भर्खरै :

सहकारी संस्थाहरू लेनदेनमा मात्र सीमित हुन नहुने

सहकारी संस्थाहरू लेनदेनमा मात्र सीमित हुन नहुने

भक्तपुर, १६ पुस । “सहकारी संस्थाहरू आर्थिक लेनदेनमा मात्रै सीमित नरही सदस्यहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमहरू सञ्चालनमा जोड दिनुपर्छ ।”
उपरोक्त भनाइ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सुकुन्दा बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
उहाँले सहकारीको नाउँमा रकम ठग्ने प्रवृत्ति बढ्दै गएको प्रति सचेत हुन आग्रह गर्दै भन्नुभयो, “धेरै ब्याज दिने प्रलोभन देखाई केही सहकारीहरूले रकम असुलिरहेका छन् । तिनीहरू भागेको अवस्थामा सदस्यहरूको बिचल्ली हुन्छ । समुदायमा आधारित भरपर्दाे सहकारीसँग मात्रै कारोबार गरेमा पश्चाताप गर्नुपर्ने छैन ।”
प्रमुख अतिथि प्रजापतिले महिलालाई शिक्षा र रोजगार अनिवार्य हुनुपर्नेमा जोड दिनुभयो । “महिला र पुरुषबिचको समानता शब्दमा होइन व्यवहारमा देखाउन महिलाहरूलाई शिक्षा र रोजगारीमा प्राथमिकता दिनु आवश्यक छ,” उहाँले भन्नुभयो ।
भनपाले कलेजहरू सञ्चालन गरेर काम गरी खाने वर्गका सन्तानहरूलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरिरहेको उल्लेख गर्दै स्वास्थ्यमा सबैको पहुँच पुग्ने गरी जनतामा केन्द्रित भई काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।
कृषिप्रधान देशमा वर्षको अरबौँ रूपैयाँको दाल, चामल, गहुँजस्ता खाद्यान्न र तरकारी समेत विदेशबाट आयात गर्नुपर्ने अवस्थाको लागि सरकारमा जाने पुँजीवादी दलहरू जिम्मेवार रहेको उहाँले बताउनुभयो ।
भनपा वडा नं ७ का वडाध्यक्ष उकेश कवांले नेपाल वैदेशिक ऋणमा डुब्दै गएकोमा चिन्ता व्यक्त गर्दै विश्व बैङ्कजस्ता साम्राज्यवादीहरूका आर्थिक हतियारहरू सक्रिय रहेको स्पष्ट पार्नुभयो ।
संस्थाका सल्लाहकार नाति कवांले सहकारीले आलुको बीउ उत्पादन गरी किसानहरूलाई वितरण गरिरहेको र आगामी दिनमा पनि यस्ता गतिविधिहरू निरन्तर गरिरहने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा जिल्ला बचत सङ्घका प्रतिनिधि कृष्णश्वरी मचामसी, सल्लाहकार विष्णुभक्त मारिखुलगायतले सहकारीको प्रगतिको निम्ति शुभकामना दिनुभएको थियो ।
सो कार्यक्रममा ७० वर्ष नाघेका ४९ जना ज्येष्ठ नागरिकहरूलाई प्रमुख अतिथि प्रजापतिबाट सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष सानुकाजी त्वानावासुको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा सानुकाजी चिकंबजारले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *