प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
भक्तपुर, ६ पुस । भद्रकाली सहयोग समिति भक्तपुर शाही परिवारको आयोजनामा मङ्सिर ४ गतेको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा विजयी हुनुभएका जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीलाई मत दिने सबैलाई धन्यवाद दिनुभयो । उहाँले नेमकिपाले स्वदेशमै मल कारखाना स्थापना गर्नुपर्नेमा जोड दिँदै आएको उल्लेख गर्दै किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले थप्नुभयो, “कमिसन खानकै लागि सरकारहरूले मल कारखाना स्थापना नगरी भारतसँग अर्बौँ रुपैयाँको मल खरिद गरिरहेका छन् ।”
शासक दलहरूले पारित गरेको नागरिकता विधेयकले देशको सार्वभौमिकता खतरा पर्ने भएकोले नेमकिपाले विरोध गरेको उल्लेख गर्दै उहाँले भारतीय विस्तारवादले महाकाली नदीको पानीको धार नेपालतर्फ धकेलेर १० मिटरभन्दा बढी नदी मिचेर तटबन्ध उठाएको भत्काउनुपर्नेमा जोड दिनुभयो ।
सांसद सुवालले युवालाई रोजगारीको नाममा विभिन्न देशमा सस्तो ज्यामी बन्न पठाएर रेमिटेन्स भित्याउँदैमा देशको आर्थिक स्थिति बलियो नहुने विचार राख्दै खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।
पैसा र सामान बाँडेर निर्वाचन जितेका शासक दलका सांसदहरू फौजदारी अभियोग लागेका र फरार सूचीमा परेका समेत भएकोले आउँदा दिनमा पनि कामदार जनताको हित नहुने बताउनुभयो ।
नेमकिपाले देशभरिका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गराउन ख्वप कलेजहरू सञ्चालन गराएको उल्लेख गर्दै उहाँले ख्वप विश्वविद्यालय स्थापना भए थप जनताको सेवा हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले निर्वाचनको समयमा जसरी जनतासँग नेमकिपाका उम्मेदवारहरूले छलफल गरेका थिए त्यसैगरी निर्वाचनपछि पनि जनताको समस्याबारे छलफलको लागि उपस्थित हुने धारणा राख्नुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले देशको शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका हरेक क्षेत्रमा सरकारले निजीकरणलाई प्राथमिकता दिएकोले गरिब जनतालाई थप दुःख भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले शाही परिवारका सदस्यहरूले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय जानकारी राखी राजनीतिकरूपमा सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भद्रकाली सहयोग समिति भक्तपुर, शाही परिवारका अध्यक्ष चन्द्रबहादुर शाहीले निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा समितिका सचिव बुद्धिबहादुर शाही, सहसचिव प्रदीप शाही र किरण शाहीले पनि जनप्रतिनिधिहरूलाई बधाई दिनुभयो ।
Leave a Reply