भर्खरै :

स्ववियु निर्वाचन र विद्यार्थी राजनीति

स्ववियु निर्वाचन र विद्यार्थी राजनीति

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गतेको लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तय गरेको छ । तोकिएको मितिको झन्डै दुई महिनाअघि आजको परिस्थितिमा उभिएर हेर्दा स्ववियु निर्वाचन नहुनुपर्ने कुनै कारण देखिँदैन । तथापि, अन्तिम घडीमा चुनाव स्थगित भएको विगतको नजिरलाई नकार्न भने सकिन्न । नियमतः हरेक दुई वर्षमा हुनुपर्ने स्ववियु चुनाव २०७३ सालदेखि हुनसकेको छैन । २०७३ सालमा पनि देशैभरिका सबै आङ्गिक र सम्बन्धन प्राप्त कलेजमा चुनाव भएको थिएन । त्रिविका ६१ वटा आङ्गिक क्याम्पसमध्ये ३५ वटा र १०४० सम्बन्धन प्राप्त क्याम्पसमध्ये एक सय वटा क्याम्पसमा मात्र चुनाव भएको थियो । २०७३ साल यता बेलाबेला स्ववियु चुनावका प्रसङ्ग उठे पनि चुनावले मूर्तता पाउन सकेको छैन । यो वर्ष २०७९ सालको वैशाखमा स्थानीय तहको निर्वाचन र मङ्सिरमा सङ्घीय संसद् र प्रदेश संसद्को निर्वाचन सफलतापूर्वक सम्पन्न भएपश्चात त्रिवि पनि लामो समयदेखि थाती रहेको स्ववियु चुनाव गर्न तम्सेको छ ।
स्ववियु निर्वाचनको स्वाभाविक गति भने २०६५ सालपछि नै खलबलिएको थियो । माओवादीसम्बद्ध अखिल (क्रान्तिकारी)ले स्ववियु पुनःसंरचनाको नाममा अघि सारेका विभिन्न मुद्दाले स्ववियु निर्वाचनको नियमितता तोडिने अवस्था बनेको थियो । विद्यार्थी सङ्गठन र त्रिविले लामो समय स्ववियु पुनःसंरचनाको बहसमा बिताए । त्यसक्रममा भएका मतान्तरको बहानामा स्ववियु निर्वाचन स्थगित गर्ने वा हुन नदिने खेल पनि भए । स्ववियु पुनःसंरचनाका मुद्दामा विद्यार्थी सङ्गठनहरू विभाजित हुँदा स्ववियु चुनाव भएन र समयान्तरमा स्ववियुको औचित्यमाथि नै प्रश्न उठ्न थालेको हो । तर, स्ववियु निर्वाचन नहुनुमा सतहमा देखिएको कारण स्ववियु पुनःसंरचनामा मतान्तर भए पनि चुनाव जसरी नै आफूले जित्नुपर्ने र आफू जित्ने अवस्था बनेपछि मात्र चुनाव हुन दिने शासक दलका विद्यार्थी सङ्गठनको मनोवृत्ति नै त्यसको खास कारण थियो ।

स्ववियु निर्वाचन नियमित नहुँदा सबभन्दा ठूलो घाटा विद्यार्थी सङ्गठनलाई भएको देखिन्छ । कुनै बेला जनजीविका, शैक्षिक, सार्वभौमिकताको मुद्दामा खरो उत्रिने विद्यार्थी सङ्गठनहरूप्रति सर्वसाधारण जनता पनि आशावादी हुन्थे । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास विद्यार्थी आन्दोलनको चर्चाबिना पुरा हुँदैन । राजनीतिमा आउने लक्ष्य बोकेका विद्यार्थीको लागि स्ववियु नर्सरी मानिन्थ्यो । तर, स्ववियु निर्वाचन नहुँदा आज आफुलाई ठूला भनी धक्कु लगाउने विद्यार्थी सङ्गठन समेत चाउरिएका छन् । उनीहरूले न शैक्षिक मुद्दामा सुधार गर्ने तत्परता देखाउन सकेका छन् न त जनजीविकाका मुद्दामा ती सङ्गठनको सक्रियता हिजोको जस्तो देखिन्छ ।

चुनावको नतिजा आफ्नो पक्षमा नआउने देखिएपछि कुनै न कुनै बहाना बनाएर चुनाव रोक्ने प्रवृत्तिको शिकार स्ववियु चुनाव बन्दै आएको छ । कदाचित टेबुल टकबाट चुनाव रोक्ने प्रयास विफल भए हिंसा र विध्वंसमा समेत विद्यार्थी सङ्गठन उत्रिएका दृष्टान्त छन् । उनीहरूका यस्ता काममा शासक दलले साथ दिएका छन् । सत्ताको दुरुपयोग हुने गरेको छ । विद्यार्थी सङ्गठनका नाममा हुने विध्वसांत्मक घटना र सत्ता दुरुपयोगले विद्यार्थी आन्दोलन अझ बदनाम बन्यो । शासक दलसम्बद्ध विद्यार्थी सङ्गठनका गलत क्रियाकलापले समग्र विद्यार्थी राजनीति बदनाम हुँदा स्ववियु चुनावको उपादेयतामाथि नै प्रश्न उठ्न थाल्यो । त्यसबाहेक त्रिविभित्रै घुम्ने मेचमा बस्ने केही यस्ता प्रशासक र प्राध्यापक छन् जो स्ववियु सकेसम्म ओइलाएर जाओस् भन्ने चाहना राख्छन् । स्ववियुका सकारात्मकभन्दा नकारात्मक पक्षलाई बढी उजागर गरेर स्ववियु हुँदा विद्यार्थी सङ्गठनहरूले गर्ने ‘ट्याउँट्याउँ’ पन्छाउन खोज्ने प्राध्यापकदेखि कर्मचारीहरूको सोच पनि स्ववियु चुनाव नहुनुको एउटा कारण हो ।
स्ववियु निर्वाचन नियमित नहुँदा सबभन्दा ठूलो घाटा विद्यार्थी सङ्गठनलाई भएको देखिन्छ । कुनै बेला जनजीविका, शैक्षिक, सार्वभौमिकताको मुद्दामा खरो उत्रिने विद्यार्थी सङ्गठनहरूप्रति सर्वसाधारण जनता पनि आशावादी हुन्थे । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास विद्यार्थी आन्दोलनको चर्चाबिना पुरा हुँदैन । राजनीतिमा आउने लक्ष्य बोकेका विद्यार्थीको लागि स्ववियु नर्सरी मानिन्थ्यो । तर, स्ववियु निर्वाचन नहुँदा आज आफुलाई ठूला भनी धक्कु लगाउने विद्यार्थी सङ्गठन समेत चाउरिएका छन् । उनीहरूले न शैक्षिक मुद्दामा सुधार गर्ने तत्परता देखाउन सकेका छन् न त जनजीविकाका मुद्दामा ती सङ्गठनको सक्रियता हिजोको जस्तो देखिन्छ ।
त्रिविका क्याम्पसहरूमा सेमेस्टर र कोटा प्रणाली लागु भए विद्यार्थीहरूको सङ्ख्या घटेको छ । सम्बन्धन प्राप्त क्याम्पसभित्रै झन्डै निजी शैलीका शैक्षिक कार्यक्रमको अध्यापन हुन थाले पछि क्याम्पस क्याम्पसमा राजनीतिक तथा रचनात्मक गतिविधि न्यून भएको छ । विद्यार्थीहरूबिच विद्यार्थी सङ्गठनको उपस्थिति पातलो बन्दै छ । हिजो हाट बजारजस्ता लाग्ने क्याम्पस परिसर हिजोआज शून्य शून्य छन् । एकातिर विद्यार्थीको सङ्ख्यामा कमी अनि सँगै विद्यार्थी सङ्गठनको गतिविधि न्यून हुँदा विद्यार्थी सङ्गठनहरूले तेज गुमाउँदै गएका छन् । वैकल्पिक राजनीतिको नाममा नेपाली राजनीतिमा देखापरेका नयाँ प्रवृत्तिको प्रभाव क्याम्पसका विद्यार्थीहरूमा परेको मात्र छैन, बरु उनीहरू नै त्यो धारमा सक्रिय छन् । त्यसले पहिलेदेखि क्याम्पसमा राजनीतिक गतिविधि गर्दै आएका विद्यार्थी सङ्गठनले विद्यार्थीबिच प्रभाव गुमाउँदै छन् । विद्यार्थी राजनीतिको हिजो र आजको परिस्थितिमा ठूलो अन्तर देखिँदै छ ।
क्याम्पस क्याम्पसमा राजनीतिक विचारधारा र मुद्दामा बहस शून्यप्राय छ । क्याम्पसका मैदानमा विभिन्न विचारधाराका विद्यार्थीबिच राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक घटना र मुद्दामाथि हुने वैचारिक मन्थन हिजोआज दुर्लभ छ । क्याम्पसका विद्यार्थी सङ्गठनहरूले आफ्ना प्रचारको लागि स्मारिक र बुलेटिन प्रकाशन गर्ने काम बन्द प्रायः छ । रचनात्मक गतिविधिप्रति विद्यार्थी सङ्गठनको जाँगर छैन । अर्थात्, समग्र विद्यार्थी राजनीति र सङ्गठन शिथिल छ । यसले विद्यार्थी राजनीतिलाई आफ्नो नर्सरी मान्ने राजनीतिक दललाई मात्र होइन, स्वयम् विद्यार्थी सङ्गठनमै पनि भोलिका नेता र कार्यकर्ताको अभाव हुने देखिन्छ । कुनै पनि बहाना वा कारणले स्ववियु चुनाव हुन नदिँदाको घाटा विद्यार्थी सङ्गठनहरूलाई नै भइरहेको अनुभूति विद्यार्थी नेतृत्वले गरेका हुन् भने अब चैत ५ गते हुने स्ववियु चुनावलाई कुनै कारणले रोक्नु आफ्नो खुट्टामा बञ्चरो हान्नु हुनेछ ।
स्ववियु निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठनहरूले विचार गर्नुपर्ने महत्वपूर्ण कुरा भने अबका गतिविधि हिजोकै शैलीका गतिविधि गरेर आजका पुस्ताको मन जित्न सकिन्न । शासक दलसम्बद्ध विद्यार्थी सङ्गठनको बदनामीको कारण विद्यार्थी सङ्गठनको प्राणवायु बनेको स्ववियुको औचित्यमाथि पटकपटक प्रश्न उठेको मात्र होइन, झन्डै अन्तिम श्वास फेर्ने अवस्था पुगेको अनुभवबाट उनीहरूले सिक्न जरुरी छ । स्ववियु व्यापकरूपमा विद्यार्थीबिच जाने वैधानिक माध्यम हो । यदि स्ववियु चुनाव जित्नको निम्ति विद्यार्थी सङ्गठनले गर्ने अनेक हर्कतले त्यो संस्थाकै प्राण हरण गर्छ भने तब विद्यार्थी सङ्गठनले चुनाव जित्नको लागि मरिहत्ते गर्नुको औचित्य के ? स्ववियु चुनाव जित्न पनि शासक दलले सङ्घीय र प्रदेश निर्वाचनमा प्रतिस्पर्धा गर्दा जस्तै करोडौँ करोड पैसा खर्च गर्छ (जो बिल्कुल गलत अभ्यास हो), स्ववियुमा निर्वाचित विद्यार्थी नेताहरूले क्याम्पसका ठेक्कापट्टा, पसल कबलको भाडा, विद्यार्थीसँग उठाएको रकममा हिनामिना, क्याम्पसका कर्मचारी भर्नामा लेनदेन गर्छ भने स्ववियु फेरि पनि बदनाम हुनेछ । रचनात्मक राजनीतिको मुहान बन्नुपर्ने स्ववियु विकृत राजनीतिको जन्मथलोका रूपमा बदनाम हुनेछ । यसको मार भने विद्यार्थी सङ्गठनलाई नै पर्नेछ । विद्यार्थी सङ्गठनहरूलाई समयान्तरमा आफ्नो अस्तित्व रक्षा गर्न धौधौ पर्दै जानेछ । अर्थात, अब विद्यार्थी सङ्गठनहरूले विद्यार्थी राजनीतिका विकृति फाल्नेतर्फ विचार गर्न जरुरी छ । स्ववियु चुनावमा होमिनुअघि विद्यार्थी सङ्गठनहरूले आगामी दिनमा स्ववियुलाई फेरि पनि भ्रष्टाचारको अखडा र विकृत राजनीतिको जन्मथलो नबनाउने तथा विद्यार्थी राजनीतिका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्न जरुरी छ । कसैको मोलाहिजाको लागि नभई अब विद्यार्थी सङ्गठनको आफ्नो अस्तित्व रक्षाकै लागि पनि यस्तो प्रतिबद्धताको खाँचो छ ।
युवा विद्यार्थीहरू राजनीतिलाई घृणा गर्छन् र राजनीति बुझ्दैनन् भन्ने आमबुझाइ गत वैशाख र मङ्सिरमा सम्पन्न क्रमशः स्थानीय र सङ्घीय चुनावमा युवाहरूको मतले निम्त्याएको परिवर्तनबाट होइन भनी प्रस्ट पारेको छ । युवाहरू राजनीतिकरूपमा जानकार छन् । राजनीतिक घटनाक्रमलाई हेर्न, बुझ्न र विश्लेषण गर्न उनीहरू सक्षम छन् । अनि समयलाई अभिव्यक्त गर्ने उनीहरूका आफ्नै शैली पनि छ । त्यसकारण आफै सर्वज्ञाता भएर उनीहरूको क्षमतालाई न्यूनाङ्कन गर्ने छुट अब कसैलाई छैन । उनीहरूका कुरा सुन्ने र देखेका सपनालाई सम्बोधन गर्न सक्ने व्यक्ति नै उनीहरूको नेतृत्व हुनसक्छ । विद्यार्थीका स्वतन्त्र विचारलाई प्रगतिशील आकार दिने जिम्मेवारी विद्यार्थी सङ्गठनको हो । त्यसको निम्ति विद्यार्थी नेतृत्वले आफू विद्यार्थीको भावना बुझ्न र त्यसलाई प्रगतिशीलताको बाटोमा डो¥याउन सक्षम भएको विश्वास दिलाउनुपर्छ । विद्यार्थी राजनीतिलाई पाखुरे बल र मुढेबलको विकृतिबाट उम्काएर वैचारिक प्रतिस्पर्धाको डबली बनाउनुपर्छ । आज देश र विश्वले भोगिरहेका समस्या र चुनौतीबारे युवा बहसको बौद्धिक थलो हुनुपर्छ–विद्यार्थी सङ्गठन । न्यायपूर्ण सङ्घर्षको निम्ति झर्रो बनेर विद्रोहको मसाल बाल्ने अभियन्ताहरूको एकता नै विद्यार्थी सङ्गठनको परिभाषा हुनुपर्छ । विडम्बना ¤ आज विद्यार्थी सङ्गठनका मुद्दा अन्तर्राष्ट्रिय गैससहरूले अपहरण गरिरहेका छन् । अनि, विद्यार्थी सङ्गठनहरू तिनै अगैससका पछि लागेर आफ्ना मुद्दाको पाले बसिरहेका छन् ।
विद्यार्थी राजनीतिमा सुधार गर्ने दायित्व राजनीतिक दलको पनि हो । अधिकांश विद्यार्थी सङ्गठनहरू राजनीतिक दलका जनवर्गीय सङ्गठन हुन् । अर्थात् विद्यार्थी सङ्गठनका आजका नेता नै समयान्तरमा राजनीतिक दलका नेता र कार्यकर्ता हुन् । तसर्थ, आज विद्यार्थी सङ्गठन कस्तो बनाउने प्रश्न भोलि राजनीतिक दल कस्तो बनाउने भन्ने प्रश्नसँग जोडिन्छ । राजनीतिक दलले विद्यार्थी सङ्गठनलाई आफ्नो भविष्यमात्र होइन, समग्र देश र समाजको भविष्यका रूपमा नियालेर रचनात्मक र बौद्धिक गतिविधितिर डो¥याएर भोलिको समाज पनि उस्तै सुन्दर हुनेछ । तर, झिनो र तत्कालिक स्वार्थको लागि विद्यार्थी सङ्गठनलाई उद्दण्ड र सुण्ड मुसुण्डहरूको थलो बनाउने हो भने भोलिको राजनीति उस्तैको हातमा पर्नेछ ।
आज विद्यार्थी सङ्गठन र राजनीतिले झेलिरहेको गतिरोध तोड्न भने कुनै हलचलको खाँचो छ । चैत ५ गतेको लागि तय भएको स्ववियु चुनाव त्यस्तै हलचल हुनसक्छ । हलचलले धेरै ठूलो परिवर्तन ल्याउने गर्दैन, बरु समयान्तरमा परिवर्तनको लागि मार्गप्रशस्त गर्न मद्दत गरेको हुन्छ । यो साल भएका दुई निर्वाचनमा जसरी शासक दलले आफ्नो मौजा गुमाउने परिस्थितिको सामना गर्नुप¥यो, आगामी स्ववियु निर्वाचन पनि आफुलाई ठूला र मूलधार भनी दाबी गर्ने शासक दलसम्बद्ध विद्यार्थी सङ्गठनको मौजा गुम्ने चुनाव हुनसक्छ । तिनले आफूलाई हिजोजस्तै सङ्कीर्ण, घमण्ड, हैकमवादी र भ्रष्ट पाराले अघि बढ्न खोजे चुनावमा तिनले नचिताएको परिणाम भोग्नुपर्ने हुनसक्छ ।

नीरज लवजू

Leave a Reply

Your email address will not be published. Required fields are marked *