भर्खरै :

नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता समापन

नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता समापन

भक्तपुर, ९ पुस । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा पुस ५ देखि ९ गतेसम्म भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको समापन समारोह तथा विजयी खेलाडीहरूलाई पदक तथा पुरस्कार वितरण कार्यक्रम सहिद स्मृति खेल मैदानमा शनिबार सम्पन्न भयो ।
समापन समारोहमा अतिथि सुवालले खेलकुदलाई मौलिक हकको रूपमा संविधानमै व्यवस्था गर्नुपर्ने बताउँदै यस व्यवस्थाले सबै नेपालीले खेल खेल्न सक्ने अवस्था सिर्जना हुने बताउनुभयो ।
उहाँले खेललाई सार्वभौमिकतासँग जोड्नुपर्ने बताउँदै देशमा रासायनिक मलको अभाव सृजना हुँदा बेवास्ता गरी विदेशबाट खाद्यान्न आयात गर्ने अवस्थामा पु¥याउने कृषिमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले पुस ५ गतेदेखि ९ गतेसम्म नपाका सबै वडामा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरी खेल महोत्सवको रूपमा मनाइएको बताउँदै सो खेल महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकहरूले समेत विभिन्न खेलहरूको अवलोकन गरेको जानकारी दिनुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनमा नेमकिपाले जारी गरेको घोषणापत्रमा प्रत्येक वर्ष एउटा खेलको अन्तरनगर खेलकुद प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धताअनुसार यस वर्ष खो–खो खेलको अन्तरनगर खेलकुद प्रतियोगिता हुने घोषणा गर्नुभयो ।
खेलकुद प्रतियोगिताले देशभक्त नागरिक तयार गरेर अनुशासित खेलाडी उत्पादन हुने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
बाग्मती प्रदेशका सभासद् सृजना सैँजूले विद्यालय जीवनको लागि आवश्यक पर्ने शिक्षा कक्षा कोठाभित्रबाट सम्भव नहुने भएकोले खेलकुदको माध्यमद्वारा विद्यार्थीहरूको चौतर्फी विकास हुने र छात्राहरूलाई आत्मरक्षाको निम्ति टेवा पुग्ने बताउनुभयो । विश्वकप फूटबल प्रतियोगिता सञ्चालन भएको राष्ट्र कतारमा फुटबल स्टेडियम निर्माणको क्रममा करिब ११४६ जना नेपालीहरूले अनाहकमा ज्यान गुमाउनु परेको स्मरण गर्दै नेपाल सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको बताउनुभयो ।
समापन कार्यक्रममा युवा तथा खेलकुद समितिका संयोजक तथा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नयाँ पुस्तालाई अनुशासित बनाउन तथा विकृति र विसङ्गतिबाट टाढा राख्ने उद्देश्यले नगरपालिकाले चुनावी घोषणापत्रलाई मार्गनिर्देशनको रूपमा लिई हरेक वर्ष नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताहरू सञ्चालन गर्दै आएको बताउनुभयो । ७९ वटा विद्यालयहरूको सहभागिता रहेको यस वर्षको प्रतियोगितामा १४ वटा खेलहरूमा २५९८ जना खेलाडीहरूबिच प्रतिस्पर्धा भएको बताउँदै खेलाडीहरूलाई ९०३ वटा मेडल र ११४० वटा प्रमाणपत्र वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय भलिबल खेलका प्रशिक्षक विनोदचरण रायले भक्तपुर नगरपालिकाले आयोजना गरेको यस प्रतियोगिताले भक्तपुर नपा शिक्षा, संस्कृति, स्वास्थ्य, सम्पदा संरक्षणमा जस्तै खेलकुद क्षेत्रमा पनि मोडेलको रूपमा विकास हुँदै गएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले १४ वटा खेलकुदमा उत्कृष्ट खेलाडी एवम् विद्यालयहरूको नतिजा घोषणा गर्नुभएको थियो भने भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले धन्यवाद ज्ञापन मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सुवालले विभिन्न खेलमा उत्कृष्ट खेलाडीहरू एवं विद्यालयहरूलाई पदक तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो भने बाग्मती प्रदेशका सभासद् सैँजूले कराँतेको काँटा प्रदर्शनी गर्ने खेलाडीहरूलाई मायाको चिनो तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रमका सभापति एवं प्रमुख प्रजापतिले खेलमा सहभागी ७९ विद्यालयहरूलाई खेलकुद सामग्री वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *