भर्खरै :

ल्याटिन अमेरिकी मुलुकमा नयाँ गुलाबी ज्वारको लहर

ल्याटिन अमेरिकी मुलुकमा नयाँ गुलाबी ज्वारको लहर

(ल्याटिन अमेरिकी मुलुकमा पछिल्लोपटक देखिएको राजनीतिक परिवर्तनमा रुची राख्नेहरूको निम्ति झाउ झिवाइद्वारा लिखित यस लेख ज्ञानवद्र्धक हुनेछ । २१ औँ शताब्दीमा ल्याटिन अमेरिकामा नवउदारवादी आर्थिक मोडेलविरुद्धको वामपन्थी सरकारहरूतर्फ मोडिने राजनीतिक लहर र धारणालाई ‘गुलाबी ज्वार’ (Pink Tide) को रूपमा चिनिन्छ ।)

ल्याटिन अमेरिकी राजनीति एक्काइसौँ शताब्दीको प्रारम्भदेखि नै वामपन्थीद्वारा नियन्त्रित छ । १९९८ को अन्तमा भेनेजुएलाको राष्ट्रपतिको रूपमा ह्युगो चाभेजको उदयसँगै ‘गुलाबी ज्वार’ को सुरुवात भयो, जुन लगभग २०१६ सम्म चलेको थियो । त्यसबेलादेखि ल्याटिन अमेरिकाले वामपन्थीहरू पछाडि परेको र दक्षिणपन्थीहरूको प्रगति देखेको अवस्थाको अनुभव गरेको छ, तर यो लगभग तीन वर्षको लागि मात्र टिक्यो । ल्याटिन अमेरिकाको राजनीतिक परिदृश्यमा २०१८ मा सुरु भएको र २०१९ मा अर्जेन्टिनाको राष्ट्रपतिमा निर्वाचित वामपन्थी गठबन्धनका उम्मेदवार अल्वर्टाे फर्नान्डेजको पक्षमा ठुलै परिवर्तन भएको थियो । बोलिभिया, पेरु, निकारागुआ, होन्डुरस, चिली र कोलम्बियामा २०२० र २०२२ बिचको चुनावले ल्याटिन अमेरिकालाई वामपन्थी सरकारहरूलाई पुनः बहुमतमा पु¥यायो जसलाई बाहिरी संसारले नयाँ ‘गुलाबी ज्वार’ भनेर व्याख्या गरेको छ ।

नयाँ गुलाबी ज्वारको कारण
पहिलो, प्रभावहीन सरकार र कोभिड १९ महामारीको कारण दक्षिणपन्थी सरकार अलोकप्रिय भयो । २१ औँ शताब्दीको दोस्रो दशकलाई ल्याटिन अमेरिकाको लागि अर्को ‘गुमाएको दशक’ मानिन्छ । विशेषगरी २०१४ र २०१९ को बिचमा यसको वार्षिक जीडीपी वृद्धिदर औसतमा शून्य दशमलव ४ प्रतिशतमात्र थियो जुन १९८० को ऋण सङ्कटको समयमा भन्दा खराब थियो । दक्षिणपन्थी सरकारहरूको कार्यसम्पादन सन्तोषजनक थिएन । ल्याटिन अमेरिकामा तत्कालीन प्रभावशाली दक्षिणपन्थी सरकारहरू विश्वव्यापी अर्थतन्त्रमा थप सीमान्तकृत थिए । २०१९ मा ल्याटिन अमेरिकामा गरिबी दर र चरम गरिबी दर क्रमशः ३० दशमलव ८ प्रतिशत र ११ दशमलव ५ प्रतिशतमा बढ्यो । कोभिड १९ महामारीको प्रकोप हुनुअघि ल्याटिन अमेरिकाका प्रमुख देशहरूमा आमजनताको मुख्य चासो बनेको शिक्षा, स्वास्थ्य सेवा, सरसफाइ र करजस्ता जीविकोपार्जनका मुद्दाहरूमा सुधार माग गर्दै सडक आन्दोलन भएको थियो ।

लुला, ब्राजिललुला, ब्राजिल

२०२० मा कोभिड १९ महामारीको प्रकोपले ल्याटिन अमेरिकामा प्रणालीगत आर्थिक सङ्कटलाई अझ बढाएको थियो । सबैभन्दा पहिले ल्याटिन अमेरिका एउटा यस्तो क्षेत्र थियो जहाँ महामारीको व्यवस्थापन कमजोर थियो । पेरु, मेक्सिको, ब्राजिल, कोलम्बिया र अर्जेन्टिना विश्वका सबैभन्दा उच्च कोभिड मृत्युदर भएका देशहरूमा पर्छन् । दोस्रो, महामारीले ल्याटिन अमेरिकी देशहरूको अर्थतन्त्र र जीविकोपार्जनमा फेरि एकपटक ठूलो चोट पु¥यायो । २०२० मा ल्याटिन अमेरिकी अर्थव्यवस्थामा लगभग ७ प्रतिशत संकुचित भयो । प्रतिव्यक्ति जीडीपी २००९ को तुलनामा र गरीबी उल्लेखनीयरूपमा बढेको कुरा ल्याटिन अमेरिका र क्यारिबियाका लागि संयुक्त राष्ट्र आर्थिक आयोगको तथ्याङ्कले जनाएको छ । कोभिड १९ महामारीले ल्याटिन अमेरिकाको गरिबी न्यूनीकरणमा गत २० वर्षको उपलब्धिलाई नष्ट गरेको छ ।

 

निकोलस माडुरो, भेनेजुयला

दोस्रो, वामपन्थी शक्तिहरूको ठोस आधारले नयाँ ‘गुलाबी ज्वार’ सम्भव बनाएको छ । २१ औँ शताब्दीको सुरुमा ल्याटिन अमेरिकामा भएको ‘गुलाबी ज्वार’ १० वर्षभन्दा बढी समयसम्म चल्यो र यस अवधिमा वामपन्थी दलहरूले व्यापक लोकप्रिय आधारमा निर्माण गरे र राजनीतिक परिदृश्यमा महत्वपूर्ण स्थान हासिल गरे । सन् २०१५ मा ‘गुलाबी ज्वार’ घट्न थाले पनि वामपन्थी शक्तिको जग बलियो रह्यो । उदाहरणका लागि अर्जेन्टिनामा २०१५ को चुनावमा वामपन्थी गठबन्धन मोर्चाले राष्ट्रपति चुनाव हा¥यो तर सिनेटमा ३९ सिट र चेम्बर अफ डेप्युटीहरूमा ९५ सिट सहितको प्रमुख राजनीतिक शक्तिको रूपमा आफ्नो स्थिति कायम राख्यो । ब्राजिलको मजदुर पार्टीले २०१८ को चुनाव हा¥यो तर चेम्बर अफ डेपुटीमा सबैभन्दा ठूलो पार्टीको रूपमा आफ्नो स्थान कायम राख्यो ।

ड्यानियल ओर्टेगा, निकारागुआ

यसबाहेक, पछिल्लो ‘गुलाबी ज्वार’ को बहावपछि, ल्याटिन अमेरिकी वामपन्थी पार्टीहरूले दुईवटा नीति लिएका छन् । पहिलो, तिनीहरूले भ्रष्टाचारको मुद्दाको जवाफमा बहुलवादी नीति र सामाजिक सञ्जाल च्यानलहरूमार्फत तल्लो तहसँग आफ्नो संवादलाई बलियो बनाएका छन् । लोकप्रिय विश्वास जित्न तिनीहरूले नैतिक र अनुशासनात्मक भावनालाई बलियो बनाएका छन् । दोस्रो, उनीहरूले दलहरूको फराकिलो गठबन्धनहरू राखेका छन् र राजनीतिक सहयोगीहरू अब वामपन्थी दलहरूमा सीमित छैनन् । उदाहरणका लागि २०२१ मा चिलीको चुनावमा गेब्रियल बोरिकको वामपन्थी चुनावी गठबन्धनमा ८ देखि ९ वामपन्थी राजनीतिक शक्तिहरू थिए । २०२२ कोलम्बियाको चुनावमा गुस्ताभो पेट्रोले जितेर अझ फराकिलो वामपन्थी गठबन्धन मोर्चा गठन गरे जसमा कट्टरपन्थी वामपन्थीदेखि नरम वामपन्थी सम्मका २० पार्टी र राजनीतिक सङ्गठनहरू समावेश थिए । नतिजाहरूले देखाएअनुसार ग्रास जर्ससँग सम्बन्ध सुदृढ पार्ने र गठबन्धन विस्तार गर्ने वामपन्थी दृष्टिकोणले महत्वपूर्ण प्रभाव पारेको छ ।

नयाँ ‘गुलाबी ज्वार’ का मुख्य विशेषताहरू
अघिल्लो ‘गुलाबी ज्वार’ सुस्त हुन थालेको समयमा ल्याटिन अमेरिकाको राजनीतिक दलमा पुनर्संरचनाको अवधिबाट गुज्रियो । यद्यपि, यो प्रक्रिया कोभिड–१९ महामारीले अवरुद्ध भएको थियो । नयाँ ‘गुलाबी ज्वार’ राजनीतिक परिदृश्यको बिचमा गठन भएको थियो जसको समायोजन अधुरो थियो । सामान्यतया हालको ‘गुलाबी ज्वार’ मा तीन मुख्य विशेषताहरू छन् ।

अल्बर्टाे फर्नान्डेज

पहिलो, वामपन्थी सरकारको सङ्ख्या अभूतपूर्व छ । २०२१ मा इक्वेडर, पेरु, निकारागुआ, होन्डुरस र चिलीमा राष्ट्रपति चुनावहरू सम्पन्न भएका थिए जसमा इक्वेडरबाहेक सबै वामपन्थीहरूले जितेका थिए । लामो समयदेखि दक्षिणपन्थीको वर्चस्व रहेकोमा अहिले वामपन्थीतिर धल्किएको छ । ब्राजिलमा पूर्वराष्ट्रपति लुला पुनः राष्ट्रपतिमा पद बहाली भएका छन् । २१ औँ शताब्दीको प्रारम्भिक ‘गुलाबी ज्वार’ भन्दा वामपन्थी प्रभुत्वको मापन अब धेरै व्यापक देखिन्छ । नयाँ ‘गुलाबी ज्वार’ ले ल्याटिन अमेरिकाको राजनीतिक एजेन्डामा प्राथमिकताको मुद्दाको रूपमा सामाजिक कल्याणलाई प्रतिबिम्बित गर्दछ ।

गुस्ताभो पेड्रो

दोस्रो, ल्याटिन अमेरिकामा वामपन्थी सरकार धेरै भिन्न खालका छन् । यस चरणमा ल्याटिन अमेरिकी वामपन्थी सरकारलाई व्यापकरूपमा तीन प्रकारमा विभाजन गर्न सकिन्छ । पहिलो लामो शासन गर्ने वामपन्थी सरकारमा क्युवा, भेनेजुएला र निकारागुआ समावेश छन् । दोस्रो प्रकार मध्यम वामपन्थी चिली र अर्जेन्टिना रहेका छन् । सत्तारूढ दलहरूको सामाजिक–लोकतान्त्रिक वैचारिक परम्परा छ । तर, सत्तारूढ गठबन्धनभित्रका दलहरूको वैचारिक विविधताका कारण तिनीहरू वैचारिकतावादी हुन्छन् । तेस्रो प्रकार अपेक्षाकृत लोकप्रिय वामपन्थी सरकार मेक्सिको, कोलम्बिया, पेरु, बोलिभिया र होन्डुरसमा पाइन्छ ।

जियोनारा कास्ट्रो

तेस्रो, वामपन्थी र दक्षिणपन्थी शक्तिहरूबिचको सन्तुलन अझ सन्तुलित हुँदै गइरहेको छ । ल्याटिन अमेरिकी राजनीति बायाँतिर सरेको भए पनि दायाँ–बायाँ प्रतिस्पर्धाको तीव्रता केही हदसम्म बढेको छ । यसका कारणहरू एकातिर ल्याटिन अमेरिकी देशहरूले अझै पनि कठिनाइको सामना गरिरहेका छन् । अर्कोतर्फ महामारीले सिर्जना गरेको नयाँ राजनीतिक परिदृश्यमा स्थायित्वको अभावले वस्तुगतरूपमा राजनीतिक खेलका लागि वातावरण तयार भएको छ । इक्वेडर र पेरुमा २०२१को राष्ट्रपति चुनावमा वामपन्थी र दक्षिणपन्थीबिचको मतदान अन्तर क्रमशः ५ प्रतिशत र शून्य दशमलव २५ प्रतिशतमात्र थियो । २०२२ मा राष्ट्रपतिको चुनाव भइसकेको कोस्टारिका र कोलम्बियामा मतदान अन्तर वामपन्थी र दक्षिणपन्थीबिच मत अन्तर क्रमशः ६ प्रतिशत र ३ प्रतिशतमात्र छन् । दोस्रो, संसदीय चुनावमा ल्याटिन अमेरिकाका अधिकांश वामपन्थी सत्ताधारी दलहरूले संसदमा सिटहरूको हिसाबले फाइदा लिन सकेनन् । पेरुमा मध्य वामपन्थी सत्तारुढ लिबरल पेरुभियन पार्टीले काङ्ग्रेसमा १३० सिटहरूमध्ये केवल ३७ सिटमात्र ओगटेको छ जबकि मुख्य दक्षिणपन्थी पार्टीहरूसँग कुल ४० सीटहरू छन् । समग्रमा वामपन्थी र दक्षिणपन्थीबिच सन्तुलित अवस्थामा छ ।

नयाँ ‘गुलाबी ज्वार’ को सम्भावना
माथि उल्लेख गरिएझैँ ल्याटिन अमेरिकामा नयाँ ‘गुलाबी ज्वार’ आउनुको मुख्य कारण कोभिड १९ महामारीको सन्दर्भमा सुशासनको सङ्कट हो । यसैबिच वर्तमान वामपन्थी सरकारहरूको शासन क्षमताको निम्ति मुख्य चुनौती पनि हो र नयाँ ‘गुलाबी ज्वार’ सरकारको आयुको लम्बाइ निर्धारण गर्ने मुख्य कारक हो । जे भए पनि आन्तरिक र बाह्य वातावरणको सन्दर्भमा ल्याटिन अमेरिकी देशहरूमा आर्थिक र जीविकोपार्जनका मुद्दाहरूमा आधारभूत सुधारहरू हासिल गर्न प्रशस्त ठाउँ छैन । एक अनुमानअनुसार ल्याटिन अमेरिकाको आर्थिक वृद्धिदर २०२२ मा २.१ प्रतिशतमात्र हुने अपेक्षा गरिएको छ जुन विश्वव्यापी औसत ३.१ प्रतिशतभन्दा कम हो ।
वास्तवमा ल्याटिन अमेरिकामा वर्तमान आर्थिक कठिनाइहरू र अघिल्लो ‘गुलाबी ज्वार’ को आर्थिक उछालबिच ठूलो भिन्नता छ । पहिलो ल्याटिन अमेरिकी देशहरूले सामान्यतया उच्च बेरोजगारी, उच्च ऋण, उच्च मुद्रास्फीति र उच्च ब्याज दरहरू सामना गरिरहेका छन् ।

ओब्राडर, मेक्सिको

२०२२ मा ल्याटिन अमेरिकामा बेरोजगारी दर ११ दशमलव ५ प्रतिशत पुग्नेछ र औसत सार्वजनिक ऋण र जीडीपी अनुपात लगभग ७० प्रतिशत हुनेछ । मुद्रास्फीति बढेर ७ दशमलव १ प्रतिशत हुने अपेक्षा गरिएको छ र ल्याटिन अमेरिकी देशहरूमा ब्याजदर ऐतिहासिक उचाइमा पुगेको छ । ल्याटिन अमेरिकी राष्ट्रको वित्तीय घाटा अन्तर्राष्ट्रिय चेतावनी रेखा जीडीपीको ३ प्रतिशतभन्दा माथि लगभग ४ दशमलव ६ प्रतिशत छ । यसको अर्थ सामाजिक खर्च विस्तार गर्न वामपन्थी सरकारहरूको लागि सीमित अवसर छ । दोस्रो, रुस–युक्रेन द्वन्द्व र जटिल भू–राजनीतिक वातावरणको कारण विश्वव्यापी आर्थिक सुधारको आशा कमै छ । ल्याटिन अमेरिकी देशहरूले व्यापार र लगानीको माध्यमबाट प्राप्त गर्न सक्ने बाह्य प्रेरणा अपेक्षाभन्दा सीमित छ ।
ल्याटिन अमेरिकाका वामपन्थी सरकारहरूका लागि राजनीतिक सहमतिको सङ्घर्ष अर्को ठूलो चुनौती हो र यसमा दुईवटा मुख्य आयामहरू समावेश छन् । पहिलो, सत्तारुढ गठबन्धनको एकता । माथि उल्लेख गरिएझैँ वामपन्थीको यो लहर धेरैे हदसम्म बृहत्तर दलीय गठबन्धनको गठनको कारण हो, जसले कर्मचारी व्यवस्थामा स्वार्थको सन्तुलन र सहयोगी दलहरूको नीतिगत विचारमा भिन्नताजस्ता धेरै समस्याहरू छन् । दोस्रो, सरकार र संसद्बिचको सम्बन्ध कठिन छ । यद्यपि, ल्याटिन अमेरिकामा वामपन्थीको पुनः लहरले नयाँ ‘गुलाबी ज्वार’ निम्त्याएको छ तर यसले संसदीय सिटहरूको सन्दर्भमा फाइदा गर्दैन । नतिजास्वरूप यी देशहरूमा तनाव उच्च छ । सरकार र संसदबिच बढ्दो द्वन्द्वका कारण ल्याटिन अमेरिकामा वामपन्थी सरकारहरूका लागि सरकार र संसद्को द्वन्द्व चुनौतीपूर्ण हुने सम्भावना छ । राजनीतिक जोखिमहरू उल्लेखनीयरूपमा बढ्न सक्छ ।

ग्याब्रियल बोरिक, चिली

यही समयमा ल्याटिन अमेरिकामा नयाँ ‘गुलाबी ज्वार’ ले अझ जटिल बाह्य वातावरणको सामना गरिरहेको छ । विशेषगरी अमेरिकाले मूल्यमा आधारित कूटनीतिलाई बलियो बनाउँदैछ जसले ल्याटिन अमेरिकामा निश्चितरूपमा ठूलो हस्तक्षेप निम्त्याउनेछ । ल्याटिन अमेरिकामा राजनीतिक वातावरणको आकारलाई बलियो बनाउन अमेरिकी नीतिको तर्कको विश्लेषण गर्दा एकातिर अमेरिकाले आफ्नो मूल्यमान्यतामा आधारित कूटनीतिलाई सुदृढ गर्दै ‘सुशासन’ द्विविधा सिर्जना गर्न जारी राख्नेछ । क्युवा, भेनेजुएला र निकारागुआलाई जुन २०२२ को सुरुमा अमेरिकाको शिखर सम्मेलनमा निम्तो दिन अमेरिकाले अस्वीकार गर्नु अमेरिकाको मनसाय बुझिन्छ । अर्कोतर्फ अमेरिकाले ल्याटिन अमेरिकामा वामपन्थी शासनहरूविरुद्ध जनमत अभियान, चुनावी हस्तक्षेप, ‘भ्रष्टाचार अनुसन्धान’ मार्फत सम्बन्धित देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै युक्रेनमा जस्तो ‘रङ्ग क्रान्ति’ लाई अझ तीव्र बनाउन सक्छ । ल्याटिन अमेरिकाको राजनीतिकमा संसद्बिचको विवादलाई उत्तेजित गर्ने र गैर–सरकारी संस्थाहरूको प्रवेश अमेरिकी हितका लागि बढी अनुकूल छ ।

पेड्रो कास्टियो

यसको अतिरिक्त ल्याटिन अमेरिकी क्षेत्रीय एकीकरण विषय हुनेछ । ल्याटिन अमेरिकामा वामपन्थी शासनको दायरा विस्तारसँगै क्षेत्रीय स्तरमा क्युवा, भेनेजुएला र निकारागुआमाथिको कूटनीतिक दबाबमा उल्लेखनीय सुधार आउनेछ । साथै ल्याटिन अमेरिकी वामपन्थी सरकारहरूले पनि सबै ल्याटिन अमेरिकी देशहरूसँग समान आधारमा वार्तामा संलग्न हुन र विशेषगरी क्युवाविरुद्धको आर्थिक नाकाबन्दी र प्रतिबन्ध हटाउन संयुक्त राज्य अमेरिकामाथि सामूहिक दबाब बढाउन सक्छन् । क्षेत्रीय एकीकरण सङ्गठनहरूको सन्दर्भमा दक्षिण अमेरिकी तथा र क्यारिबियन राज्यहरूको समुदाय (सेलाक) पुनः सक्रिय हुनसक्छ । जसले ल्याटिन अमेरिकी देशहरूको विश्वव्यापी मामिलामा भाग लिन र क्षेत्रीय सीमाना बाहिरका देशहरूसँग सामूहिक संवादमा संलग्न हुनको लागि क्षमता अभिवृद्धि गर्न मद्दत गर्नेछ ।
अनुवाद : राजन
स्रोत : कन्टेम्पोररी वल्र्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *