भर्खरै :

भक्तपुर क्यान्सर अस्पतालमा टेलिमेडिसिन सेवा

भक्तपुर, ३० भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अस्पताल व्यवस्थापन समितिहरूमा जनप्रतिनिधिहरूको प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो ।
नेपाल अर्बुद रोग निवारण संस्थाको ३५ औं वार्षिक दिवसको उपलक्ष्यमा आयोजित क्यान्सर अस्पतालमा टेलिमेडिसिन सेवाको उद्घाटन गर्दै प्रमुख प्रजापतिले भक्तपुर क्यान्सर अस्पताललाई नगरपालिकाले जग्गा प्रदान गरेको कुरा स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘क्यान्सर रोगका बिरामीहरूले भक्तपुरमा आधुनिक उपचार सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले २०५८ सालमा भनपाले ५ रोपनी ४ आना जग्गा प्रदान ग¥यो । अहिलेको आधुनिक भवन त्यसैमा निर्माण भएको हो । अस्पतालले नपासँग गरेका सम्झौतालाई ध्यान दिनुपर्छ ।’
उहाँले जनताको स्वास्थ्यको लागि राम्रो सेवा होस् भनी भनपाले घरघरमा नर्सिङ सेवा सुरू गरेको जानकारी दिंदै भक्तपुरमा आधुनिक उपचार सेवा हुने सन्देश पठाउन टेलिमिडिसिन सेवाले मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो ।
व्यवस्थापिका–संसदमा धूमपान निषेधसम्बन्धी विधेयकबारे छलफल हुँदा जनतालाई क्यान्सर हुनबाट बचाउन कडा कानुनी प्रावधान राख्न आफूहरूले जोड दिएको कुरा पनि उहाँले स्पष्ट पार्नुभयो ।
क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा डा. प्रकाशराज न्यौपानले अस्पतालले नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै बिरामीहरूको सेवा गर्दै जाने बताउनुभयो ।
उहाँले भारत र अमेरिकासँग कहिलेकाहींमात्रै टेलिमेडिसिन सेवा सञ्चालन गर्दै आएकोमा नेपालका विभिन्न जिल्लाहरूमा पनि नियमित सेवा विस्तार गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख र पोखरा महानगरपालिकाका प्रमुखबीच शुभकामना आदानप्रदान भएको थियो भने पोखराका बिरामीहरूलाई डा. न्यौपानेको निर्देशनमा स्थानीय डाक्टरले उपचार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *