भर्खरै :

राजनीति गरिब जनताको हितको निम्ति गर्नुपर्ने

राजनीति गरिब जनताको हितको निम्ति गर्नुपर्ने

भक्तपुर, २ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सरकारमा जाने कम्युनिस्ट नामका पार्टीहरू कम्युनिस्ट नै होइनन् भन्नुभएको छ ।
नेमकिपाको ४९ औँ स्थापना दिवसको अवसरमा भक्तपुर नगरपालिका वडा नं ७ पार्टी एकाइ समितिले सोमबार आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष बिजुक्छेँले क्रान्तिकारी भूमिसुधार नगर्ने, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त नगर्ने, धनी वर्गको हितमा काम गर्ने कम्युनिस्ट हुनै सक्दैनन् भन्नुभयो । उहाँले भन्नुभयो, “नक्कली औषधिले काम नगरेजस्तै नक्कली कम्युनिस्टले गरिबलाई हेर्दैन । नाम कम्युनिस्ट राखेर करोडपति–अरबपतिको सेवा गर्नु जनतालाई झुक्याउनु हो ।”
शासक दलका नेताहरूले निर्वाचनमा एउटै निर्वाचन क्षेत्रमा पनि करोडौँ रुपियाँ खर्च गरेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले त्यसरी निर्वाचन जित्नेले जनताको दुःख देख्दैनन् भन्नुभयो । उहाँले भन्नुभयो, “गरिबको दुःख गरिबलाई थाहा हुन्छ । जनताको दुःख सरकारमा जानेलाई थाहा छैन ।”
माघ १ गतेको विमान दुर्घटनाबारे टिप्पणी गर्दै अध्यक्ष बिजुक्छेँले पुरानो जहाज चलाउन दिनु गलत हो भन्नुभयो ।
उहाँले चीनको सहयोगमा दिएको जहाज लामो समय थन्क्याएर निजी विमान कम्पनीहरूलाई पोस्ने काम गरिएको विचार राख्नुभयो ।
गरिब जनताको हितको निम्ति राजनीति गर्नुपर्ने भन्दै उहाँले नयाँ पुस्ताले जागिर खानकै निम्ति पढ्ने सोच राख्न नहुने भनाइ राख्नुभयो । युवा पुस्तालाई चिनियाँ क्रान्तिमा साथ दिने क्यानाडाका डा. नर्मन बेथुन र भारतका कोटनिसको योगदानबारे बताउनुपर्ने अध्यक्ष बिजुक्छेँको भनाइ थियो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले युवा पुस्तालाई राजनीतिकरूपमा सचेत एवम् सङ्गठित गर्नुपर्ने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले नेमकिपाले देशको सार्वभौमिकता रक्षाको निम्ति आन्दोलन गरिरहेको तर्क राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष बलराम गोसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा किसान कार्यकर्ता लक्ष्मीभक्त कवां, शिक्षक श्रीकृष्ण किसी, रञ्जना त्वातीलगायतले आ– आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *