भर्खरै :

सहलह साकोसको पन्ध्रौँ वार्षिक साधारणसभा

सहलह साकोसको पन्ध्रौँ वार्षिक साधारणसभा

भक्तपुर, २ पुस । सहलह बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौँ वार्षिक साधारणसभा शनिबार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भनपा वडा नं. ७ का वडा अध्यक्ष उकेश कवांले शनिबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अतिथि कवांले सहकारीले बहुसङ्ख्यक सदस्यहरूको हितमा काम गर्नुको साथै सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
शिक्षा, स्वास्थ्य निःशुल्क र रोजगारीको ग्यारेन्टी राज्यले दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले समाजवादी देशमा मान्छेको जन्मदेखि मृत्युसम्मको सम्पूर्ण व्यवस्था राज्यले लिने हुँदा समाजवादी व्यवस्था स्थापनाको लागि नेमकिपा सङ्घर्षरत रहेको बताउनुभयो ।
कोभिडको महामारी नियन्त्रण गर्न पुँजीवादी देशहरू असफल भएको तर समाजवादी व्यवस्था सफल भएको उहाँले स्पष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा विशेष जोड दिँदै कार्य गरिरहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “विकास निर्माणको कार्य गुणस्तरीय बनाउन, कम लागतमा काम सम्पन्न गर्न, विकास निर्माणमा जनसहभागिता जुटाउन र काममा अपनत्व कायम गर्न नै भनपाले उपभोक्ता समितिमार्फत विकास निर्माणका कार्यहरू गराउँदै आएको हो ।”
संस्थाका अध्यक्ष श्याम तजलेको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका सल्लाहकार शिवनारायण ग्वाछा, पुरुषोत्तम ग्वाछा, त्रिरत्न ग्वाछा, शिवराम बोहजू, विष्णुप्रसाद दुमरु, बलराम गोसाई, एण्डिज ग्वाछालगायत मित्र सहकारीका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यक्रममा संस्थाका प्रवीण तजले र रामप्रसाद ग्वाछाले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सचिव रामेश्वर मचामसी, कोषाध्यक्ष श्रीप्रसाद ग्वाछा, लेखा सुपरिवेक्षण समितिका संयोजक मैयाकेशरी ग्वाछालगायतले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा अतिथि कवांले ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाइ सम्मान गर्नुका साथै विद्याारिधि र एसएलसी उत्तीर्ण संस्थाका सदस्यहरूलाई कदरपत्रका साथ सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *