भर्खरै :

काठमाडौँमा घर–जग्गा किन्ने मन्त्री र सांसदबाट निर्वाचन क्षेत्र कसरी विकास हुन्छ ?

काठमाडौँ, ८ माघ । संसद्मा धेरै स्थान प्राप्त गरी बारम्बार सरकारमा गएका शासक दलहरूले देशको सार्वजनिक ऋण २० खर्ब र व्यापारघाटा २० खर्ब रूपैयाँ पु¥याए । ७०–८० लाख नेपाली युवालाई वैदेशिक रोजगारीको नाममा घर–खेत बेचाएर बहुराष्ट्रिय कम्पनीको सस्तो ज्यामी बन्न पठाउने, कृषिप्रधान देश नेपालको खेतीयोग्य भूमि बाँझो राखेर भारतबाट दाल, चामल, तरकारी खर्बौँ रूपैयाँको आयात गर्ने र जलविद्युत् उत्पादन गर्नुपर्ने, कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरूण तेस्रो, पश्चिम सेती, तल्लो अरूण सम्झौता गरी महत्वपूर्ण नदीनाला भारतलाई दिने पनि शासक दलहरू नै हुन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘शिलापत्र डट कम’, ‘अर्थ टीभी’ र ‘न्यूज नेपाल टीभी’ का प्रतिनिधिहरू प्रदीप बस्नेत, मदन खाती र सूर्य खड्कासँगको छुट्टाछुट्टै अन्तर्वार्तामा उक्त भनाइ राख्नुभएको हो ।
सांसद सुवालले नेपालको काननुअनुसार प्रमलाई विश्वासको मत दिने नेका प्रमुख विपक्षी दलको स्थानमा हुने अवस्था नभएको चर्चा गर्दै ‘मही माग्ने ढुङ्ग्रो लुकाउने’ नेकाको प्रमलाई विश्वासको मत दिएर प्रमुख विपक्षी दल दाबी गर्नु दोहोरो मापदण्ड भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सांसद र मन्त्रीहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा विकास गरी जनतासँगै बसोबास गरेका भए देशको सन्तुलित विकास हुने थियो । सांसद र मन्त्रीले आफ्नो निर्वाचन क्षेत्र छाडेर काठमाडौँमा घर–जग्गा जोडेको हुँदा अर्बौँ रूपैयाँ ऋण ल्याएर मेलम्चीको पानी काठमाडौँ ल्याउनु परेको थियो, जनताको विरोध भएको एमसीसी सम्झौताको बजेटमा लप्सीफेदीमा विद्युत्को सवस्टेसन निर्माण गर्नुपरेको थियो, नौविसेदेखि चन्द्रागिरी बलम्बुसम्म सुरूङ मार्ग बनाउनुपरेको हो । यो बजेट शिक्षा, स्वास्थ्य र अनुसन्धानमा खर्च गरिएको भए देश र जनताको उन्नति हुने थियो ।”
सांसद सुवालले देशको सीमा सुरक्षा र सार्वभौमिकता रक्षा गर्न नसकेका पार्टी र तिनका सांसदहरू मन्त्री हुनुको कुनै औचित्य नहुने चर्चा गर्दै विश्वका मजदुर आन्दोलनको समर्थन गर्ने र साम्राज्यवादको विरोध गर्ने पार्टी जरूरी भएको उल्लेख गर्नुभयो ।
शासक दलहरूले नै सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाएको उल्लेख गर्दै सांसद सुवालले पद र पैसाको लागि सिद्धान्तहीन निर्वाचन र सत्ता गठबन्धन गर्ने शासक दलहरूको झन्डा बोक्ने बुद्धिजीवीहरू पनि देशको यो पछोटेपन र अराजकताको जिम्मेवार हुने स्पष्ट गर्नुभयो ।
निर्वाचन निष्पक्ष, स्वच्छ र धाँधलीरहित भएको भए नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरू देशको अन्य क्षेत्रबाट पनि विजयी हुने उल्लेख गर्दै सांसद सुवालले काठमाडौँमा घर भत्काएर सडक चौडा गर्नु प्रतिगामी कदम हुने स्पष्ट गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *