भर्खरै :

प्रदेशसभालाई केबल ‘हुन्छ’ र हुन्न’ भन्ने औपचारिकतामा सीमित राखिए प्रजातन्त्र कमजोर हुने

प्रदेशसभालाई केबल ‘हुन्छ’ र हुन्न’ भन्ने औपचारिकतामा सीमित राखिए प्रजातन्त्र कमजोर हुने

हेटौँडा, २ माघ । बाग्मती प्रदेशसभाको चौथो बैठक सोमबार सम्पन्न भयो । बैठकमा उपसभामुख चयन मुख्य विषय रहेको थियो । नेपाल मजदुर किसान पार्टीले प्रदेशसभा सदस्य गीता काफ्लेलाई उपसभामुख पदको उम्मेदवार बनाएको थियो ।
बैठकमा नेमकिपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले आइतबार पोखरामा भएको हवाई दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो ।
प्रदेश सभासद् गोसाईले प्रदेशसभालाई केबल ‘हुन्छ’ र हुन्न’ भन्ने औपचारिकतामा सीमित राखिए प्रजातन्त्र कमजोर बन्ने धारणा व्यक्त गर्नुभयो ।
विगतमा प्रदेश सरकारको सुस्तता, गतिहीनता, अनिर्णय, पक्षपात तथा भागबन्डाको कारण बदनाम भएको उल्लेख गर्दै उहाँले प्रदेशको प्रतिष्ठा जोगाउनु नै आजको चुनौती हो भन्नुभयो ।
उहाँले अगाडि भन्नुभयो, “प्रदेश र जनताबिचको दूरी बढ्दो छ । जनताको स्वास्थ्य, कृषि, रोजगारीको अवसरलगायतका क्षेत्रमा प्रदेशले सुझबुझका साथ तयारी गर्न ढिलो भयो ।”
नेमकिपाको तर्फबाट बाग्मती प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका गोसाईले प्रदेशलाई केन्द्र सरकारको छायामा राखिँदा परिणाम मूर्तरूपमा नदेखिएको धारणा राख्नुभयो ।
प्रदेशलाई केन्द्र र स्थानीय तह जोड्ने बलियो पुल बनाउनुपर्ने विचार राख्दै उहाँले प्रदेशलाई जनहितका नयाँ नयाँ उपाय, विधि तथा अभ्यास अगाडि बढाउने थलोको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रदेशसभा सदस्य गोसाई प्रस्तावक रहेको गीता काफ्लेको उपसभामुख पदको उम्मेदवारीलाई समर्थन गर्दै प्रदेशसभा सदस्य सृजना सैँजूले प्रदेश सरकार प्रदेशसभाप्रति र प्रदेशसभा जनताप्रति जवाफदेही हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उपसभामुखको चुनावमा एमालेकी अप्सरा चापागाईँ निर्वाचित हुनुभयो ।
पुस ३० गते भएको सभामुख पदको निर्वाचनमा पनि नेमकिपाले भाग लिएको थियो । सभामुख पदमा नेमकिपाको तर्फबाट सृजना सैँजूले उम्मेदवारी दिनुभएको थियो । सभासद् गोसाइले प्रजातन्त्रको पक्षमा र राजनीतिक अनैतिकताको विरुद्ध नेमकिपाले सभामुखको पदमा उम्मेदवारी दिएको बताउनुभयो ।
सभामुखमा राप्रपाका भुवनकुमार पाठक निर्वाचित हुनुभयो । नवनिर्वाचित सभामुख पाठकलाई बधाई दिँदै प्रदेशसभा सदस्य गोसाईले संसदीय मर्यादाबमोजिम सभामुख निष्पक्ष, तटस्थ तथा दलीय चिन्तनबाट अलग्ग हुनुपर्ने विचार राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *