भर्खरै :

ट्रम्पका सुरक्षा सल्लाहकारको गन्थन – ११

ट्रम्पका सुरक्षा सल्लाहकारको गन्थन – ११

(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
‘मजदुर’ का अबका केही अङ्कमा जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिनेछ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)
नयाँ चरणमा ट्रम्प–इर्दोगान सम्बन्ध
डिसेम्बर १४ मा ट्रम्प र इर्दोगानबीच फोनवार्ता भयो । ट्रम्पले हल्कबैङ्कको मुद्दा किनार लाग्न थालेको जानकारी गराए । त्यसपछि कुरा सिरियातिर मोडियो । इर्दोगानले ‘वाइपीजी’ (सिरियाली कुर्द मिलिसिया) र ‘फेटो’ (गुलेनवादीहरू) टर्कीका मुख्य चुनौती भएको बताए । यिनले नै अमेरिका र टर्कीको सम्बन्ध बिगारेको उनको दाबी थियो । उनले अमेरिकाले ‘वाइपीजी’ का ३०–४० हजार मिलिसियालाई अमेरिकाले तालिम दिइरहेको जानकारी गराए । ट्रम्पको राजनीतिक सोच र अमेरिकी सैन्य गतिविधिमा तालमेल नमिलेको उनले बताए । टर्कीले ‘आइएसआइएस’ र कुर्द लडाकुहरूबाट छुटकारा चाहेको उनको भनाइ थियो ।
टर्कीले जिम्मेवारी लिने हो भने अमेरिका सिरियाबाट बाहिरिने ट्रम्पले बताए । इर्दोगानले हातहतियारहरू चाहिन्छ भने । ट्रम्पले हुन्छ भने । उनले तत्काल बोल्टनलाई सिरियाबाट बाहिरिने कार्ययोजना बनाउन भने । ‘आइएसआइएस’ सिधिएको र बाँकी लडाकुहरूलाई टर्कीले सखाप पार्ने उनले भने । ट्रम्पले बोल्टनलाई सैन्य तयारी गर्न र मनुचिनलाई हल्कबैङ्कको मुद्दा मिलाउन भने । छिट्टै अमेरिकी सेनाले सिरियामा आफ्नो काम सकाएर घर फर्किने योजना बन्ने भयो । बोल्टन सिरियाबाट सेना फर्काउने पक्षमा थिएनन् । त्यसैले उनलाई आपत प¥यो । उनी ‘आइएसआइएस’ को खिलाफतभन्दा इरानलाई सिरियामा ठूलो खतरा ठान्थे ।
ट्रम्प–इर्दोगान वार्तापछि अमेरिकाले उत्तरपूर्वी सिरिया टर्कीको हातमा सुम्पिने भयो भनेर टर्कीले हल्ला गर्न थाल्यो । त्यहाँ कुर्दहरूले हजारौँ ‘आइएसआइएस’ लडाकुहरूलाई समातेको थियो । तिनलाई कहाँ लैजाने भन्ने सकस भयो । ती लडाकुहरू विभिन्न देशका थिए । ट्रम्पले तिनलाई आआफ्नै देशमा फिर्ता पठाउनुपर्ने बताए । तर, ती देशले पनि ‘आतङ्ककारीहरू’ लाई लिन मानेनन् । यो समस्या पछिसम्म हल भएन ।
चिफ अफ स्टाफ डनफोर्डले सिरियाबाट सेना फिर्ता बोलाउने योजना बनाउन थाले । बोल्टनले अल तानफबाट सेना फिर्ता गर्न नहुने सुझाव दिए किनभने त्यो दमास्कस र बगदादबिचको बाटोमा पथ्र्यो । यहीबाट इरानी घुसपैठ हुने गरेको बोल्टन लेख्छन् । इरान नै बोल्टनको मुख्य चासोको विषय थियो ।
सिरियाबाट बहिर्गमनको तयारी चल्दै गर्दा फ्रान्सेली राष्ट्रपति म्याक्रोँले ट्रम्पसँग फोनवार्ता गरे । म्याक्रोँ दुःखी थिए । ट्रम्पले ‘आइएसआइएस’ सखाप भएको र रहलपहल लडाकुलाई सिरिया र टर्कीले सफाया गर्ने बताए । टर्कीले कुर्दहरूलाई मात्र मारेको र उसले ‘आइएसआइएस’ सँग सम्झौता गर्ने म्याक्रोँले तर्क राखे । छिट्टै ‘आइएसआइएस’ लाई सखाप पारेर सिरिया छोड्न म्याक्रोँले अनुनय गरे । फ्रान्सका उच्च अधिकारीहरूको विचार पनि म्याक्रोँसँग मेल खान्थ्यो ।
डिसेम्बर १९ मा अमेरिकामा ट्रम्पको निर्णयलाई लिएर ठूलो खैलाबैला मच्चियो । ट्रम्प पार्टीको लगाम आफ्नो हातमा छ भन्ने भ्रममा थिए । तर, रिपब्लिकन सांसदले आफ्नो विमति मिडियामा लगेनन् । तर, डेमोक्र्याटहरूले केही बाँकी राखेनन् । भोलिपल्टमात्र ट्रम्पले सत्य बुझे । तैपनि उनले सिरियाबाट निस्किने निर्णयलाई सेनाको स्तरमा छलफल गर्न भने । त्यो साँझ रक्षामन्त्री म्याटिसले ट्रम्पलाई लामो राजीनामा पत्र बुझाए । पत्रमा ट्रम्प प्रशासनको नीतिप्रति विमति जनाइएको थियो । ट्रम्पले पत्र पढेका रहेनछन् । बोल्टनले नै सबै व्यहोरा जानकारी गराए । ट्रम्प रिसले आगो भए र म्याटिसलाई ‘बौलाहा कुकुर’ भने । बम्किँदै २०१९ फेब्रुअरीसम्म नपर्खेर अहिल्यै रक्षामन्त्रीबाट बर्खास्त गर्न बोल्टनलाई अह्राए ।
प्याट शानहान कार्यवाहक रक्षामन्त्री बन्ने भए । तैपनि डिसेम्बर ३१ सम्म म्याटिस नै बहालवाला रक्षामन्त्री थिए । डिसेम्बरमा ट्रम्प र इर्दोगानबिच अर्को चरणको फोनवार्ता भयो । ट्रम्पले दुइटा कुरा राखे । एक, सिरियामा अमेरिकी सेनालाई हमला नगर्ने । बाँकी ‘आइएसआइएस’ लाई टर्कीले सफाया गर्नुपर्ने र त्यसमा अमेरिकाले हतियार सहयोग गर्ने । दुई, टर्कीले अमेरिकाप्रति बफादार कुर्दलाई नमार्ने । ‘आइएसआइएस’ सखाप भएपछि टर्की र कुर्दहरू मिलेर अघि बढ्नुपर्ने । ट्रम्पले अमेरिकी जनता कुर्दहरूप्रति सहानुभूति राख्छन् भनेर जोड दिए । त्यसपछि उनले व्यापारको कुरा झिके । कुर्दहरूसँग मिल्ने विषयमा मनमा जे भए पनि इर्दोगानले आफूले कुर्दहरूलाई सधैँ सम्मान गरेको र खालि आतङ्कवादीहरूलाई मात्र घृणा गरेको बताए ।
ट्रम्प–इर्दोगान वार्तापछि अमेरिकी र टर्कीका सैन्य अधिकारीहरूबिच छलफल गर्नुपर्ने भयो ।

इराक भ्रमण
डिसेम्बरको अन्त्यतिर राष्ट्रपति ट्रम्पको टोली इराक गयो । इराकी प्रम अदिल अब्दुल महदीसँग भेट्ने कार्यक्रम हुन सकेन । सिरियाको विषयमा निर्णायक छलफल भयो ।
ट्रम्पको टोली इराकको अल असद हवाई अड्डामा बसेको थियो । गएको दिन अन्य विषयका अलावा नववर्षमा राष्ट्रपति सी चिनफिङलाई शुभकामना सन्देश पठाउने, नोबेल पुरस्कार ट्रम्पले पाउनुपर्छ आदि कुरा पनि उठे । ट्रम्पले उपराष्ट्रपतिमा हेलीलाई ल्याउने विषय उठाए । छोरी र ज्वाइँको सल्लाहमा उनले त्यसो भनेका थिए । सुरक्षाको बहाना बनाएर इराकी प्रम ट्रम्पलाई भेट्न गएनन् । त्यसैले मध्यपूर्वमा खटिएका अमेरिकी सैन्य अफिसरहरूसँग सघन छलफल भयो ।
बैठक टेन्टभित्र बसेको थियो । लेफ्टिनेन्ट जनरल पाउल लाकामेरा, ब्रिगेडियर जनरल डान केन लगायत उच्च सैन्य अधिकारीहरू आएका थिए । सिरियाबाट सेना फिर्ता गर्न हुन्न भनी दबाब दिन बोल्टनले लाकामेरालाई छेउमा लगेर सिरियामा इरानी खतराको विषयमा जोड दिएर बोल्न भने । सैन्य अधिकारीहरूले ब्रिफिङ गर्न थाले । ट्रम्पले पूरा नसुनी प्रश्नैप्रश्नले प्रहार गर्न थाले । अन्त्यमा उनले भने, “मैले इर्दोगानलाई अमेरिकी सेनामाथि हमला नगर्नु भनेर भनेको छु ।” लाकामेरा र केनले ‘आइएसआइएस’ विरुद्ध लडिरहेको बताउँदा ट्रम्पले फ्याट्ट भने, “तिनलाई निस्किने बेला मारे हुन्न ? अहिले हामी निस्किनुपर्छ । यो मेरो आदेश हो ।” लाकामेराले वर्षौँ लगाएर त्यहाँ साझेदारी क्षमता बढाउँदै लगेको बताए । ट्रम्पले सोधे, “कुर्दहरूलाई जोगाउन के गर्न सकिन्छ ?” दुवै अधिकारीहरूले दुईचार हप्तामा ‘आइएसआइएस’ लाई सफाया गर्न सकिन्छ भने । ट्रम्पले त्यति समय दिने भए ।
अल असद हवाइ अखडाले इरानलाई दबाब दिन महत्वपूर्ण रहेको कुरा चल्यो । इराकस्थित अमेरिकी राजदूत डगलस सिलिमनले यो कुराको पुष्टि गरे । ट्रम्पले सिरियाबाट चाँडै निस्किन भने । सिरियाको अल तानफ क्षेत्रबाट भने अमेरिका बाहिरिन नहुने जनरल लाकामेराले जोड दिए । ट्रम्पले तुरुन्तै माने । यस सिरियाबाट निस्किने सैन्य खाका तयार गर्नु थियो । बैठक सिधियो । यस बैठकमा ट्रम्पले सेनाको विषयमा विस्तृत जानकारी पाएको दाबी गर्छन् ।
सोही दिन ट्रम्पले प्रम अब्दुल महदीसँग फोनवार्ता गरे । ट्रम्पले महदीलाई ह्वाइटहाउस आउन निम्तो दिए । सेनाको निरीक्षण गरेर ट्रम्पको टोली जर्मनी हुँदै अमेरिका फर्कियो । सेना फिर्ता ल्याउने तयारी चल्दै गर्दा डनफोर्डले ‘आइएसआइएस’ लडाकुहरू पुनः हावी हुने सम्भावना देखाए । टर्कीको सम्भवतः सीमा क्षेत्रबाट कुर्दहरूलाई लघार्नेछ र त्यहाँ आफूकहाँ आएका सिरियाली शरणार्थीहरूलाई भर्नेछ भन्ने डनफोर्डको पूर्वानुमान थियो । त्यसैले उनले टर्की र सिरियाको सीमामा बीस–तीस किलोमिटर क्षेत्रमा नाटोको सेना राखेर निगरानी गर्नुपर्ने प्रस्ताव राखे । उनी अल तानफबाट सेना हटाउन नहुनेमा प्रतिबद्ध थिए ।
बिच्किए इर्दोगान
यसपालि प्रशासनमा मतैक्य देखेर बोल्टन खुसी थिए । यस्तैमा टर्कीका लागि पूर्व अमेरिकी राजदूत जिम ज्याफ्रीले टर्कीले कुर्दहरूलाई रुचाउन्न, तैपनि ऊ नाटोमा अमेरिकाको भरपर्दो साझेदार बन्न सक्ने बताए । यसले अमेरिकी प्रशासनमा मतैक्य नभएको देखियो । त्यसैले पोम्पेओ, शानहान, डनफोर्ड र बोल्टन सिरियाबाट बहिर्गमनको लागि आधारभूत सिद्धान्त तय गर्न सहमत भए । जनवरी ६ मा बोल्टन जेरुसेलममा थिए । उनले अमेरिकाका सहयोगी कुर्दहरू अमेरिका निस्किँदैमा खतरामा नपर्ने इर्दोगानसँग ट्रम्पले भनेको बताए । (खासमा उनले ‘हामीले टर्कीलाई कुर्दहरू मार्न दिन्नौँ’ भनेका थिए ।) समयअगावै कुरा बाहिरिएकाले हुनुपर्छ मिडियामा हल्लाखल्ला भयो । इर्दोगान पनि चिढिएको खबर आयो ।
यस्तैमा ‘वासिङटन पोस्ट’ ले बोल्टन र ट्रम्पको विचार एउटै हो भनी लेख्यो । यसले विषय झन् गिजोल्यो । पत्रिकाहरूले वास्तविकता नलेखेको बोल्टन दाबी गर्छन् । तर, आगो सल्किसकेको थियो । यस्तैमा जिम ज्याफ्रीले उत्तरपूर्वी सिरियामा टर्कीलाई केही भूमि लिन दिने र त्यहाँ कुर्दहरूलाई राख्न लगाउने सोचका साथ एउटा नक्सा प्रशासनमा वितरण गरे । यो एकदम असम्भव रहेको बोल्टन लेख्छन् । तर, डनफोर्ड यसमा सहमत थिए । उनीहरूले एउटा योजनापत्र तयार गरे । त्यसमा कुर्दहरूलाई टर्कीले दुव्र्यवहार गर्न नहुने कुरा स्पष्ट लेखिएको थियो ।
इर्दोगान यी सबै घटनाक्रमबाट बिच्किसकेका थिए । उत्तरपूर्वी सिरियामा टर्कीले आफ्नै हिसाबले चल्न पाउनुपर्छ भन्ने उनको धारणा थियो । अमेरिका यसमा सहमत थिएन । देशभित्र इर्दोगानलाई कत्ति पनि सम्झौता नगर्ने दबाब आयो । पोम्पेओले टर्कीका आफ्ना समकक्षीसँग यस्तो भन्ने तय भयो, “हामीलाई सीमामा बस्न दिनुपर्छ । नत्र त्यहाँ इरानी र रुसीहरू आएर बस्नेछन् ।” बोल्टनले यस विषयमा ट्रम्पसँग कुरा गरे । ट्रम्पले भने, “इर्दोगानलाई आइएसआइएससँग सरोकार छैन । उनी सिरियामाथि हमला गर्न तत्पर छन् । हामी त्यहाँबाट बाहिरिए पनि आइएसआइएसलाई तह लगाउन सक्छौँ । तिनीहरूको गृहयुद्धमा नफसौँ । तिनीहरू जन्मजात शत्रु हुन् ।”
टर्कीको सेना सिरियामा युद्धमा फस्न चाहेको थिएन । उनीहरू टर्कीलाई ‘आतङ्कवादी हमला’ बाट जोगाउन मात्र चाहन्थे । डनफोर्डलाई उनीहरूले भने, “यो हाम्रो मेक्सिको सीमा हो ।” उनले सीमा क्षेत्रमा ‘बफर जोन’ बनाएर नाटोलाई निगरानी गर्न दिनुपर्ने र त्यहाँबाट गह्रौँ हातहतियारहरू हटाउने प्रस्ताव राखे । इर्दोगानको रुचि घरेलु राजनीतिमा थियो । बोल्टनहरूले युरोपेली नेताहरूलाई आफ्नो विचारमा सहमत गराउनुपर्ने देखे । यसका लागि अरब जगतबाट पनि समर्थन र आर्थिक सहयोग लिने तयारी सुरु भयो । जस्तो खाडी युद्धताका कुवेत, साउदी अरब र जापानजस्ता देशहरूले आर्थिक सहयोग गरेका थिए । डनफोर्ड यो कार्यमा दत्तचित्त थिए । उनले अमेरिकी शाख जोगाउन यस्तो गर्नुपर्ने तर्क गरे । जोर्डनका राजाले अमेरिकी सेना अल तानफमा बसे जोर्डन सुरक्षित रहने भनेर अमेरिकी योजनाको समर्थन गरे । डनफोर्डले ट्रम्पलाई पनि मनाउँदै गए । यद्यपि, बिचबिचमा ट्रम्प अस्सादलाई अमेरिका आउन निमन्त्रणा दिन भने । अस्सादले मानेनन् ।
‘बफर जोन’ मा अन्तर्राष्ट्रिय सुपरीवेक्षण बल राख्ने प्रस्तावमा सबैको समर्थन जुटेन । इर्दोगानले ‘बफर जोन’ मा पूर्णतः टर्कीको नियन्त्रण हुनुपर्ने बताए । ट्रम्पले डनफोर्डले सबै विषय हेरिरहेको हुनाले टर्कीको सेनासँग उनलाई कुरा गराउन भने । टर्कीको सेनाको विचार डनफोर्डसँग मिल्थ्यो । अमेरिकाले ‘बफर जोन’ र अल तानफमा केही सय अमेरिकीहरू मात्र रहने तर टर्कीको सेना बफर क्षेत्रबाट दक्षिणमा आउन नहुने बताएर टर्कीलाई सहमत गराउन खोज्यो । इर्दोगान घरेलु अर्थतन्त्र र राजनीतिक दबाबमा थिए । त्यसैले आनाकानी गरिरहे । तैपनि, ट्रम्पले इर्दोगानको साथ पूर्णतः छोडेनन् । डनफोर्ड आफ्नो योजनामा अडिग रहे । २०१९ अक्टोबर ६ मा ट्रम्पले फेरि पनि सिरियाबाट फर्किने कुरा दोहो¥याए । बफर क्षेत्रको योजनामा सबै सहमत भएनन् । तर, सिरियामा अमेरिकी सेनाको सङ्ख्या १५–१६ सयमा सीमित भयो । अक्टोबर २६ मा आइएसआइएसका नेता अबु बकर अल–बगदादीलाई अमेरिकी सेनाले मा¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *