आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
‘मजदुर’ का अबका केही अङ्कमा जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिनेछ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)
जी–७ सम्मेलन
सिंगापुर जानुअघि ट्रम्पको टोली जी–७ सम्मेलनको लागि क्यानाडा गयो । सन् २०१४ मा रुसलाई जी–७ देशबाट निकालिएको थियो । त्यहाँ ट्रम्पले आफ्नो व्यापार नीति दोहो¥याए । उनले जी–७ देशहरूले सबैखाले कर र अनुदानहरू हटाउनुपर्ने भनेर बम फाले । युरोपेली देशहरू त्यसो गर्ने पक्षमा थिएनन् । ‘खुला व्यापार’ को विश्वव्यापी रटान ढोँग हो । संसारका सबै देशले आफूले बाहेक अन्य सबै देशले ‘खुला व्यापार नीति’ लागू गर्नुपर्छ भन्छन् । अमेरिका, क्यनडा, जापान, फ्रान्स सबैको चरित्र यस मानेमा दोहोरो छ । बोल्टन यो विचार नलुकाई उल्लेख गर्छन् ।
सम्मेलनमा ट्रम्पले क्यानाडाका प्रम ट्रयुडो र फ्रान्सका म्याक्रोँलाई घोचपेच गरिरहे । उनीहरूले पनि उसरी नै प्रत्युत्तर दिए । उनले चीनले व्यापारका सबै अन्तर्राष्ट्रिय नियमहरू नमानेको बताए । क्यानाडासँग नयाँ व्यापार सम्झौता गर्ने बताए । फ्रान्सको हकमा भने उनले युरोपेली युनियन चीनभन्दा पनि खराब छ भने । चीनलगायत विश्व व्यापार सङ्गठनका धेरै देशले आफूलाई विकासशील देश भन्दै अमेरिकालाई धोका दिएकोमा ट्रम्प बम्किए ।
युरोपेलीहरू कागजी खेलमा चतुर थिए । त्यसैले उनीहरूले अमेरिकालाई झुक्याउने गरी मस्यौदा तयार गर्नपट्टि लागे । राष्ट्रपतिका आर्थिक सल्लाहकार कड्लोलगायत अमेरिकी अधिकारीहरू उनीहरूको पासोमा फस्दै गएको बोल्टनले देखे । यति नै बेला बाहिर डिनर चल्दै थियो । ट्रम्पले रुसलाई जी–७ मा फर्काउनुपर्ने विचार राखे । अन्य देशका नेताहरूबिच खलबली मच्चियो । ट्रम्पले नेताकै तहमा सहमति गरौँ भने । कर्मचारीहरूलाई फसाद प¥यो । ट्रम्पलाई युरोपका चतुर नेताहरूले फसाउने भए भन्ने उनीहरूको चिन्ता थियो । एघार बजेतिर नेताहरूले अधिकारीहरूलाई संयुक्त वक्तव्यको मस्यौदा गर्न दिने भए ।
भोलिपल्ट जतिसक्दो बिहानै ट्रम्पलाई फर्काउन सके गडबडी रोक्न सकिने बोल्टनलगायत अधिकारीहरूले देखे । तर युरोपेली नेताहरूले उनलाई जलवायु परिवर्तनसम्बन्धी एउटा दस्तावेजमा हस्ताक्षर गर्न मनाए । प्रेस सम्मेलनपछि ट्रम्पको टोली सिंगापुरतिर उड्यो । अन्य कामको लागि आर्थिक सल्लाहकार ल्यारी कड्लो क्यानाडामै रोकिए । उनको टोलीलाई बोल्टनले अमेरिकाले लिनुपर्ने अडानबारे निर्देशन दिएका थिए ।
जहाजमा ट्रम्प हर्षित थिए । सबैजना सुतेको बेला ट्रम्पले जहाजबाटै जी–७ सम्मेलनको संयुक्त वक्तव्यमा आफ्नो सहमति नभएको ट्वीट गरे । अमेरिकी इतिहासमा यस्तो कहिल्यै भएको थिएन । ट्रम्पको टोली सिंगापुर ओर्लिँदा संसारभर मिडियामा ट्रम्पको रवैयाबारे अनेक टीकाटिप्पणी भइरहेको थियो । ट्रम्पले आफूभन्दा पहिले नै सिंगापुर पुगेका कोरियाली समकक्षीबारे मिडियाहरू के लेख्दै छन् भनी समाचारहरू हेर्न थाले ।
सिंगापुर भेटवार्ता
सिंगापुर पुगेपछि ट्रम्पले मङ्गलबार नभई सोमबार नै किम जङ उनलाई भेट्न चाहेको बताए । खासमा बोल्टनलगायत अधिकारीहरूले भेटवार्ता छोट्याए ‘कम हानि’ होला भनेर भेटघाटको समय सकेसम्म छोटो बनाएका थिए । उनीहरू उत्तर कोरियालाई सकेसम्म कम ‘सहुलियत’ दिन कटिबद्ध थिए ।
सोमबार ट्रम्पले सिंगापुरका प्रम लि सियन लुङलाई इत्सानामा भेटे । इत्साना दरबार पहिले बेलायती भाइसरायको महल थियो । त्यसपछि सिंगापुरका विदेशमन्त्री बालकृष्णन्सँग भेट भयो । ट्रम्प–किम बैठकको तयारीका क्रममा उनी उत्तर कोरिया गएका थिए । उनले ट्रम्पलाई आर्थिक नाकाबन्दीले कोरियालाई नछोएको र ऊ बलियो आणविक शक्ति बनेको बताए । अमेरिकाले भेटवार्तामार्फत कोरियालाई तीनवटा सहुलियत दिइसकेको उनको तर्क थियो । एक, भेटघाटको अनुमति दिनु । दुई, बढीभन्दा बढी दबाब दिने अमेरिकी नीतिमा फर्किन अप्ठ्यारो बनाउनु । तीन, कोरियामा केन्द्रित हुँदा चीनसँगको मुख्य रणनीतिक खेल ओझेलिनु । बैठकलाई असफल पार्न चीन खेल्नसक्ने विषयमा ट्रम्पलाई चिन्ता थियो । तर, सिंगापुरे विदेशमन्त्रीको विचारले उनी खुसी भएनन् ।
ट्रम्पले आफ्नो अलमले चरित्र देखाइरहे । उनले सिंगापुर वार्ता ‘लोकप्रियता’ कमाउनका लागि हो भने । बोल्टनसँगको अर्को भेटमा उनले ‘कोरियाले रुस र चीनसँग भेटेर हामीलाई बेफाइदा पु¥याइरहेको छ आउँदो शुक्रबार हामीले ३०० भन्दा बढी प्रतिबन्धहरू थप्नुपर्छ, चीनमाथि पनि प्रतिबन्ध लगाउनुपर्छ’ भने । दक्षिण कोरियाबाट फोन गरेर राष्ट्रपति मुन जे–इनले ट्रम्पलाई आफू सिंगापुर आउन चाहेको बताए । उनको आग्रहको सुनुवाइ भएन ।
रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्का अधिकारीहरू बैठकपछि हस्ताक्षर हुने सम्झौताको मस्यौदा तयार गर्न जुटिरहेका थिए । त्यसमा धेरै सहुलियत हुनाले आफू ट्रम्पलाई त्यसमा हस्ताक्षर गराउने पक्षमा नरहेको बोल्टनले बताए । बोल्टन र अन्य प्रमुख अधिकारीहरू त्यस विषयमा बैठक बसे । केही हात नपारी कोरिया युद्ध अन्त्यको घोषणा गर्नुहुन्न र त्यो घोषणाको बदलामा कोरियाले आणविक अस्त्र परित्याग गर्नुपर्छ भन्ने बोल्टनको धारणा थियो । युद्ध अन्त्यको घोषणा गरे संसदमा डेमोक्र्याटहरू मात्र नभई रिपब्लिकन पार्टीमा सांसदहरू पनि ट्रम्प सरकारविरुद्ध जाने उनले तर्क राखे । तर, ट्रम्पले केही न केहीमा त हस्ताक्षर गर्नुपर्ने थियो । बैठकमा निःशस्त्रीकरण, जापानी नागरिकहरूको मुद्दा, कोरिया युद्धमा बरामद सामानहरू आदि विषयहरू उठाउने तय भयो । केही सीप नलागे छोटो नाम मात्रको दस्तावेज मस्यौदा गर्ने सहमति भयो । बोल्टन र पोम्पेओले यी कुरा आफ्ना अधिकारीहरूलाई बताए । किनभने मस्यौदा लेखनमा उनीहरू नै बस्नुपथ्र्यो ।
भोलिपल्ट बिहान ट्रम्पले कर्मचारीले तयार पारेको छोटो दस्तावेज हेरे र ‘ठिकै छ’ भने । उनले कोरिया युद्ध अन्त्यको घोषणा उल्लेख नगरिएको भनेर दस्तावेजमा खोट देखाएनन् । बोल्टन छक्क परे ।
ट्रम्प–किम वार्ता सुरु भयो । किमले ट्रम्प उनीपूर्वका राष्ट्रपतिहरूभन्दा फरक भएको र यस्तो भेटवार्ताको चाँजो मिलाउन नसकेको बताए । ट्रम्पले ओबामाको आलोचना गरे । उनले किमलाई महान् व्यक्तित्व भएका निकै असल मानिस भने । किमले राजनीतिमा मानिसहरू अभिनेताझैँ हुने बताए । ट्रम्पले कटाक्ष बुझेनन् । किमले कोरियाली प्रायःद्वीपलाई निःशस्त्रीकरण गर्न तयार रहेको बताए । उनले विगतमा अमेरिकी सरकारहरूको आक्रामक नीतिका कारण कोरिया र अमेरिकाबिच समस्याहरू उत्पन्न भएको बताए । उनले ट्रम्पलाई पछिपछि पनि भेटिरहनुपर्ने बताए ।
जवाफमा ट्रम्पले विगतमा केही अमेरिकीहरू आक्रामक भएको स्वीकार गरे । उनले उत्तर कोरियासँग आणविक सन्धि गर्नका लागि संसदमा बहुमत जुटाउने वचन दिए । इरानसँगको आणविक सन्धिबाट भर्खरै हात झिकेका ट्रम्पले उत्तर कोरियाको सन्दर्भमा उल्टो कुरा गरेको सुनेर बोल्टनको कन्सिरी तात्यो । किमले थप आणविक परीक्षण नगरिने बताए । किमले दक्षिण कोरियामा हुने संयुक्त सैन्य अभ्यासले आफ्ना जनता रुष्ट भएको बताए । यो कुरा उनले दक्षिण कोरियाली प्रम मुन जे–इनसँग पनि उठाएका थिए । त्यसबेला मुनले भनेका थिए, “संयुक्त सैन्य अभ्यासको निर्णय अमेरिकाले मात्र गर्छ सक्छ ।” मुनको भनाइबाट दक्षिण कोरियामा अमेरिकाले जबर्जस्ती सेना राखेको पुष्टि हुन्छ ।
सैन्य अभ्यासलाई ट्रम्पले समय र पैसाको बर्बादी भने । दुई देशबिच सुमधुर वार्तालाप हुँदासम्म आफूले जर्नेलहरूलाई उक्त अभ्यास बन्द गर्न आदेश दिने ट्रम्पले आश्वासन दिए । संरा अमेरिकाको पैसा जोगाइदिएकोमा ट्रम्पले किमलाई मुरीमुरी धन्यवाद दिए । ट्रम्पले संयुक्त सैन्य अभ्यास रोक्ने निर्णय गर्नुपूर्व आफूसँग सरसल्लाह नगरेकोमा रक्षामन्त्री म्याटिस खिन्न भए । खासमा ट्रम्पले कसैसँग सल्लाह नगरी सो निर्णय लिएका थिए । आफूले सजिलै निर्णय लिँदै आएको ट्रम्पले किमलाई बताए । केली र पोम्पेओले ‘हो’ भने ।
बैठकमा किमले एक घन्टामै धेरै कुरा छलफल भएको बताए । ट्रम्पले अरूले यस्तो काम गर्नै नसक्ने बताए । ट्रम्पले पुनः आफ्ना सैन्य जनरलहरूको आलोचना गरे । उनले किमको प्रशंसा गर्दै उनलाई ‘रकेटम्यान’ को उपाधि दिएको बताए । किम हाँसिरहे । त्यसपछि ट्रम्पले कोरिया निःशस्त्रीकरणमा गए उसलाई केकस्तो फाइदा हुन्छ भनी अमेरिकी सेनाले तयार पारेको भिडियो हेर्न भने । किमलाई लोभ्याउन सेनाले सो भिडियो तयार गरेको थियो । भिडियो हेरेपछि संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने कार्यक्रम थियो । वक्तव्य तयारीमा ढिलाई हुनाले थप कुराकानी भयो ।
किमले अर्को भेटपछि अमेरिकी नाकाबन्दीबारे छलफल गर्नुपर्ने बताए । आफूले पनि त्यस्तै सोचेको ट्रम्पले प्रत्युत्तर दिए । भित्रभित्र उनले थप सयौँथरी नाकाबन्दी लगाउनुपर्ने कुरा गर्दै थिए । ट्रम्पको प्रत्युत्तर सुनेर पोम्पेओ र बोल्टन वाल्ल परे । किमले अमेरिकाका पुराना नेताहरूले यस्तो छलफल किन नगरेका होलान् भनी सोधे । ट्रम्पले तिनीहरू मूर्ख थिए भने । त्यसपछि किमले पोम्पेओमा रुचि लिए । ट्रम्पले पोम्पेओको तारिफ गरे र टिलरसनले यस्तो भेटवार्ताको प्रबन्ध गर्न सक्ने थिएनन् भने ।
किमले ‘काल्पनिक संसारमा बसेजस्तो अनुभूति भइरहेको छ’ भने । बोल्टनलाई त्यो कुरा सही लाग्यो । यताउतिकै कुरा चलिरहँदा ट्रम्पले बोल्टनको परिचय दिए, “यिनी पहिले चील थिए । अहिले परेवा बनेका छन् । केही बोल्छौँ कि जोन ?” बोल्टनले भने, “मिलेपछि प्योङयाङ घुमौँला ।” ट्रम्पले भने, “जोन पहिले फक्स न्यूजमा थिए । रुस, चीन र उत्तर कोरियाविरुद्ध युद्ध गर्नुपर्छ भनिरहन्थे । तर, भित्र धेरै फरक छ ।” उत्तरमा किमले भने, “बोल्टनजी हामीबारे नराम्रो कुरा गरेको मैले सुनेको छु । अहिले सँगै फोटो खिचाउनुपर्छ । बोल्टनजी त्यति खराब पनि हुनुहुन्न भनी देशमा लगेर देखाउनुपर्छ ।”
यतिञ्जेल पनि वक्तव्य तयार नभएपछि दुई नेताहरू अलिबेर होटलको बगैँचामा टहलिए । बोल्टनले उत्तर कोरियाली प्रमण्डल नियाले । उनीहरू व्यवस्थित भएकोमा उनलाई कताकता डाहा लाग्यो । जब कि अमेरिकी टोलीको व्यवहार चुस्त थिएन । वक्तव्यमा हस्ताक्षर भयो र पत्रकार भेटघाटपछि औपचारिक कार्यक्रम टुङ्गियो । केहीबेरमै अमेरिकी टोली विमानमा थियो । विमानबाटै ट्रम्पले जापानी प्रम आबे र दक्षिण कोरियाली राष्ट्रपति मुनसँग कुराकानी गरे । आफूले २७ घन्टा नसुती बैठकलाई सफल पारेको ट्रम्पले मुनलाई बताए । राष्ट्रपतिले गफ दिएकोमा बोल्टन र केली भित्रभित्र हाँसे । मुनले राष्ट्रपति किम निःशस्त्रीकरणका लागि तयार भएको बताए । पक्राउ परेका जापानीहरूको विषयमा कुरा उठाइदिएकोमा आबेले धन्यवाद भने ।

सम्झौता कार्यान्वयनमा आनाकानी
अमेरिकामा कोरियालीहरूलाई ‘सहुलियत’ दिएकोमा रिपब्लिकन सांसदहरू चिढिएका थिए । पोम्पेओ र बोल्टन पनि खुसी थिएनन् । रक्षामन्त्रीसँग कुरा गरेर दक्षिण कोरियास्थित अमेरिकी सेनालाई “केही नगर, तर त्यही बस” भन्नुपर्ने बोल्टनले सोचे । यत्तिकैमा संयुक्त सैन्य अभ्यासको तयारी चलिरहेको समाचार आयो । ट्रम्पले रक्षामन्त्रीलाई फोन गरेर अभ्यास रोक्न बोल्टनलाई भने । बोल्टनले रक्षा मन्त्रालय पेन्टागन फोन गरेर कुनै निर्देशन नआएसम्म सार्वजनिक वक्तव्य नदिन भने ।
ह्वाइट हाउस पुुगेर ट्रम्पले उत्तर कोरियाबाट अब कुनै आणविक खतरा नभएको ट्वीट गरे । अब ट्रम्पले के गर्छन् भन्ने विषयमा मुन र आबेको चासो थियो । त्यसबारे ट्रम्प आफै पनि अनभिज्ञ थिए । एक दिन ट्रम्पले रुस र चीनको गुनासोका कारण ६ महिनाअघि आफूले झन्डै सैन्य अभ्यास रोकेको थिएँ भने । यता कर्मचारीतन्त्रले अभ्यास रोक्ने विषयमा कुनै वक्तव्य निकाल्न चाहन्थे । त्यसो गरे आफूहरूले थप उत्तरदायित्व लिनु नपर्ने उनीहरूको सोच थियो । ट्रम्प चिढिने देखेर म्याटिसले मौन बस्ने निधो गरे । सङ्ख्या घटाएर भए पनि सैन्य अभ्यासहरू गर्ने डनफोर्डको तयारी थियो । बोल्टनले दुइटा ठूला अभ्यास मात्र ‘स्थगित’ गर्न भने । जानाजान ‘रद्द’ भन्ने शब्द प्रयोग गरिएन । सम्झौता व्यवहारमा लागू भयो कि भएन भनी जाँच्न सेप्टेम्बर १ सम्मको म्याद राखियो ।
सिंगापुरबाट फर्केपछि ट्रम्पको खुट्टा भुइँमा थिएन । उनले पोम्पेओको खुब तारिफ गरे । अब युद्ध अभ्यास नहुने उनले उद्घोष गरिरहे । उनले राष्ट्रपति किमलाई पत्रिकाका खबर, फोटो आदि उपहार हस्ताक्षरसहित पठाए । जूनको अन्त्यतिर ट्रम्पले दक्षिण कोरिया र अमेरिकी स्वार्थ फरक रहेको भेउ पाए । दक्षिण कोरियाली राष्ट्रपति मुनको चासो निःशस्त्रीकरणमा भन्दा दुई कोरियाबिचको सम्बन्धमा थियो ।
सन् २०१८ को संसदीय चुनावमा ट्रम्पले उत्तर कोरियाबारे कुनै न कुनै राम्रो खबरको प्रचार गर्नुपर्छ भने । पोम्पेओको सरगर्मी सुरु भयो । उनी दक्षिण कोरियाले आपसी सम्बन्धमा भन्दा निःशस्त्रीकरणमा जोड दिएको सुन्न चाहन्थे । पोम्पेओ जुलाई ६ मा उत्तर कोरिया जाने भए । विदेश मन्त्रालयका अधिकारीहरू सहुलियत दिन लालायित भएको देखेर बोल्टनको पारो तात्यो । बोल्टनले पोम्पेओलाई कुनै सहुलियत नदिन भने । निःशस्त्रीकरणलाई तीव्रता दिए मात्र केही ‘दिन सकिने’ उनको स्पष्ट धारणा थियो । उत्तर कोरिया त्यसको लागि तयार नहुनेमा पोम्पेओ ढुक्क थिए । यसको अर्थ ट्रम्पले चुनावमा ‘राम्रो समाचार’ नपाउने हुन जान्थ्यो ।
उत्तर कोरियामा पोम्पेओको वार्ता उपाध्यक्ष किम यङ चोलसँग भयो । बैठकमा केही हात नपरेको पोम्पेओले फोन गरेर बोल्टन र केलीलाई बताए । पोम्पेओ फर्किने बेला उत्तर कोरियाले बैठकलाई ‘खेदजनक’ र ‘गुन्डाले जस्तो एकतर्फी निःशस्त्रीकरणको माग गरेको’ भन्यो । कोरियाले निःशस्त्रीकरण गर्नुभन्दा पहिले अमेरिकासँग ‘वचन’ मागेको र निःशस्त्रीकरण गर्नुअघि ‘वचन’ दिन नसकिने बताए । यसबाट काम अघि नबढ्ने स्पष्ट भयो ।
ट्रम्पले “विश्वास बढाउने कुरा व्यर्थ हो ।” पोम्पेओले थपे, “यो खालि नाकाबन्दी खुकुलो पार्ने खेल हो ।” उनले उत्तर कोरियाको वक्तव्यमा किम जङ उनको “राष्ट्रपति ट्रम्पमाथि अझै पनि विश्वास छ” भन्ने वाक्यांश राम्रो समाचार बन्न सक्ने बताए । ट्रम्पले उत्तर कोरियामाथि चीनको कस्तो प्रभाव छ भनी सोधे । पोम्पेओले चीनको भूमिका पर्खेर हेर्नुपर्ने बताए । त्यसपछि ट्रम्पले हामीले किन कोरिया युद्ध लडेको होला, हाम्रो सेना किन कोरिया प्रायःद्वीपमा राखेको होला भनी उफ्रिन थाले । उनले युद्ध अभ्यासको विरोध गरे । पोम्पेओले किम जङ उनलाई भेट्न नपाएको कुरा ट्रम्पलाई थाहा थिएन । त्यसैले आफूले पठाएको ‘रकेट म्यान’ नामक फिल्मको चक्का राष्ट्रपति किमले पाए कि पाएनन् भनी सोधे ।
चुनाव चलिरहेकोले कोरियासम्बन्धी खराब समाचार बाहिर लगिएन । ट्रम्पले हतियार परीक्षण बन्द भएको प्रचार गरिरहे । कोरियाले केही हतियार विदेशमा लुकाएर राखेको शङ्का गर्छन् । ट्रम्पले त्यसमा चासो लिएनन् । बरु अमेरिकी स्वार्थको घेरा नाघेर आफ्नो स्वार्थ हेरेकोमा उनले दक्षिण कोरियासँग व्यापार सम्झौता ‘कोरस’ मा हस्ताक्षर गरेनन् । प्योङयाङमाथि नाकाबन्दी लगाइरहेको दक्षिण कोरियाप्रतिको ट्रम्पको व्यवहार बोल्टनलाई मन परेन । पछि मात्र सो सम्झौतामा हस्ताक्षर भयो । ट्रम्प चीनप्रति सशङ्कित हुन थाले । उसले नै उत्तर कोरियासँगको सम्बन्ध भाँडेको उनले ठाने । चीनसँग सम्बन्ध सुधार गरेपछि सब ठिकठाक हुने उनको सोच थियो ।
जुलाई २१ मा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्यो । कूटनीतिक, आर्थिक र सैन्य नाकाबन्दी कडा पार्ने सहमति भयो । यस्तैमा उत्तर कोरियाले ट्रम्पलाई एउटा पत्र पठायो । त्यसमा पुनः भेटवार्ताको प्रस्ताव गरिएको थियो । पत्रलाई बोल्टनले कटाक्ष गर्दै ‘प्रेमपत्र’ भने । पत्र पढेपछि ट्रम्पले “मैले किम जङ उनलाई भेट्नैपर्छ । उनलाई ह्वाइट हाउसमा बोलाउनुपर्छ ।” बोल्टनले राष्ट्रसङ्घको महासभामा भेट्न भने । भित्रभित्र बोल्टन, केली र पोम्पेओ ट्रम्प–किम भेटको पक्षमा थिएनन् । ट्रम्पले पत्रको लागि कोरियालाई धन्यवाद भन्दै एउटा ट्वीट गरे । अधिकारीहरूले तयार पारेको जवाफी पत्रमा भेटवार्ताको विषयमा केही लेखिएको थिएन । यसलाई ट्रम्पले राष्ट्रपति किमको अपमान ठाने । त्यसैले पत्रको पुछारमा ‘भेट्ने आशासहित’ लेखेर हस्ताक्षर गरे ।
Leave a Reply