भर्खरै :

देश र समाज परिवर्तनको निम्ति भएको आन्दोलन खेर नजाने

देश र समाज परिवर्तनको निम्ति भएको आन्दोलन खेर नजाने

भक्तपुर, ८ माघ । “एउटा राम्रो राजनैतिक सङ्गठन तयार हुन पुस्तौँ पुस्ता लाग्छ । पार्टीका अग्रज कार्यकर्ताहरूले सुस्ता बचाउ आन्दोलन, बाली काट्ने आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन, मोहियानी हक कायम गर्न भएका आन्दोलनहरूमा गरेको योगदानको कारण आज भक्तपुर शिक्षा, स्वास्थ्य, सरसफाइलगायतका क्षेत्रमा देशकै नमुना बन्न सकेको हो ।” उक्त विचार नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पार्टीको ४९ औँ स्थापना दिवसको अवसरमा आयोजित अग्रज कार्यकर्ता सम्मान कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “भक्तपुरका घर–घरमा कोही न कोही भूमिगत जीवन बिताएको अनुभव छ । अग्रज कार्यकर्ताहरूले देश र समाज परिवर्तनको लागि गरेका कुनै पनि काम खेर जाँदैन ।”
नवदुर्गा सहकारीमा भ्रष्टाचार गर्नेहरूलाई समयमै कारबाही गरेको उल्लेख गर्दै उहाँले जनतालाई छलछाम गर्ने, फलाकावादी कुरा गरेर चुनाव जित्ने र चुनावबाटै समाजवाद आउने कुरामा नेमकिपाले कहिल्यै विश्वास गरेन भन्नुभयो ।
उहाँले संसद्मा नेमकिपा प्रमुख प्रतिपक्षी हुनुपर्ने दाबी गर्नु कुनै किसिमको सरकारी सुविधा पाउनको लागि होइन भनी प्रस्ट पार्नुुभयो । उहाँले नेमकिपाले कम्युनिस्ट सिद्धान्तमा संशोधनवादी विचारहरूको सुरुदेखि नै विरोध गर्दै आएको हो भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले नेका, एमाले, माओवादीलगायतका पँुजीवादी पार्टीहरूलाई भारतलगायत विभिन्न देशहरूले चुनाव जिताउन सबैखाले बन्दोबस्त गरिदिने गरेको पाइन्छ, तर नेमकिपाले सधैँ जनताको सहयोगमै चुनाव लडिरहेको विचार व्यक्त गर्नुभयो ।
उहाँले समाजवादी गणतन्त्रले सबै जनतालाई शिक्षा, स्वास्थ्यलगायत सबै बन्दोबस्त गरी स्वदेशमै रोजगारीको सुनिश्चितता गर्ने भएकोले यसैको निम्ति नेमकिपा सङ्घर्षरत छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाले आफ्नो स्थापनाकालदेखि देश र जनताको सेवा गर्दै आएको उल्लेख गर्दै अग्रज कार्यकर्ताहरूको सम्मान भएकोमा खुसी व्यक्त गर्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य एवं बाग्मती प्रदेशका सांसद गीता काफ्लेले नेमकिपाले निर्वाचनमा जनतामाझ प्रस्तुत गरेको घोषणापत्रबमोजिम जनताको बिच र प्रदेशसभामा भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा ७ वडा अध्यक्ष उकेश कवांले नेमकिपाको स्थापना २०३१ सालमा भएको हो, नेमकिपा स्थापना हुनुमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा सैद्धान्तिक मतभेद भएको र सैद्धान्तिकरूपमा धेरै बहस भएपछि मात्र नेमकिपाको औपचारिक स्थापना भएको हो भन्नुभयो ।
आदर्श आजाद मावि÷कलेजका पूर्वप्राचार्य नाति कवांले भारतीय विस्तारवादले अतिक्रमण गरी लिएको सुस्ता बचाउ अभियान, भ्रष्टाचारविरोधी आन्दोलन, शिक्षक आन्दोलन, विद्यार्थी आन्दोलनलगायतका आन्दोलनहरूमा अग्रज कार्यकर्ताहरूले पु¥याएको यागदानको चर्चा गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँले अग्रज किसान कार्यकर्ताहरूलाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा निर्वाचित सांसदहरूलाई बधाई, शुभकामना दिनुका साथै नेमकिपाको मादल चिह्नमा छाप लगाई मतदान गर्ने मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्न आयोजित उक्त कार्यक्रमको सभापतित्व आयोजक समितिका अध्यक्ष कृष्णगोविन्द खाइजूले गर्नुभएको थियो ।
कार्यक्रममा हरिरत्न गोर्खाली र बलराम गोसाईले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *