भर्खरै :

वागीश्वरीमा काठमाडौँस्थित गान्धी आदर्श माविबाट अवलोकन

वागीश्वरीमा काठमाडौँस्थित गान्धी आदर्श माविबाट अवलोकन

भक्तपुर, २ पुस । वागीश्वरी माध्यमिक विद्यालय र वागीश्वरी कलेजमा असल अभ्यासहरूबारे अनुभव आदानप्रदान गर्न गान्धी आदर्श माध्यमिक विद्यालय काठमाडौँको एक टोलीले शनिबार अवलोकन गरेको छ ।
टोलीको स्वागत कार्यक्रममा वागीश्वरी माविका प्राचार्य कृष्णप्रसाद धन्छाले विद्यालयले गर्दै आएको नमुना कार्यहरूबारे जानकारी दिँदै छिमेकी कमजोर विद्यालयहरूलाई सँगसँगै अगाडि बढाउन आवश्यक मद्दत गर्दै आएको जानकारी दिनुभयो ।
विद्यालयबाट निवृत्त हुने बेला शिक्षकहरूले के लिएर जाने भन्दा पनि के छोडेर जाने भन्ने सोचेर निवृत्त शिक्षकहरूले विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गर्न अक्षय कोष स्थापना गर्ने गरेको उदाहरण उहाँले बताउनुभयो ।
विद्यालय तथा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरी माविबाट छिमेकी विद्यालयहरूलाई सँगसँगै अगाडि बढाउन मद्दत गर्दै आएको बताउँदै विद्यालयका हरेक कर्मचारी तथा शिक्षकहरूको वर्षको एक दिन बराबरको तलब विद्यार्थीका लागि छात्रवृत्तिस्वरूप प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
शिक्षा मन्त्रालयका उच्चपदस्थ व्यक्तिहरूबाट भारतीय दूतावास, दक्षिण कोरियाको जुत्ता कम्पनीमार्फत विभिन्न सर्तमा विद्यालयको प्रगतिका लागि भनी ल्याएको उपहारहरूलाई अस्वीकार गरेको क्षण सम्झँदै उहाँले बरु दुःख कष्ट भोग्न तयार छौँ तर केही पाउने लोभमा स्वाभिमानलाई बन्धकी राख्न नसकिने प्रस्ट पार्नुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यालय र कलेजमा कार्यरत शिक्षक कर्मचारीहरूले आफ्ना सन्तानलाई आफू कार्यरत शैक्षिक संस्थामै अध्ययन गराउँदै आएको जानकारी दिँदै कलेजमा अध्यापनरत शिक्षकहरूको लागि वार्षिक दुई ओटा तालिमहरू सञ्चालन गर्दै आएको बतानुभयो ।
गान्धी आदर्श मावि व्यवस्थापन समितिका सदस्य गयाप्रसाद उपाध्यायले वागीश्वरीको सामूहिकताबाट आफू प्रभावित भएको चर्चा गर्दै यहाँबाट सिकेका कुराहरूलाई आफ्नो विद्यालयको प्रगतिको निम्ति प्रयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रअ धन्छाले विद्यालय तथा कलेजको तर्फबाट मायाको चिनोस्वरूप विभिन्न प्रकाशनहरू प्रदान गर्नुभएको थियो ।
अध्ययन टोलीमा विद्यालयका निमित्त प्रअ छत्रबहादुर कटुवाल, सहायक प्रअ कृष्णबहादुर कार्कीसहित ५० जनाभन्दा बढी सहभागी थियो ।
वागीश्वरी माविका प्रधानाध्यापक धन्छाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वागीश्वरी कलेजका प्रवीण प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *