निकट भविष्यमा कस्तो होला संसार ?
- बैशाख १३, २०८१
दादुरा एक सङ्क्रामक रोग हो । जुन भाइरसको कारणले गर्दा हुन्छ । यो भाइरस पारा–म्याक्सो समूहअन्तर्गत पर्दछ । यो रोग कुनै पनि उमेरको मानिसलाई हुन सक्ने भए पनि पाँच वर्षमुनिका बालबालिकामा बढी देखिन्छ । निकै सङ्क्रामक हुनाले छिट्टै महामारीको रूप लिन सक्छ ।
दादुरा सर्ने तरिका
दादुरा सामान्यतया प्रत्यक्ष सम्पर्क र हावामार्फत सर्दछ । भाइरसले श्वासप्रश्वास नलीमा सङ्क्रमण गर्छ र शरीरभरि फैलिन्छ । यो भाइरस मानिसमा मात्र सर्छ । हालसम्म अन्य जीवमा देखिएको छैन ।
दादुराका लक्षणहरू
दादुराको पहिलो लक्षण भनेको उच्च ज्वरो हो । जुन भाइरसको सम्पर्कमा आएको १० देखि १२ दिनपछि सुरु हुन्छ र ४ देखि ७ दिनसम्म रहन्छ ।
ज्वरोसँगै बिरामीको नाकबाट पानी बग्ने, खोकी लाग्ने र आँखा रातो हुने गर्छ । यस रोगमा देखापर्ने मुख्य लक्षणका आधारमा थ्रि सी डिजिज (कफ, कोर्जा र कन्जस्टीटिभ) पनि भनिन्छ । बिरामीसँग सम्पर्कमा आएको १४ दिनपछि शरीरमा बिमिराहरू देखिन्छ । पहिलो चरणमा गालाभित्र सेतो दाग देखिन्छ । त्यसपछि कानको पछाडि हुँदै अनुहार, घाँटी गर्दै हात, खुट्टा र शरीरभरि फैलिन्छ ।
जटिलताहरू
गम्भीर जटिलताहरू पाँच वर्षभन्दा कम उमेरका बालबालिका वा ३० वर्षमाथिका व्यक्तिहरूमा देखिन्छ । अन्धोपन, इन्सेफलाइटिस, पखाला, कानको सङ्क्रमण गम्भीर श्वासप्रश्वासको सङ्क्रमण दादुराले निम्त्याउने जटिलताहरूमा पर्दछन् ।
दादुरा रोगको उपचार, नियन्त्रण तथा रोकथामका उपायहरू
दादुरा भाइरसको कारणबाट हुने रोग भएकोले यसको विशेष उपचार छैन । यो अवस्थामा बिरामीमा देखा परेको चिह्न लक्षणका आधारमा उपचार गरिन्छ । ज्वरोका लागि सिटामोल, पोषिलो खाने कुरा खुवाउने, रोग पत्ता लागेको पहिलो र दोस्रो दिन गरी दुई मात्रा भिटामिन ए क्याप्सुल खुवाउनुपर्दछ । एक जना बिरामीले १२ देखि १८ जना बालबालिकालाई सार्न सक्छ । त्यसैले बिरामीलाई अनिवार्यरूपमा अन्य बालबालिकासँगको सम्पर्कमा आउन नदिन आइसोलेसनमा राख्नुपर्दछ । बिरामीले मास्क प्रयोग गर्ने, हात धुने, व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्दछ । बच्चाको उमेर ९ महिना र १५ महिनाको उमेरमा एक/एक मात्रा गरी दुई मात्रा दादुरा विरुद्धको खोप दिनु नै दादुराबाट बच्ने एकमात्र प्रभावकारी उपाय हो ।
नियमित खोप लगाउँदा दादुरा खोप लगाउन छुट भएका बालबालिकाहरूमा समेत पाँच वर्षको उमेरभित्र जुनसुकै समयमा आएमा पनि एक महिनाको फरकमा दुई मात्रा खोप दिई पूर्ण खोप सेवा प्रदान गरिन्छ ।
दादुराको खोप एक मात्राको प्रभावकारिता ८५ प्रतिशत र दोस्रो मात्रा दिएमा रोगको रोकथाम गर्ने प्रभावकारिता दर ९५ देखि ९७ प्रतिशत हुने विभिन्न अनुसन्धानहरूले प्रमाणित गरेका छन् । दादुरा, रुवेला र जन्ममाज रुवेला सिन्ड्रोमबाट सुरक्षित हुन दादुरा रुवेला खोप दिइन्छ । यो जीवित कमजोर भाइरसबाट बनाइएको हुन्छ ।
यो खोप ०.५ एमएल छाला र मासुको बिचमा दिइन्छ । कोभिड–१९ विरुद्धको खोप लिएको १४ दिनभित्र र यो खोप लिएको १४ दिनपछि सम्म दादुरा–रुबेला विरुद्धको खोप दिइँदैन ।
दादुरा रुवेला खोप बच्चा जन्मेको ९ महिना र १५ महिनामा गरी दुई पटक दिनुपर्छ । यो खोप लगाएका करिब १० लाख बालबालिकामध्ये एक जनामा प्रतिक्रिया हुन सक्छ ।
दादुरा–रुबेलाविरुद्धको खोप दिन नहुने अवस्था
पहिले दादुरा–रुबेलाविरुद्धको खोप लिएको बेला खोपको कारणले कडा प्रकारको प्रतिक्रिया भएको, अहिले दादुरा भएको बालबालिकामा, अन्य कुनै शिकिस्त बिरामी परेको अवस्थामा र एड्सका बिरामीमा यो खोप दिन मिल्दैन । एच.आई.भी. मात्र भएको अवस्थामा यो खोप दिन सकिन्छ ।
दादुरा महामारी
दादुरा महामारी हुनका लागि कुनै निश्चित भौगोलिक क्षेत्र अथवा समुदायमा चार हप्ताभित्रमा पाँच जना वा सोभन्दा धेरै दादुरा रुवेलाको बिरामी देखा परेको हुनुपर्दछ । जसलाई हामी दादुरा महामारी भन्छौँ। यसका लागि शङ्कास्पद पाँच जना बिरामीको रगतको सिरम लिई कम्तीमा दुई जनाको सिरम जाँच पोजेटिभ भएमा दादुरा महामारी भनिन्छ ।
दादुरा–रुबेला प्रकोप नियन्त्रण र व्यवस्थापनका लागि दादुरा महामारीपछिको प्रतिकार्य खोप कार्यक्रम
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले दादुरा–रुबेला महामारी फैलिएको अवस्थामा सो रोगको प्रकोप फैलिन नदिन प्रकोप फैलिएको जिल्ला र वरिपरिका जिल्लाहरूमा प्रकोप फैलिन नदिन र नियन्त्रण गर्नको लागि राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत दादुरा–रुबेला प्रकोप नियन्त्रण र व्यवस्थापनका लागि आउटब्रेक रेस्पोन्स इम्युनाइजेनस (ओआरआई) कार्यक्रम सञ्चालन निर्देशिका २०७७ तयार गरेको छ । सो निर्देशिकाअनुसार दादुरा रोगको महामारी देखिएको जिल्ला वा भौगोलिक क्षेत्र र त्यहाँबाट मानिस आवतजावत गर्नेसँगै जोडिएको जिल्ला वा बस्तीहरूमा समेत रोग फैलिन नदिन महामारीपछिको प्रतिकार्य खोप अभियान (ओआरआई) सञ्चालन गरिन्छ । सामान्यतया यो विशेष थप खोप अभियान सञ्चालन गर्दा लक्षित समूह निर्धारण गर्नुपर्दछ । जसमा यदि महामारीको समयमा बिरामीहरू ९ महिनामाथिको देखिएमा उमेर समूह ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई सो अभियानमार्फत दादुरा–रुबेलाविरुद्धको खोप थप एक मात्रा दिइन्छ । यदि महामारीको समयमा ९ महिनामुनिका बालबालिकाहरूमा समेत दादुराको प्रकोप देखिएको भएमा उमेर समूह ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई सो अभियानमार्फत दादुरा–रुबेला वरुद्धको खोपको थप एक मात्रा दिइन्छ ।
बाँकेमा फैलिएको दादुरा महामारी
हाल बाँकेमा दादुरा महामारीको रूपमा फैलिएको छ । अहिलेसम्म ५ स्थानीय तहहरू पालिकाहरूमा (नेपालगञ्ज, कोहलपुर, डुडुवा, नरैनापुर, खजुरा) दादुराका बिरामीहरू फेला परेका छन् । यी पाँच स्थानीय तहहरूमा २९२ जनामा दादुरा निदान भएको छ । जसमध्ये ५१ जना उपचाररत छन् । २४० जना निको भएका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।
पाँच स्थानीय तहको दादुरा रुवेला खोप लगाउनुपर्ने ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाको लक्षित जनसङ्ख्या १ लाख १५ हजार ६०० जनामध्ये रहेकोमा ८८ हजार १३१ जनाले लगाइसकेका छन् । दादुरा निवारणका लागि दादुरा–रुबेला खोपको दोस्रो मात्राको लक्ष्यअनुसारको प्रगति ९५ प्रतिशतभन्दा बढी हुनुपर्ने भएकोले खोप सेवा निरन्तर प्रदान भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार कल्याण महाशाखा, विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ, युनिसेफले बाँके जिल्ला र यसको सिमाना जोडिएका र हाल दादुराका बिरामी देखिएका बर्दिया, कैलाली, सुर्खेत र दाङ जिल्ला गरी पाँच जिल्लामा महामारीपछिको प्रतिकार्य खोप अभियान सञ्चालनको तयारी गरिरहेको छ ।
समग्रमा सरकारले सन २०२३ को अन्त्य सम्ममा दादुरा रोग निवारण गर्ने लक्ष लिएकोमा सन २०२३ को सुरुवातसँगै दादुराको प्रकोप बाँकेलगायत नजिकका पाँच जिल्लामा देखा परिसकेकोले अब रोगको समयमै नियन्त्रणका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयको संयन्त्र, सबै जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरू, विकास साझेदार निकायहरू र समुदायको परिचालनबाट रोग समयमै नियन्त्रणको प्रयास भएकोले रोगको नियन्त्रणको अवस्थामा पुगेको आँकलन गर्न सकिन्छ । यस अभियानमा हामी सबैको हातेमालोले रोग निवारणको बाटो पनि तोकिएको समयमा सम्भावनाको आशा गर्न सकिन्छ ।
(भेरी अस्पतालकी नर्सिङ निरीक्षक श्रेष्ठ हाल चितवन मेडिकल कलेजमा एमएन अध्ययनरत छिन् ।)
Leave a Reply