सम्भावना देखाए । बोल्टनले आफू यसमा अभ्यस्त भएको बताए । भेटघाट सकियो ।
साँझपख बोल्टनले किम जोङ उनले ट्रम्पसँग भेट्न चाहेको खबर सुने । यस्तो भेटघाट मुर्खता हुने, बरु उत्तर कोरियालाई निःशस्त्रीकरण गर्ने गरी वचनमा बाँध्न सक्ने हो भने मात्र भेटघाट फलदायी हुने बोल्टनको ठहर थियो ।
यसपछिको एक साता वासिङटनमा अधिकारी हेरफेर भयो । राष्ट्रिय अर्थ परिषद्का प्रमुखले राजीनामा दिए । टिलरसन बर्खास्तीमा परे र उनको ठाउँमा माइक पोम्पेओ विदेशमन्त्री बने । सीआईए प्रमुखमा जिना हास्पेल आइन् । यस्तैमा बेलायतमा एउटा घटना घट्यो । पूर्व जासुसमाथि आक्रमण गरेको आरोपमा बेलायती प्रम थेरेसे मेले २३ जना रुसका अघोषित गुप्तचरहरूलाई देश निकाला गरिन् । राष्ट्रपति निर्वाचनमा विजयी भएकोमा पुटिनलाई बढाई दिएका ट्रम्पले बेलायतको समर्थन गर्दै ६० जना रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गरे ।
मार्च २१ मा ट्रम्पले बोल्टनलाई ह्वाइट हाउसमा काम छ भनेर बोलाए । भोलिपल्ट उनी ह्वाइट हाउस गए । ट्रम्पले आफूले इरानसँग सम्बन्ध चुँडाउनै लागेको बताए । किम जोङ उनसँगको बैठकबारे केही बोलेनन् । ट्रम्पले कुनै पदको प्रस्ताव नगरेको देखेर बोल्टन चकित थिए । त्यहाँबाट ‘फक्स न्युज’ फर्किने क्रममा उनले अप्रिल ९ मा आफूलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाउने ट्रम्पको ट्वीट पढे । कतिले उनलाई बधाई दिए, कतिले आलोचना र गाली गरे । मिडियाबारे आइजनहावरको भनाइमा उनी विश्वास गर्छन् । उनी लेख्छन्, “प्रेस जनताको शत्रु होइन, तर सनसनीपूर्ण साम्रगीहरू खोजिरहने लेखक, टिप्पणीकार र पत्रकारहरूका कारण प्रेस उदारवादीभन्दा बढ्ता बन्छन् ।” बोल्टनले नयाँ पदको लागि किसिन्जर, कोलिन पावेल, जर्ज शुल्ज, जिम बेकर, जेम्स जोन्स, कन्डोलिजा राइस, बुशजस्ता व्यक्तिहरूसँग परामर्श लिए । तीमध्ये स्कोक्रफ्टले उनलाई भने, “संसार जञ्जाल हो, यसलाई तह लगाउन हामीमात्र सक्छौँ ।” बोल्टनको धारणा फरक थिएन ।
त्यसपछि बोल्टनले धेरै उच्च अधिकारीहरूसँग भेटे । तीमध्ये जो डनफोर्डले उत्तर कोरियासँगको युद्ध दोस्रो विश्वयुद्धभन्दा पनि भयावह हुने बताए । तर, माइक पोम्पेओले आफू युद्ध मन्त्रालयको संस्थापक बन्न चाहेको बताए ।
ट्रम्पलाई झन्डै १५ महिनादेखि नियालेको अनुभवका आधारमा बोल्टनले प्रशासनमा गएर डोनाल्ड ट्रम्पलाई फेर्ने मनोबल हासिल गरिसकेका थिए । उनले राष्ट्रिय सुरक्षा परिषद्को कर्मचारी सङ्ख्या चुस्त बनाउने योजना बुने । आफ्नो कार्यकालमा उनले ८० जना कर्मचारीहरूलाई बिदा गरे । बोइङ कम्पनीमा काम गरिसकेका मिरा रिर्काडेल र चाल्र्स कुपरमेनजस्ता रक्षाविद्लाई परिषद्मा ल्याए । ट्रम्पले उनलाई आफ्नै ढङ्गले कर्मचारी राख्ने र हटाउने अधिकार दिएका थिए । यसो गर्नुअघि उनले ट्रम्पका सहयोगी केलीलाई जानकारी गराउँथे । एकपल्ट ट्रम्पले उनलाई राष्ट्रिय सुरक्षा परिषद्मा धेरै काम नलाग्ने मान्छेहरू रहेको बताएका थिए । उनले सिरियाको पुनः निर्माणमा २० करोड डलर छुट्याएकोमा विदेशमन्त्री रेक्सलाई गाली गरेका थिए । ट्रम्पको भनाइ थियो, “म अरूको होइन, आफ्नो देश बनाउन चाहन्छु ।”
इस्टर पर्वमा भएको भेटमा ट्रम्पले आफूले ‘मध्यपूर्वमा हुने डरलाग्दा युद्ध अन्त्य’ गर्न चाहेको बोल्टनसँग बताए । अमेरिकाले शत्रुको हितमा ‘इजइज’ का लडाकुहरू मारिरहेको उनलाई कत्ति पनि चित्त बुझेको थिएन । उनले शत्रु भनेर रुस, इरान र असादको सिरियालाई भनेका थिए । कुर्सीमा टिकिरहन चाहने र केही समयलाई टिक्न चाहने गरेर अमेरिकी कर्मचारीहरू दुई भागमा बाँडिएको ट्रम्पको गुनासो थियो । आफू छोटो समय टिक्नेहरूको कोटीमा पर्ने र त्यसैले बमबारी गरेर सबै खेल खत्तम गर्न चाहेको बताए । ट्रम्प सिरियाबाट हात झिक्ने पक्षमा थिए । यी भेटघाटबाट बोल्टनले डोनाल्ड ट्रम्पलाई छिनछिनमा मन फेर्ने व्यक्तिको रूपमा बुझे । ट्रम्पलाई एकजना सुरक्षा सल्लाहकार चाहिएको थियो । उसको काम राष्ट्रपतिलाई उपयुक्त निर्णय लिनका निम्ति विकल्पहरू उपलब्ध गराउनु थियो । त्यसैले अप्रिल ९ को तयारीमा बोल्टनले गुप्त दस्तावेज र रिपोर्टहरू अध्ययन गर्न थाले ।
आफ्नो अनुभव समेट्दै बोल्टन एउटा घटना उल्लेख गर्छन् । राष्ट्रपति रुजवेल्टले विदेशमन्त्री फेरेकोमा एचिसनको टिप्पणी यस्तो थियो, “राष्ट्रपति आफ्नै विदेशमन्त्री बन्न मिल्दैन । त्यसैले उनले गर्न सक्ने गरे । कसैलाई विदेशमन्त्री बन्न दिएनन् ।” आफू त्यस्तै सुरक्षा सल्लाहकार बनेको बोल्टन सङ्केत गर्छन् । आफ्नो कार्यभारलाई उनी कन्डोलिजा राइसको भनाइमा अभिव्यक्त गर्छन्, “विदेशमन्त्री बन्नु अमेरिकामा उत्तम जागिर हो र राष्ट्रिय सुरक्षा सल्लाहकार बन्नु सबैभन्दा कठिन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *