भर्खरै :

ट्रम्पका सुरक्षा सल्लाहकारको गन्थन – ३

ट्रम्पका सुरक्षा सल्लाहकारको गन्थन – ३

(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
‘मजदुर’ का अबका केही अङ्कमा जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिनेछ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)

सिरियाको हमला
२०१८ अप्रिल ७ मा सिरियाली सेनाले दक्षिण–पश्चिम सिरियामा पर्ने दौमामाथि हमला ग¥यो भन्ने मिडियामा आयो । त्यसमा रासायनिक हतियारको प्रयोग गरेको चर्चा चल्यो । त्योभन्दा एक साताअघि बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सिरियाबाट अमेरिकाले हात झिक्नुपर्ने औँल्याइएको थियो । जोन बोल्टनको बुझाइमा परिषद्को निर्णय बाराक ओबामाको नीतिभन्दा पनि गएगुज्रेको थियो । तर, अप्रिल ८ मा ट्रम्पले बाराक ओबामाकै नीतिका कारण सिरिया उल्किएको भन्दै ट्वीट गरे । राष्ट्रपतिले सल्लाहकारहरूको राय नलिई ट्वीट गरेकोमा बोल्टनको आपत्ति थियो । तर, अप्रिल ९ पछि मात्र उनी वैधानिक सल्लाहकार बन्ने थिए ।
ट्रम्प सिरियामा सैन्य हमला गर्न चाहन्थे । फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँ र बेलायती विदेशमन्त्री बोरिस जोन्सनले अमेरिकी आक्रमणलाई सघाउने जनाइसकेका थिए । जोनसनले कुस्नरमार्फत सन्देश पठाएकोमा बोल्टनलाई चित्त बुझेन ।
अप्रिल ९ गते बिहान उनले राष्ट्रिय सुरक्षा परिषद्को बैठक डाके । बैठकले दौमा हमलाको प्रतिवाद गर्नुपर्ने निर्णय ग¥यो । रणनीतिक शत्रु, अनुशासनहीन देश र आतङ्कवादीहरूले आणविक, रासायनिक र जैविक हतियार प्रयोग गर्न दिनुहुन्न भन्नेमा परिषद् एकमत थियो । (रुस र चीनलाई अमेरिका रणनीतिक शत्रु ठान्छ, इरान र प्रजग कोरियालाई अनुशासनहीन मान्छ ।) सिरियामाथिको हमलाले अन्य देशलाई चिढाउन नहुने र त्यस भेगमा इरान नै ‘वास्तविक खतरा’ रहनेमा बैठकमा उपस्थित सबैजना सहमत भए ।
त्यसपछि बोल्टनले रक्षामन्त्री म्याटिससँग फोनमा कुरा गरे । म्याटिसले रुस चिढिन सक्ने बताए । किनभने, दौमामाथि इजरायलले हमला गरेको रुसी आरोप थियो । म्याटिसले हलुका, मध्यम र कडा प्रतिक्रियाका विकल्पहरूबारे विचार गर्नुपर्ने बताए । यसपछि बोल्टनले बेलायती राष्ट्रिय सुरक्षा सल्लाहकार मार्क सेडविलसँग कुरा गरे । कुरैकुरामा इरानसँगको २०१५ मा भएको सन्धिबाट अमेरिका बाहिरिँदै गरेको सूचना पनि दिए । त्यसपछि पनि एटलान्टिक देशहरूको एकता बलियो नै हुनुपर्ने उनले बताए । त्यसपछि राष्ट्रिय सुरक्षा समितिका अधिकारीहरूको बैठक बस्यो । त्यसमा बोल्टनले सिरियाले रासायनिक हतियारको प्रयोग गरेकोमा मूल्य चुकाउनुपर्ने बताए । सिरियाले फेरिफेरि त्यस्तो हमला गर्न नसकोस् भनेर प्रतिरक्षा व्यवस्था बलियो बनाउनुपर्ने विचार राखे । यसबिच अमेरिकी, बेलायती र फ्रान्सेली सैन्य अधिकारीहरूबिच कुराकानी भइरहेको थियो ।
दिउँसो १ बजे राष्ट्रसङ्घका लागि अमेरिकी दूत निक्की हेलीले राष्ट्रसङ्घको बैठकमा के बोल्ने भनेर फोन गरिन् । त्यत्तिकैमा ट्रम्पको स्वर सुनियो । उनले पूर्व विदेशमन्त्री रेक्स टिलरसनले अफ्रिकालाई सहयोग गर्न किन ५० करोड अमेरिकी डलर छुट्याएको भनी प्रश्न गरे । भारतले अमेरिकी प्रतिरक्षा प्रणाली नकिनेर किन रुसी एस–४०० प्रणाली किन्यो भन्ने विषयमा ध्यान दिन भने । अमेरिकीभन्दा रुसी प्रतिरक्षा प्रणाली बलियो भएको ट्रम्पको बुझाइ थियो । फोनमै उनले निक्की हेलीलाई अमेरिकी राष्ट्रपतिको ट्वीटबाट अमेरिकाको दृष्टिकोण थाहा हुने बताउन भने । बोल्टनले हेलीलाई राष्ट्रसङ्घको बैठकपछि बेलायत र फ्रान्सका दूतहरूसँगै मिलेर पत्रकार भेटघाट गर्न भने । यसो गरे तीन देश एउटै सुरक्षा शक्ति भएको सन्देश जाने बोल्टनको सोच थियो । तर, हेलीले बोल्टनको आग्रह मानिनन् ।
दिउँसोपख बोल्टनले आफ्ना कर्मचारीहरूलाई इरानसँगको सम्झौताबाट बाहिरिने विकल्पहरू तयार गर्न भने । पौने ४ बजे उनले ट्रम्पसँगै फ्रान्सेली राष्ट्रपति म्याक्रोँसँग कुराकानी गरे । बेलायती प्रम थेरेसा मे पनि सिरियामा हमला गर्न तयार भएको म्याक्रोँले बताए । गल्तीवश इरानी संरचनाहरूमाथि हमला भए इरानले प्रतिवाद गर्नसक्ने सम्भावनाबारे पनि म्याक्रोँले सचेत गराए । हमलाको बेला अमेरिकी राष्ट्रपति देशमै हुनुपर्ने बताउँदै बोल्टनले ट्रम्पलाई पेरुमा हुने अमेरिकाज सम्मेलनमा नजान भने । उनले माने पनि । यसबिच बोल्टनले फ्रान्सका राष्ट्रिय सुरक्षा सल्लाहकार फिलिप एटियनसँग कुराकानी गरिसकेका थिए ।
अप्रिल १० को बिहान बोल्टनले बेलायती सुरक्षा सल्लाहकार सेडविलसँग कुरा गरे । अमेरिकाले ठूलै हमला गर्न लागेकोमा सेडविल खुसी थिए । तर, प्रम थेरेसा मेलाई संसदले हमलाको अनुमति नदिने हो कि भन्ने पिरलो थियो । ट्रम्पले थेरेसा मेसँग कुराकानी गर्दा बोल्टन सँगै थिए । व्यक्तिगतरूपमा ट्रम्प मेलाई रुचाउन्नथे । सिरियाली वायुसेनाको तियास मुख्यालयमा हमलाको तयारी चल्न थाल्यो । त्यहाँ इरानको उपस्थिति बाक्लो थियो । त्यसैले बोल्टनले सकेसम्म बढी गुप्तचरी रिपोर्टहरूको अध्ययन गरे । वामपन्थीहरूले र फक्स न्युजका केही रिपोर्टमा पनि सिरियाले हमला नगरेको बताइरहेका थिए । योजना संवेदनशील हुनाले बोल्टनले इजरायली सुरक्षा सल्लाहकार मीर बेन–शब्बतसँग पनि बरोबर छलफल गरिरहे ।
सिरियासम्बन्धी अर्को बैठकमा कडा प्रतिवाद जनाउनुपर्ने विचार हाबी भयो । रक्षामन्त्री म्याटिसले त्यसमा असहमति जनाए । उनले निर्णय लेख्नमा अरूचि देखाए । त्यसैले बैठकबिना निष्कर्ष टुङ्गियो । दिउँसोपखको बैठकमा ट्रम्पले सिरियामा रुसी उपस्थिति बाक्लो हुनाले उसको प्रतिक्रिया कस्तो होला भन्ने प्रश्न उठाए । यसको समाधान गर्न ज्वाइन्ट चीफ अफ स्टाफका प्रमुख डनफोर्डले आफ्ना रुसी समकक्षी गेरासिमोसँग कुराकानी गरे । उनले रुसी धनमाल र अधिकारीहरूलाई तारो नबनाइने आश्वासन दिए । यसैबिच अमेरिकाले ढिलो गर्ने भए आफूले सिरियामाथि हमला गर्ने भन्दै फ्रान्सबाट म्याक्रोँले फोन गरे । ट्रम्पको ढिलासुस्तीबाट बोल्टन पनि आजित थिए ।
बोल्टनले ट्रम्पलाई टर्कीका राष्ट्रपति रिसेप तायिप इर्दोगानसँग छलफल गर्न तीनवटा केही सुझाव दिए । पहिलो, यसपालि बेलायत, फ्रान्स र अमेरिकाले एकैचोटि हमला गरिने । दोस्रो, सैनिकमात्र नभई आर्थिक र राजनीतिक उपायहरू पनि अवलम्बन गरिने । तेस्रो, युद्धको तरिका दीर्घकालीन हुने । ट्रम्पले सहमति जनाए र बोल्टनलाई बढीभन्दा बढी मिडियाबाजी गर्न भने ।
इर्दोगानसँग कुराकानी भयो । उनले अमेरिकालाई साथ दिने–नदिने केही भनेनन् । बरु लगत्तै पुटिनसँग कुरा गर्ने बताए । ट्रम्पले रुसलाई कुनै किसिमको क्षति नहुने बताइदिन अनुरोध गरे । भोलिपल्ट टर्कीका सुरुक्षा सल्लाहकार इब्राहिम कालिनले बोल्टनसँग कुराकानी गरे । पुटिनले इर्दोगानलाई सिरियाको मामिलामा अमेरिकासँग लामो आमनेसामने गर्न नचाहेको र सबैले स्वाभाविक ढङ्गले व्यवहार गर्नुपर्ने बताएका थिए । यही कुरा कालिनले बोल्टनलाई बताइदिए । यसबिच डनफोर्डले रुसी समकक्षी गेरासिमोभसँग कुराकानी गरेका थिए । त्यसलाई बोल्टनले रुसको सकारात्मक जवाफको रूपमा लिए ।

प्रक्रियागत ढिलासुस्ती
खासमा ट्रम्प सिरियाबाट अमेरिकी सेना फिर्ता ल्याएर त्यहाँ खाडी देशहरूले आफ्नै सेना खटाउनुपर्ने पक्षमा थिए । यस्तो गरे अमेरिकाको रणनीतिमा असर पर्ने उनले देखेका थिएनन् । बरु, उनी देशमा भइरहेको आफ्नो आलोचनालाई मत्थर पार्न पनि सिरियाबाट सेना फिर्ता ल्याउन चाहन्थे । यता बैठकहरूमा म्याटिसले सिरियाको कुन भागमा हमला गर्ने भन्ने विषयमा खिचलो झिकिरहे । ट्रम्पले पनि कुनै निर्णय दिन सकेनन् । राष्ट्रिय सुरक्षा परिषद् पनि अनिर्णयको बन्दी भयो । म्याटिस र डनफोर्डले पाँचवटा विकल्प अघि सारे । ती विकल्पबाट सिरियामाथिको हमला असम्भव बनाउने बोल्टनले देखे । छलफलमै एक हप्ता बित्न लागेको थियो । ट्रम्प पनि आत्तिन थाले । म्याटिसले कदाचित रुस र इरानलाई क्षति भए घटनाले भयावह रूप लिने बताइरहेका थिए । बोल्टनको विचारमा म्याटिस हमलाको पक्षमा थिएनन् ।
सन् २०१७ मा सिरियामाथि अमेरिकाले एकपक्षीय हमला गरेको थियो । त्यो हमलाले अस्सादलाई अघि बढ्नबाट रोक्न सकेन । त्यसैले यसपालि अलि कडा प्रतिवाद गर्नुपर्ने ट्रम्पको दिमागमा थियो । तर, चाँडो प्रतिवाद गर्न उनले ढिलासुस्ती गरिरहे । बोल्टनले ट्रम्पलाई तताउन कुनै कसर बाँकी राखेनन् । सन् २०१७ मा ओबामाले रासायनिक हतियार भएका स्थानलाई मात्र तारो नबनाई सैन्य मुख्यालय, सेनाको धनमाल राख्ने स्थानहरू, वायुयान र अस्सादको घरमै हमला गरेको भए असादको मनोबल खस्किसकेको हुने थियो भन्दै बोल्टनले ट्रम्पलाई उक्साइरहे । ढिलासुस्तीका कारण अस्साद, रुस र इरानले आराम गरिरहेको देखेर बोल्टनको मन छियाछिया भइरहेको थियो ।
बैठकहरूमा म्याटिसलाई अर्थमन्त्री स्टिभेन मनुचिन, निक्की हेली र कानुनी सल्लाहकार म्याकगनले साथ दिइरहेका थिए । डनफोर्डका शब्दमा डोनाल्ड ट्रम्प सिरियाली रासायनिक हतियारका अखडाहरूमाथि सन् २०१७ भन्दा दोब्बर मिसाइल प्रहार गर्न राजी थिए । तर, प्रक्रिया र छलफलमै समय बितिरहेको थियो । यी बैठकका खबरहरू बाहिर चुहिसकेका थिए । सिरियाले आक्रमण हुने सम्भावित स्थलहरूबाट आफ्ना सामग्री र उपकरणहरू हटाइरहेको थियो । “यो बुश प्रशासन होइन,” म्याकगनले भनेको यो कुरा बोल्टनलाई सही लाग्न थाल्यो ।
निर्णय प्रक्रियामा ढिलाइ हुनुको कारण बोल्टनले आफूले ट्रम्पलाई सही विकल्प दिन नसकेको भन्ठाने । यस्तैमा ट्रम्पले सिरियामाथि हमलाको घोषणा गर्ने भए । यसको लागि ट्रम्पले बेलायती प्रम मे र फ्रान्सेली राष्ट्रपति म्याक्रोँसँग टेलिफोन वार्ता गरे । दुवै नेताले खुसी व्यक्त गरे ।
भोलिपल्ट अरब देशहरूले आफ्नो सेनालाई सिरिया र इराकमा तैनाथ गर्ने विषयमा के सोच्छन् भनेर बोल्टनले विभिन्न अरबी देशमा फोन गरे । उनीहरूले अमेरिकी खर्चको २५ वा ५० प्रतिशत रकम दिन खोज्ने अनुमान ट्रम्पको थियो । तर, उनी केही पनि नलिई सिरियाबाट छिट्टै सेना फिर्ता गर्ने पक्षमा थिए । कतार, संयुक्त अरब इमेरेट्स र इजिप्टका प्रतिनिधिहरूले अमेरिकी राष्ट्रपतिको प्रस्तावलाई गम्भीरतापूर्वक दिए । तर, यहाँ पनि प्रक्रियागत ढिलासुस्तीले ट्रम्पको सोच यसै हराएर गयो ।
९ बजेतिर केलीले ट्रम्पले आक्रमण गर्ने स्थलबारे छलफल गर्न चाहेको जानकारी दिए । ट्रम्प ती स्थानमा रुचि लिइरहेका थिए । म्याटिसले रक्षा मन्त्रालयले कुनै निर्णय नगरेको बताए । बोल्टन चिढिए । ट्रम्पले ‘हामीले केही गर्ने भएनौँ’ भनिरहे । बोल्टनले ‘हामीले ट्वीट गर्नेबाहेक कुनै उपति गर्ने भएनौँ’ भने । ट्रम्प भने जर्मनीसँग रिसाइरहेका थिए । उनले नेटोबाट बाहिरिने कुरा गरे, नोर्ड स्ट्रीम–२ पाइपलाइनलाई रोक्नुपर्ने बताए । प्रसङ्गबिना नै ट्रम्पले नोर्ड स्ट्रीम–२ पाइपलाइनको कुरा गरे र यस विषयमा अध्ययन गर्न मनुचिनलाई भने । ट्रम्पले फेरि पनि रुसी प्रतिक्रियाबारे सोधे । म्याटिसले उनलाई आश्वस्त पारे । बैठकमा ट्रम्प र केलीको वार्तालापबाट बोल्टनलाई केलीप्रति इष्र्या जाग्यो ।
ट्रम्पको सम्बोधन गर्नुअघि पुनः प्रम मे र राष्ट्रपति म्याक्रोँसँग कुरा भयो । भाषण लेख्ने व्यक्तिहरू आए । ट्रम्प वक्तव्यको भाषामा सन्तुष्ट भए । अन्तिम क्षणमा माइक पोम्पेओले आफू अझ कठोर आक्रमणका लागि तयार रहेको बताए । साँझपख हमलाका तयारीहरू सुरु भयो । हतियार र उपकरणहरू यथास्थान पठाउन थालियो । पौने ९ बजे ट्रम्पले देशको नाममा सम्बोधन गरे । यथासमय अमेरिका, बेलायत र फ्रान्सले सिरियामाथि हमला गरे । प्रतिकारमा सिरियाले फालेका ४० भन्दा बढी मिसाइलहरूले निसाना छुन सकेनन् । पश्चिमा देशको एकता प्रदर्शन भएकोमा ट्रम्प, मे र म्याक्रोँ खुसी थिए ।
राष्ट्रसङ्घका महासचिवले एन्टोनियो गुटेर्रेसले सुरक्षा परिषद्को अनुमतिबेगर हमला गरेकोमा आपत्ति जनाए । अन्तर्राष्ट्रिय कानुन मिचेकोमा उनले खेद व्यक्त गरे । बोल्टन अन्तर्राष्ट्रिय कानुनलाई हास्यास्पद मान्नेहरूमध्येका थिए । यसपालि पनि अस्साद चुप लागेनन् । उनले पछिपछि पनि हमलाहरू गरिरहे । २०१७ को हमलाले अस्साद १२ महिनासम्म चुप लागे । सन् २०१८ को हमलाले अस्सादलाई १३ महिनामात्र रोक्यो । मध्यपूर्वमा इरानको ‘वर्चस्व’ बढिरहेको सन्दर्भमा अमेरिकी नीति वा हमला लड्न उक्साएझैँ मात्र भयो – बोल्टनको निष्कर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *