भर्खरै :

नेमकिपा देशभक्त र अन्तर्राष्ट्रवादी पार्टी

भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको निरन्तर विरोधमा उत्रिरहेको दल नेपाल मजदुर किसान पार्टी हो । नेमकिपा विदेशी हस्तक्षेप, विदेशी आक्रमण र विदेशी दबाबको विरोध गर्छ । विदेशी ऋण, विदेशी अनुदान र विदेशी आर्थिक सहयोगले मात्र देश विकास हुन्छ, देश आत्मनिर्भर हुन्छ भन्ने कुरा नेमकिपा विश्वास गर्दैन । नेमकिपा देशको लागि आवश्यक आधारभूत वस्तुहरू परिपूर्ति गर्न कुनै एक देशसँग मात्र कारोबार गर्नुपर्छ भन्ने पक्षमा छैन । भारतबाहेक अन्य देशहरूसँग पनि सम्बन्ध बढाएर, मित्रता गाँसेर देशको लागि आवश्यक सामानको कारोबार गर्नुपर्छ भन्ने नेमकिपाको धारणा हो । कुनै देशको दबाब र प्रभावमा नेपालले असंलग्न नीति तोड्नु हुँदैनथ्यो । असंलग्न परराष्ट्र नीति तोडेर कुनै देशको पक्षमा मतदान गर्नु हुँदैनथ्यो । तर, यस अघिको देउवा सरकारले रुसको विपक्षमा या युक्रेनको पक्षमा मतदान ग¥यो । यो देशकै असंलग्न परराष्ट्र नीतिको विरोध हो ।
साम्राज्यवादी देश अमेरिकाले अन्य दर्जनौँ देशहरूमा सशस्त्र सेना तैनाथ गरिरहेको छ । अरु देशमा सशस्त्र सेना तैनाथ गरेर, हतियार थन्काएर अन्य देशहरूबिच युद्ध निम्त्याउने काम अमेरिकाले गरिरहेको छ । अमेरिकाले युक्रेनमा अमेरिकी सेना र हतियार थन्काएर रुसविरुद्ध भिडाउने षड्यन्त्र रचेकै हो । युक्रेनलाई नाटोमा संलग्न गराएर रुसमाथि घेर्ने र आक्रमण गर्ने षड्यन्त्र र कार्यको विरोधमा रुस उत्रनु स्वाभाविक हो । हरेक देशले आफ्नो स्वाधीन र सार्वभौम देशको रक्षा गर्ने प्रयास गर्नु या पाइला चाल्नु अन्यथा होइन । रुसले युक्रेनमा अमेरिकाको कारण रहरले होइन बाध्य भएर आक्रमण गर्नुपरेको हो । अमेरिकाले युक्रेनमा राष्ट्रपतिलाई आफ्नो हातमा नचाइरहेको छ । युक्रेन अमेरिकाको कठपुतलीजस्तो भइरहेको छ । यस्तो कार्य र गतिविधिको नेमकिपा विरोध गर्छ । भारतीय पक्षले नेपाल–भारत सीमामा एकतर्फीरूपमा बनाएको बाँध तथा तटबन्ध भत्काउनुपर्छ भन्ने नेमकिपाको धारणा हो । बेलाबखत मिचिएको नेपाली भूमि भारतले छोड्नुपर्छ । नेपाली भूमि कालापानीमा रहेको भारतीय सेना बिनासर्त फर्काइनुपर्छ । नेपाल–भारतबिचको सीमा विवाद टुङ्ग्याउन सीमा व्यवस्थापन गर्नुपर्छ भन्ने नेमकिपाको माग हो । तर, सरकार यसतर्फ गम्भीर देखिएको छैन ।
कुनै पनि बेला नेपालसँग भएका असमान सन्धि सम्झौता खारेज गर्नुपर्छ । विदेशी सहयोग या अनुदान पाउने नाउँमा यस्ता सन्धि सम्झौता गर्न नहुने विचार नेमकिपाको हो । नयाँ सरकार गठन गर्न, सरकार टिकाउन कुनै पनि विदेशी शक्ति राष्ट्रको दबाबमा काम गर्न नहुने, स्वाधीन र सार्वभौम देश विदेशी शक्ति राष्ट्रको चलखेलमा चल्न नहुने अडान नेमकिपाले राख्दै आएको हो । नेमकिपाको यस्तो अडान, विचार, मान्यता र गतिविधिले नेमकिपा एक देशभक्त र अन्तर्राष्ट्रवादी पार्टी हो भन्ने थाहा हुन्छ । कुनै दल अन्तर्राष्ट्रवादी हुनुको अर्थ विदेशीको नक्कल गर्नु होइन । नेमकिपा देश, काल र परिस्थिति अनुकूल उपयोग गर्छ । कुनै देशका महान् दार्शनिक, विचारक र नेताहरूको दृष्टिकोण, विचार, सिद्धान्त सही छ भने त्यसको आत्मसात गर्नु विदेशी नक्कल गर्नु होइन । कम्युनिस्टहरू विदेशी नक्कल गर्दैनन् । नेमकिपाले त्यस्तो काम गरिरहेको छैन । यसबारे नेमकिपा सचेत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *