भर्खरै :

अनुनय विनयको अनुहार हेरेरमात्र सिफारिस दिन मिल्दैन

अनुनय विनयको अनुहार हेरेरमात्र सिफारिस दिन मिल्दैन

शनिबारको दिन थियो । वडा कार्यालय बन्द भए पनि म बिहानै वडा कार्यालयमा गएको थिएँ । वडावासीको आपसी विवाद सुल्झाउन वडामा बैठक भएकोले म बिहानै वडामा गएको थिएँ । त्यसपछि फेरि अर्को एक ठाउँमा राजनीतिक कार्यक्रम भएकोले खाना नखाइकन आफ्नो मन्तव्य राख्न गएको थिएँ । त्यसदिन मैले करिब १२ बजेतिर घर आएर खाना खाएँ । हुन त अरू दिन पनि समयमै खाना खाने मौका त्यति मिल्दैनथ्यो । त्यसदिन पनि कार्यव्यस्तताको कारणले गर्दा समयमै खाना खान सकिएन । खाना खाएर म नुहाउनतिर लागँे । नुहाउने क्रममा छोराले घर बाहिर दुई जना महिला आएको जानकारी दियो । श्रीमतीले पनि दुई जना महिला घर बाहिर आइबसेको जानकारी दिइन् ।
नुहाउन सकेपछि फेरि एउटा कार्यक्रममा जानुपर्ने स्मरण आयो । मलाई धेरै ढिला भइसकेको थियो । एकछिन बाहिर नै कुरा गरी कार्यक्रममा जाने सोच थियो । कार्यक्रममा जान तयारीसाथ गएको थिएँ । घर बाहिर दुई जना दिदी बहिनी स्कुटरमा बसिरहेका थिए । तिनीहरूको घर पहिले मेरो घर नजिकै थियो । तर, उनीहरू नयाँ घरमा बस्न गएको कारणले त्यत्ति भेटघाट पनि भएको थिएन । त्यसैले एक जना दिदी र एक जना बहिनी नाता पर्दथ्यो । उनीहरू दुवै जनाको विवाह भइसकेको थियो । उनीहरूको कहाँ कोसँग विवाह भएको थियो मलाई जानकारी थिएन । तर, म उहाँहरू दुवैजना दिदी बहिनी र उसको आमा बुबा र भाइदाइसँग राम्ररी नै परिचित थिएँ । मैले नमस्कार गर्दै ढिला भएकोमा क्षमा मागँे । आफू निकै हतारमा भएकोले के समस्या भएको हो छोटोमा राख्न अनुरोध गरँे ।
बहिनीले मलाई भनिन्, “दाइ मसँग एक जनासँग गरेको लेनदेनको कागज छ । प्रमाणितको लागि तपाईँले गरिदिनुहुन्छ कि भनेर आएका हौँ ।” मेलै जवाफमा भनँे, “लेनदेन कागज त वडाध्यक्षले नै प्रमाणित गर्ने हो । हुन्छ म गरिदिन्छु । तर, आज होइन, भोलि गरिदिन्छु । वडा कार्यालयमा आउनुस् । अहिले छाप छैन मसँग । भोलि वडामा आउनुभयो भने छाप पनि हाल्न पाइन्छ अनि कर पनि तिर्नुपर्दछ । त्यसैले कर पनि तिर्नुस् अनि प्रमाणित पनि गरिदिउँला ।” मेरो कुरा टुङ्गिन नपाउँदै दिदीले भनिन्, “बाबु कागज त लेनदेनको हो तर एउटा पक्ष छैन । के गर्ने ? गर्न मिल्छ कि मिल्दैन ?” दिदीको कुरा सुनेबित्तिकै मैले सोधिहालेँ, “दुवै पक्ष नभइकन पनि लेनदेन कागज कसरी तयार हुन्छ त ? अनि प्रमाणीकरण पनि हुँदैन ।” दिदीले फेरि तुरुन्त जवाफ दिइन्, “बाबुको दाइ वीरेन्द्र दुवालले लेखिदिनुभएको हो । उहाँले त मेरो आफ्नै भाइ वडाध्यक्ष हो प्रमाणीकरण गरी दिइहाल्छ भनी पठाएको हो । अहिले भर्खर वीरेन्द्र दुवालकै घरबाट आएका हाँै । शनिबार भएकोले घरमा हुन्छ । घरमै गएर प्रमाणीकरण गरेर ल्याउनुस् भन्नुभएको छ ।”
दाइ वीरेन्द्र दुवालको नाम लिएपछि मलाई शङ्का । उनी सुरुमा लेखापढी व्यवसायी थिए र पछि वकिल बने । जसरी भए पनि पैसा कमाउनुपर्ने सोचको दाइ भएकोले मेरो उनीसँग त्यति घनिष्ठता थिएन । दुई पक्ष नभई कागज प्रमाणीकरणको लागि पठाउनु गलत छ । जुन कुरा वकिल दाजुलाई राम्ररी थाहा छ । तापनि, मेरो परीक्षा लिनको लागि पनि पठाएको हुनसक्छ । मैले कागज लिएर पढँे । कागज करिब एक करोडको लेनदेनको थियो । साथै अर्को पक्ष गैरनेवार र उपत्यका बाहिरको रहेछ ।
मैले दुवै दिदी बहिनीलाई भनेँ, “दाइले भन्दैमा मैले सबै कागजमा हस्ताक्षर गर्न मिल्दैन । फेरि दाइले गलत सुझाव दिएर पठाएकोले पनि यो कागजमा दुवै पक्ष नभई प्रमाणीकरण गर्न मिल्दैन । अधिवक्ताजस्तो मान्छेले त्यसरी गलत सल्लाह दिन नहुने हो । दाइले भनेको भए पनि सिफारिस चाहिँ म दिन्न किनकि सिफारिस भनेको नातागोता र परिवारको मान्छेले भन्यो भन्दैमा जसलाई पनि सिफारिस दिन मिल्दैन । कानुन र व्यवहारिकरूपमा मिलेको कागजात छ भन्ने मात्र सिफारिस दिन मिल्छ । अनि तपाईँहरू दुवै जना छिमेकी दिदी बहिनी हो भन्दैमा सिफारिस दिन मिल्दैन किनकि तपार्इँको लेनदेनहरूका कागजमा एक पक्षको नागरिकता र मानिस आफै उपस्थित नभएसम्म कुनै पनि हालतमा प्रमाणीकरण गर्न मिल्दैन ।
मेरा प्रतिउत्तरमा दिदीले भनिन्, “बाबुको दाइले नै भन्नुभएको कुरा नमान्ने र ? अनि अरु अरु नगरपालिकाको वडा कार्यालयले त दिएको छ रे । आफ्नै घर अगाडिको बहिनीको एउटा कागजमा सानो एउटा हस्ताक्षर गरे पुग्ने भएकोले गरिदिँदा राम्रो होला । नभए बाबुको वीरेन्द्र दाइलाई नै लिएर आऊँ कि ? आफ्नो मान्छेको कागजमा यसरी सबै प्रक्रिया पु¥याउन जरुरी छ र ?” दिदीको कुराले मलाई रिस उठ्यो । फेरि आफू हतारमा थिएँ । श्रीमती पनि सँगै आउने तयारीमा थिइन् । श्रीमतीलाई माइती पु¥याएर कार्यक्रममा पुगेर मलाई मन्तव्य दिनु थियो । मैले कुरालाई छोट्याउन खोज्दै दिदीलाई सम्झाउने पारामा भनँे, “दिदी यसरी आफ्नो मान्छे र दाइले भनेको भनेर सबैलाई सिफारिस दियो भने त देशको ऐन नियमको के अर्थ रहन्छ र ? फेरि हामीले नगरपालिकाको निर्देशन, अग्रजहरूको सल्लाह अनि नैतिकता, इमानदारिता र व्यवहारिकता हेरेर काम गर्ने हो । तपाईँ नरिसाउनु होला दिदी । तपाईँ भोलि दाइलाई लिएर आउनुस् । उहाँले मेरो अगाडि यो कागज कानुनले गर्न मिल्छ भन्यो भने हस्ताक्षरको विषयमा सोच्छु । अनि छलफल गराँैला । फेरि उपत्यका बाहिरको मान्छे रहेछ र करोडौँको लेनदेनमा एक पक्ष नभई कुनै पनि हालतमा सिफारिस दिन मिल्दैन ।”
त्यत्ति भनेर म बाइक चढेर जान खोजेँ । तर, बहिनीले अनुनयको स्वरमा भन्न थालिन्, “हुन्छ भने दाइ गरिदिनुस् न । तपाईँको ठूलो सहयोग हुन्छ हामीलाई । मेरो त्यस्तै केही समस्या भएर एक पक्ष नआएको हो । कृपया गरिदिनुस् न ।” कसैको दया, माया र ममता अनि अनुनय विनयको अनुहार हेरेर सिफारिस दिन मिल्दैन । नगरपालिकाको निर्देशनले सिफारिस दिन मिल्ने भए दिने हो अन्यथा अनुनय विनय गरेर सिफारिस हुँदैन । भोलि वडा कार्यालयमा दाइलाई लिएर आउनुहोला । अनि छलफल गरी सिफारिसको बारेमा निर्णय गरौँला भनी म गन्तव्यतर्फ लागेँ ।
भोलिपल्टमात्र होइन, आजसम्म ती दुवै जना दिदी बहिनी र अधिवक्ता दाजु वडामा आएर सिफारिस माग्न आएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *