भर्खरै :

‘लक्ष्मीपूजा’को विकृत पाठ सच्याउनुपर्ने

– ज्ञानसागर
नेपाल सरकार शिक्षा मन्त्रालय, पाठ्यक्र विकास केन्द्र सानोठिमी, भक्तपुरद्वारा प्रकाशित कक्षा १० को नेपाली पाठ्यपुस्तकमा गोविन्दबहादुर मल्ल ‘गोठाले’ द्वारा लिखित कथा ‘लक्ष्मीपूजा’ सम्पादनमा गम्भीर त्रुटी भेटिएको छ । गोठालेको मूल कथामा रहेका धेरै अनुच्छेदहरू उक्त पाठ्यपुस्तकमा छुटेका छन् ।
पाठ्यपुस्तकमा रहेको २८ औं अनुच्छेद (पेज नं. १०४) र ८७ ओ अनुच्छेद (पेज नं. ११०) पछि केही कथांशहरू छुटेको देखिएको हो । पाठ्यपुस्तकमा २८ औं अनुच्छेदपछि मूल कथामा रहेका ६ वटा अनुच्छेद र ८७ औं अनुच्छेदपछि ४ वटा अनुच्छेद छुटेको देखिन्छ ।
उक्त छुटेको कुरा पाठ्यपुस्तकको पेज नं. १११ मा रहेको अभ्यास नं. ९ मा सोधिएको प्रश्न र पेज नं. ११२ मा सोधिएको १९ नं. को प्रश्नबाट थप प्रस्टिन्छ । ९ नं. को प्रश्नमा ८८ औं अनुच्छेदको सारांश गर्न र १९ नं. को प्रश्नमा ९१ औं अनुच्छेदमा प्रयोग भएका लेख्य चिह्नबारे लेख्न भनिएको छ, जबकि पाठ्यपुस्तकमा कथा ८७ औं अनुच्छेदमै टुङ्ग्याइएको छ ।
पाठ्यपुस्तकको ‘हाम्रो भनाइ’ अनुसार विषय वस्तु सम्पादन रजनी धिमाल र भाषा सम्पादन चिनाकुमारी निरौलाले गर्नुभएको हो । मूलतः गल्ती उहाँहरूबाट भएको देखिन्छ । पाठ्यपुस्तक तयार गर्न सम्बद्ध विभिन्न व्यक्तिहरूसँग गोष्ठी, अन्तरक्रिया र विभिन्न विद्यालयमा परीक्षण गरेको पनि बताइएको छ । यद्यपि गम्भीर त्रुटी सचिएको छैन ।
छुटेको अंश मूल कथामा हेरी अभ्यासमा सोधिएको प्रश्नको उत्तर खोज्दा पनि त्रुटी नै देखियो किनभने अनुच्छेद ८८ औं अनुच्छेदको सारांश केवल १२ शब्दको एक हरफमात्र छ जुन सारांशको अभ्यास गर्न गराउन उपयुक्त होइन । त्यस्तै मूल कथाको अन्तिम ९१ अनुच्छेदमा प्रयोग भएका लेख्य चिह्नहरू पहिचान गराउन खोजिएको छ, जबकि उक्त अनुच्छेदमा पूर्णविराम एउटा चिह्नबाहेक अरू कुनै चिह्न प्रयोग भएको छैन । अतः देशका लाखौं विद्यार्थीले पढ्ने उक्त पाठबारे पाठ्यक्रम विकास केन्द्रले बेलैमा सच्याउनुपर्ने देखिन्छ । अन्यथा अबोध विद्यार्थीहरूले विकृत पाठ पढ्नुपर्ने र पाठमा हुँदै नभएको अनुच्छेदको अभ्यास गर्नुपर्ने गलत स्थित रहनेछ । विकृत पाठ र अभ्यास ढिलै भए पनि सच्याए बुद्धिमानी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *