“धेरै पटकको जेल जीवनको कारण व्यक्तिगत चिन्ताभन्दा पनि हाम्रो समय खेर नजाओस् भन्ने चिन्ता मनमा रहिरहन्थ्यो”
- श्रावण ३, २०८३
‘चम्किलो रातो तारा’ चिनियाँ लेखक लि शिन–तियनले लेख्नुभएको छोटो उपन्यास हो । यो उपन्यासमा चिनियाँ क्रान्तिको समयमा लालसेनामा भर्ती भएका एक क्रान्तिकारी योद्धाका छोरा फान चन शानले बाल्यकालदेखि परिपक्व योद्धा हुने बेलासम्म खेप्नुपरेको वा भोग्नुपरेको कठिनाइ र सङ्घर्षहरूको कथा छ ।
फान चन शान च्याङ्सी प्रान्तको ल्युशी गाउँका एक निम्न वर्गीय किसानका छोरा हुन् । उनलाई प्रेमपूर्वक तुङ च भनेर बोलाइन्छ । त्यसबेला चीनमा कम्युनिस्ट पार्टीको नेतृत्वमा लामो अभियान चलिरहेको थियो । चारैतिर क्रान्ति चलिरहेको हुन्छ । क्रान्तिको बारेमा तुङ चका बुबाले सँगै घर भएका एक ‘ऊ’ नाम गरेका व्यक्तिबाट थाहा पाउँछन् । तुङ च ‘ऊ’ लाई ‘दाजु ऊ’ भनी सम्बोधन गथ्र्यो । तुङ चका बुबाले किसान र मजदुरहरूका लागि सञ्चालन गरेको रात्रीकालीन कक्षाबाट माक्र्सवादी विचार र कम्युनिस्ट सिद्धान्तबारे सिक्छन् । तुङ चका बुबा गाउँका किसानहरूलाई कम्युनिस्ट सिद्धान्त र क्रान्तिको विषयमा प्रचार गर्दै गाउँमा लालरक्षकको सङ्गठन बनाउनतर्फ लाग्छन् ।
ल्युशी गाउँमा एकजना हु हान–सान नाम गरेको सामन्ती जमिनदार हुन्छ । ऊसँग सयौँ रोपनी जमिन हुन्छ । उसले किसानहरूलाई आफ्नो मुट्ठीमा राखेको हुन्छ । गाउँका किसानहरूले वर्षभरि खेतमा काम गरेर पनि बाली भित्र्याउने बेला सबै बाली जमिनदारकहाँ बन्धक राख्नुपर्ने हुन्छ । किसानहरूले वर्षभरि खेतमा काम गरेर पनि आफ्नो परिवारको पेट पाल्न सकिरहेका हुँदैनन् । जमिनदारको घरमा अन्नको थुप्रो हुन्छ । जमिनदारको परिवारले जीवनभरि खाएर पनि नसकिने अन्नको थुप्रो लागेको हुन्छ ।
त्यसबेला चीनको सरकारी कोमिन्ताङ सेनालाई श्वेत रक्षक भनिन्छ । निरङ्कुश जमिनदार हु हान–सान र श्वेत रक्षक मिलेर गाउँका जनतालाई आतङ्कित पार्छन् र दुःख दिइरहन्छन् । लाल रक्षकको समूह बनाइसकेपछि तुङ चका बुबाको नेतृत्वमा एक दिन जमिनदार हु हान–सानको घरमा छापा मारी उसले कब्जा गरेको जमिन गाउँका गरिब जनतालाई बराबर बाँडिदिन्छन् । जमिनदारलाई कागजको टोपी लगाई गाउँभरि घुमाइन्छ र उसलाई बन्दी बनाएर राखिन्छ । यसरी गाउँमा जनवादी सरकार आउँछ । गाउँमा जनवादी सरकार आएकोमा गाउँका जनता खुसी हुन्छन् ।
अब गाउँमा लेनिन प्राइमरी स्कूल खोलिन्छ र गाउँलेलाई माक्र्सवादी र कम्युनिस्ट सिद्धान्तको बारेमा सिकाइन्छ । यसबाट तुङ चले क्रान्ति भनेको हु हान–सानजस्ता सामन्ती जमिनदारहरूले कब्जा गरेको जमिन सबै गरिब र किसानहरूलाई बाँड्नु हो भन्ने बुझ्छ । उसले सामन्ती र पुँजीपतिवर्गको सत्ता पल्टाउनु नै क्रान्ति हो भन्ने बुझ्छ । क्रान्तिले मजदुर र कामदार वर्गको हित गर्छ भन्ने बुझ्छ । आफू पनि ठूलो भएपछि आफ्नो बुवाजस्तै सामन्ती हु हान–सानजस्ता जमिनदार, पुँजीपतिवर्गको विरुद्ध र मजदुर किसान जनताको पक्षमा काम गर्ने अठोट गर्छ । एक दिन हु हान–सान बन्दी बनाएर राखिएको ठाउँबाट भाग्न सफल हुन्छ । तर, नजिकै फङकाङ भन्ने गाउँमा श्वेत रक्षकले आक्रमण गरेकोले उनीहरूलाई रोक्नका लागि लाल रक्षकले ल्युशीबाट हिँड्नुपर्ने हुन्छ । लडाइँ सकिएको केही समयपछि तुङ चका बुबा मुख्य सैन्य दलमा सामेल भएर जापानी साम्राज्यवादी सेनाविरुद्ध लड्न उत्तरतर्फ जान्छन् ।
तुङ चकी आमा पार्टी सदस्य बनेर काम गर्न थाल्छिन् । लाल सेना उत्तरतर्फ गएको केही महिनामै श्वेत रक्षकको कमान्डर भएर जमिनदार हु हान–सान गाउँमा छिर्छ । हु हान–सान र श्वेत रक्षक गाउँ फर्किएदेखि गाउँको स्थिति बदलिएको हुन्छ । अब गाउँमा जनवादी सरकार पनि रहन्न । फेरि श्वेत रक्षक र हु हान–सानले गाउँमा आतङ्क मच्चाउन थाले । गाउँलेहरूले फेरि कठिन परिस्थितिको सामना गर्नुपर्छ । उनीहरूलाई श्वेत रक्षक र जमिनदारले दुःख दिन्छन् । त्यसबेला गाउँलेले लालसेना र जनवादी सरकारलाई खुबै सम्झिरहन्छन् । तुङ चले बुबाले उत्तरतर्फ मोर्चामा जाँदै गर्दा रातो तारालाई हेर्दै आफ्नो बुबा र लाल रक्षकलाई सम्झिरहन्छ ।
एक दिन राति तुङ चकी आमा गाउँमा श्वेत रक्षक र हु हान–सानविरुद्ध जनसमुदायलाई सङ्गठित गर्न गाउँमा गएको समयमा दुष्ट हु हान–सानले भेटेर रुखमा बाँधी जिउँदै जलाइदिन्छ । त्यसपछि तुङ चलाई छापामार दलले सँगै लिएर हिँड्छ । केही समय ऊ ‘सुङ’ नाम गरेका काकासँग बस्छ । तु ङ ‘सुङ’ काकासँगै ६ वर्षसम्म बस्छ । अब ऊ १३ वर्षको भइसकेको हुन्छ । एक दिन दुष्ट हु हान–सान तुङ चलाई खोज्दै तुङ च अहिले बसिरहेको ‘सुङ’ काको घरसम्म आइपुग्छ । काका ‘सुङ’ ले तुङ चलाई साहु हु हान–सानबाट लुकाएर राख्नुहुन्छ । साहुले तुङ चलाई नभेटेपछि काका ‘सुङ’ लाई जापानी सैनिकको जिम्मा लगाएर जेलमा हुल्छ । अब तुङ चले जमिनदार हु हान–सानबाट बच्न पार्टीको सल्लाहबमोजिम सहरमा ‘शन’ नाम गरेको साहुकोमा काम गर्नुपर्ने हुन्छ । साहु ‘शन’ एकदमै नाफाखोर हुन्छ । उसले नाफा खानको लागि चामलमा ढुङ्गा मिसाएर चामलको तौल बढाउने र सहरमा चामलको अभाव भएको बेला चामलको दाम बढेपछि मात्र चामल बेच्ने भनी चामल किन्न आएका मान्छेलाई फर्काइदिने कुकर्म गरिरहेको हुन्छ ।
नचाहँदा नचाहँदै पनि हु हान–सानबाट बच्नको लागि तुङ चले त्यहाँ काम गरिरहेको हुन्छ । बाल्यकालदेखि अहिलेसम्म सामन्ती र पुँजीपतिवर्गले गरिब किसानमाथि गरेको शोषण र आतङ्क भोग्दै र त्यसको सामना गर्दै तुङ च यहाँसम्म आइपुगेको हुन्छ । उसले जमिनदार र पुँजीपतिवर्ग विश्वमा सबैभन्दा खतरनाक हुन्छन् र यिनीहरूको सत्ता नपल्टाएसम्म गरिब कामदार वर्गको खुन चुसिरहनेछन् भन्ने कुरा बुझिसकेको हुन्छ । तुङ च छिटोभन्दा छिटो लाल सेनामा भर्ती भई यिनीहरूविरुद्ध लड्न आतुर हुन्छ । ऊ जनसमुदायको सहयोगबाट श्वेत रक्षक, कोमिन्ताङ सेना, हु हान–सान र ऊजस्ता दुष्ट जमिनदारहरूको पञ्जाबाट आफ्नो ज्यान जोगाउँदै ५० लि. लामो बाटो हिँडेर याङसी नदी पार गरेर येनान आइपुग्छ ।
येनानमा कोमिन्ताङ सेना र जनमुक्ति सेनाबीच लडाइँ चलिरहेको हुन्छ । तुङ चले अब जनमुक्ति सेनामा सामेल भई कोमिन्ताङ सेनाविरुद्ध लड्दै दुष्ट हु हान–सानलाई जनअदालतमा उभ्याउँछ । उपन्यासको अन्त्यमा उसले कोमिन्ताङ सेना र सामन्ती जमिनदारविरुद्ध लड्न थाल्छ ।
‘चम्किलो रातो तारा’ उपन्यासले जीवनमा हिम्मत नहारी मजदुर र किसान जनताको पक्षमा काम गर्ने भावना राख्नुपर्छ भन्ने सन्देश दिन्छ । यसले हाम्रो समाजका शोषकवर्गको सक्कली अनुहार पनि देखाउँछ । यो उपन्यास प्रकाशित गर्ने प्रगति प्रकाशन र अनुवाद गर्ने सीताराम तामाङलाई धेरैधेरै धन्यवाद !
Leave a Reply