चिकपाले भ्रष्टाचारविरोधी प्रयासका साथ पार्टी स्वशासनलाई अगाडि बढाउँदै
- कार्तिक १५, २०८३
काठमाडौँ, १ माघ । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट बिहान १०ः३३ बजे पोखराको लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए । उहाँका अनुसार अवतरण गर्ने क्रममा पुरानो र नयाँ विमानस्थलको बिचमा ९एन–एएनसी एटीआर–७२ विमान सेती नदी किनारमा दुर्घटना भएको हो ।
विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । प्राधिकरणका अनुसार १५ जना विदेशी नागरिक र ५७ जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना अशक्त भएका व्यक्ति सवार थिए ।
सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ ।
सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको छ । उहाँका अनुसार पोखरास्थित गण्डकी अस्पतालमा ३१ जनाको शव लगिसकिएको छ ।
पोखरामा आइतबार बिहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आइतबार बिहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिनुभयो ।
मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । उहाँले भन्नुभयो, “विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ ।”
निकालिएको शव गण्डकी अस्पतालमा
पोखराको सेती नदीको खोँचमा आइतबार बिहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिनुभयो ।
शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ । अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू अधिकांश पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ ।
विमान दुर्घटनाबारे जानकारी दिन कल सेन्टर स्थापना
आज बिहान पोखरामा भएको यती एयरलाइनसको विमान दुर्घटनाका विषयमा जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर सुरु गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाका बारेमा जानकारी लिन दुईवटा टेलिफोनमार्फत कल सेन्टर स्थापना गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विमान दुर्घटनाको बारेमा जानकारी लिन चाहने परिवार, आफन्त र अन्यहरूका लागि सम्पर्क गर्न त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्न कल सेन्टर खोलिएको छ, आवश्यक जानकारी लिन कल सेन्टरमा फोन गर्दा हुन्छ ।”
उक्त कल सेन्टरमा यती एअरलाइन्सका तर्फबाट पेम्बा शेर्पा (९८०१००७५३१) तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका तर्फबाट ०१–४११३१६३ नम्बरका फोनहरू राखिएका छन् । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको विषयमा आवश्यक सबै सूचना एकै ठाउँबाट दिने गरी कल सेन्टर स्थापना गर्ने निर्णय गरेसँगै विमानस्थलमा कल सेन्टर स्थापना गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
जहाज दुर्घटना : बेपत्ताको खोजी कार्य राति पनि गरिने
पोखरामा आज बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक ( एसपी) अजय केसीले खोजी कार्यलाई राति पनि जारी राख्नका लागि घटनास्थल सेती खोँचमा लाइट जडान गरिसकिएको बताउनुभयो । “खोजी कार्यको सुरक्षाकर्मीका तर्फबाट कुनै कमी हुन नदिनका लागि राति पनि सम्भव भएसम्म शवहरू खोजी गर्नेछौँ”, प्रमुख केसीले भन्नुभयो ।
दुर्घटनामा परी मृत्यु भएका ६८ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा परीक्षणका लागि लगिएको छ । “अब बेपत्ता चार जनाको पनि खोजीमा लागेका छौँ, राति नभेटिए सोमबार पनि खोजी कार्यलाई तीव्र पार्छौँ”, उहाँले भन्नुभयो ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली खोजीमा खटिएका छन् । नेपाली सेनाका मात्रै दुई सय बढी खटिएका छन् । प्रहरी र सशस्त्र प्रहरी पनि सयौँ खटिएका छन् । काठमाडौँबाट सशस्त्र प्रहरीको गोताखोरको टोली पोखरा आएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले राति पनि बत्ती जडान गरी खोजी गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार जहाजमा रहेका चारजना अझै बेपत्ता छन् । अहिलेसम्म ६८ जनाको शव फेला परेको छ । उनीहरूको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ । “सबै जनाको शव आज नै निकाल्न सकियोस् भनेर राति पनि खोजी गर्न लागिएको हो,” प्रजिअ केसीले भन्नुभयो । मृतकका परिवारलाई सोमबार शव बुझाउने तयारी रहेको पनि प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिनुभयो ।(रासस)
Leave a Reply