भर्खरै :

पुँजीवादी व्यवस्थाको निर्वाचनबाट आमूल परिवर्तन असम्भव

पुँजीवादी व्यवस्थाको निर्वाचनबाट आमूल परिवर्तन असम्भव

ललितपुर, १६ पुस । नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला समितिको आयोजनामा प्रतिनिधिसभा र प्रदेशसभामा नेमकिपालाई मतदान गर्ने मतदाताहरूलाई धन्यवाद तथा निर्वाचित पार्टीका उम्मेदवारहरूलाई बधाइ कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले अहिलेको निर्वाचन पुँजीवादी निर्वाचन भएकोले यो निर्वाचनबाट आमूल परिवर्तन सम्भव नहुने बताउनुभयो ।
निर्वाचनमा लाखौँ जनता सडकमा आउने भएकोले निर्वाचनमार्फत जनतालाई राजनीतिकरूपले सचेत र सङ्गठित पार्ने उद्देश्यका साथ लेनिनवादी नीतिअनुसार नेमकिपाले निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्दै आएको हो, उहाँले भन्नुभयो ।
संविधानमा व्यक्तिको जिउ धनको सुरक्षा हुने र कानुनीराज रहने उल्लेख भए पनि संविधानमा उल्लेख भएअनुसार कानुनी अधिकारबाट कामदार जनता वञ्चित रहेको अध्यक्ष बिजुक्छेँले स्पष्ट पार्नुभयो ।
समाजवाद र पुँजीवादको भिन्नताबारे जनतालाई सचेत पार्नु नै अहिलेको प्रमुख आवश्यकता भएको अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
नेमकिपाका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेमकिपाका सांसदहरूले संसद्मा पुँजीवादी पार्टीहरूको अराजकताको सटिक खण्डन गरेर प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्नेछन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले जनआन्दोलनमा सरकारको लाठी, अश्रुग्यास र गोलीसमेत सामना गरी महत्वपूर्ण योगदान गरेको छ । पुँजीवादी व्यवस्थाको पक्षपात र धाँधलीपूर्ण निर्वाचनमा तीन प्रतिशत मत प्राप्त गरेका तर जनआन्दोलनमा कुनै योगदान नगरेका पार्टी राष्ट्रिय पार्टी हुनसक्दैन ।”
नेमकिपाले संसारका मजदुर आन्दोलन र साम्राज्यवादविरोधी आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आएको र मानव सभ्यताको श्रृङ्खलाको रूपमा रहेको संस्कृति र सम्पदा संरक्षण गर्दै आएको हुँदा नेमकिपा अन्तर्राष्ट्रिय पार्टी पनि हो, सचिव सुवालले प्रस्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले बाग्मती प्रदेशमा पार्टीको घोषणापत्रअनुसार नीति नियम बनाउन आफूहरूले सङ्घर्ष गर्ने बताउनुभयो ।
नेमकिपाको तर्फबाट बाग्मती प्रदेशसभाका सदस्य गीता काफ्लेले मतदाताहरूलाई धन्यवाद दिँदै प्रदेशसभामा देश र जनताको पक्षमा निःस्वार्थपूर्वक लाग्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भनपाले सङ्घ र प्रदेश सरकारको मुख नताकी आफ्नै स्रोतबाट समाजवादउन्मुख गतिविधि गर्दै आइरहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले झूटा आश्वासन दिई निर्वाचन जित्ने र आफूले व्यक्त गरेका वचन पूरा नगर्ने शासक पार्टीका उम्मेदवारहरूविरूद्ध नेमकिपाले जनतालाई सचेत पार्दै जानेछ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष राजवीर डंगोलको सभापतित्वमा भएको उक्त कार्यक्रममा अशोक महर्जन, नरेश महर्जन, कविन्द्र डंगोल र महन्त महर्जनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *